कोभिड नेपालः सुदूरपश्चिम प्रदेशमा गाउँबस्तीमा 'कोरोना भाइरस फैलिएको आशङ्का तर पर्याप्त परीक्षण हुन सकेन'

गौरीफन्टा
    • Author, उमिद बागचन्द
    • Role, धनगढी
  • Published

सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा कोरोनाभाइरस सङ्क्रमण तथ्याङ्कमा देखिनेभन्दा बढी हुन सक्ने तर पर्याप्त परीक्षण हुन नसकेकाले वास्तविक अवस्था थाहा हुन नसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीका अनुसार गाउँबस्तीमा कोरोनाभाइरस फैलिएको आशङ्का छ तर परीक्षणको दायरा नबढाएसम्म अवस्था कस्तो छ भन्न सकिँदैन।

उनी भन्छन्, "दश दिनअघिको तथ्याङ्कलाई हिजोआजसँग दाँज्दा सङ्क्रमित सङ्ख्या र मृत्यु सङ्ख्या घटेको देखिन्छ तर सुदूरपश्चिमका हरेक वडामा बाहिरबाट मानिस फर्केका छन्। तत्काल सर्भे गरेर तिनको परीक्षण नगर्ने हो भने सङ्क्रमण अझ तीव्र हुनसक्छ।"

कोभिड-१९ भएका मानिसहरू र तिनका परिवारसँगको खुला सम्पर्कका कारण सङ्क्रमण फैलिएको हुनसक्ने स्वास्थ्यकर्मी र स्थानीय अधिकारीहरूको आशङ्का छ।

तर वास्तविक अवस्था थाहा पाउन परीक्षणको दायरा विस्तार गर्न तथा नेपाल-भारत सीमानाकामा थप परीक्षण बढाउन स्वास्थ्यकर्मीले तीनै तहका सरकारसँग अनुरोध गरेका छन्।

के छ अहिलेको स्थिति

एक सातायताको तथ्याङ्कले सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या केही ओरालो लागेको देखाएको छ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य निर्देशनालयले बिहीवार साँझ जारीको गरेको विवरण अनुसार २४ घण्टाको अवधिमा पीसीआर र एन्टिजन विधिबाट झन्डै २,००० वटा मात्र परीक्षण गरिएको थियो। तीमध्ये ४८७ नमुनामा कोरोनाभाइरस पाइयो।

सो अवधिमा नौ जनाको कोभिडसँग सम्बन्धित कारणले मृत्यु भएको सरकारी तथ्याङ्क छ। निर्देशनालयका अनुसार बिहीवार अपराह्नसम्म प्रदेशभरि अहिलेसम्म झन्डै २,१९,००० वटा परीक्षण गरिएकोमा ३७,६४३ जनामा कोभिड पुष्टि भएको छ भने ४७७ जनाको मृत्यु भएको छ।

अहिले त्यहाँ ९४८ जना आइसोलेशनमा भएको प्रदेश सरकारको तथ्याङ्क छ।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

खोप र परीक्षणमा जोड

प्रदेश स्वास्थ्य निर्देशक डा. अवस्थीका अनुसार खोप लगाउने वातावरण बने मात्रै अवस्थामा सुधार आउन सक्छ।

भारतबाट दैनिक १,००० देखि १,५००० जनासम्म नेपाल भित्रिने गरेको गौरीफन्टा नाकामा सञ्चालित हेल्थ डेस्कका इन्चार्ज गणेशबहादुर साउद बताउँछन्।

तर सीमा नाकामा पर्याप्त परीक्षण हुन नसकिरहेको स्वीकार गर्दै उनले भने, "एकदिन पन्ध्र सय जना आए १३४ जनाको परीक्षण गरियो, ३६ जना पोजिटिभ देखिए।"

पोजिटिभ देखिएकाहरूलाई होम आइसोलेशनमा बस्नेगरी घर पठाएको तर कैयौँ त्यस्ता मानिस होम आइसोलेशनमा नबसेको भन्दै आफूलाई फोन आएको साउदले बताए।

अछामको कमलबजार नगरपालिकामा रहेको कोरोनाभाइरस परीक्षण प्रयोगशालाका प्रवक्ता टेकबहादुर बिष्ट अझै पनि खुला रूपमा नै मानिसहरू हिँडिरहेकाले सङ्क्रमण नियन्त्रण गर्न चुनौती थपिएको छ।

सुदूरपश्चिम क्षेत्रबाट रोजगारीका लागि धेरै सर्वसाधारण भारत जाने गर्छन्। भारत गएका केही मानिसहरू फर्किएका छन्।

साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले भने, "स्वाब दिने तर आइसोलेशनमा नबस्ने बजार र घर गाउँतिर हिँड्ने गरेको पाइएको छ। त्यसैले सङ्क्रमण फैलिएको हुन सक्छ।"

कुँवरले गाउँ बस्तीमा कोभिड फैलिएको आशङ्का भएकाले ठूलो सङ्ख्यामा परीक्षण गर्न र परिणाम नआउन्जेल आइसोलेशनमा बस्न आवश्यक भएको औँल्याए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड नेपाल: गुणस्तरहीन स्यानिटाइजर कसरी चिन्ने?