कोभिड नेपाल: आस्ट्राजेनेका खोप विकासमा संलग्न विज्ञहरूद्वारा नेपाललाई सहयोग गर्न अपील

आस्ट्राजेनेका खोपको अभावले कोभिड खोप अभियान नै प्रभावित भएको छ

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, आस्ट्राजेनेका खोपको अभावले कोभिड खोप अभियान नै प्रभावित भएको छ
Published

अक्सफर्ड-आस्ट्राजेनेका खोपको अभावका कारण कोभिडविरुद्धको खोप अभियान अन्योलमा परेका बेला नेपाललाई सहयोग गर्न उक्त खोपको विकासमा सामेल विज्ञ तथा वैज्ञानिकहरूले अपील गरेका छन्।

कोरोनाभाइरस महामारीको घातक दोस्रो लहर झेलिरहेको नेपालका निम्ति तत्काल आवश्यक सहयोग गर्न ब्रिटेनका विज्ञहरूले त्यहाँको सरकारलाई अपील गरेका हुन्।

बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँग भेटमा 'नेपाली जनताको लागि आस्ट्राजेनेका खोप उपलब्ध गराउन अनुरोध' गरेका छन्।

नेपालले खरिद गरेको १० लाख मात्रा खोप आपूर्ति गर्न बाँकी रहेको सीरम इन्स्टिट्यूटले भारतको अवस्थाका कारण खोप पठाउन नसक्ने बताएपछि नेपालको कोभिड खोप कार्यक्रम अवरुद्ध बनेको छ।

के भने ब्रिटिश विज्ञहरूले?

त्यसरी अपील गर्नेहरूमा अक्सफर्ड-आस्ट्राजेनेका खोप विकासमा संलग्न वैज्ञानिकहरू प्राध्यापक एन्ड्रू पोलर्ड, प्राध्यापक सेरा गिल्बर्ट तथा स्वास्थ्य अनुसन्धानकर्ता एवं ब्रिटिश सरकारलाई कोभिड-१९ बारे परामर्श दिने वैज्ञानिक सल्लाहकार समूहमा रहेका सर जेरेमी फरार समेत छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

उनीहरू सहित नेपालका निम्ति पूर्व ब्रिटिश राजदूतहरू, पर्वतारोहीहरू तथा अन्य अभियानकर्ताहरूले ब्रिटिश विदेशमन्त्री डोमिनिक राबलाई सम्बोधन गर्दै यूके सरकारलाई तत्काल अक्सिजन प्लान्ट तथा अन्य महत्त्वपूर्ण मेडिकल सामग्री हवाई माध्यमबाट पठाउन आग्रह गरेका छन्।

उनीहरूको अपीलमा तत्काल गरिने सहयोगले नेपालमा हजारौँ मानिसको जीवन जोगिन सक्ने उल्लेख गरिएको छ।

प्राध्यापक पोलर्डले केही दिन अगाडि ब्रिटेनमा सांसदहरूसँग कुरा गर्दै खोपको वितरणबारे चिन्ता प्रकट गरेका थिए।

"महामारीका बेला विश्वव्यापी खोप कार्यक्रमको समग्र उद्देश्य मानिसहरूलाई मर्नबाट रोक्नु हो," अक्सफर्ड-आस्ट्राजेनेका खोपको परीक्षणको नेतृत्व गरेको अक्सफर्ड भ्याक्सीन ग्रूपका निर्देशक प्राध्यापक पोलर्डले बताएका थिए।

"मैले नेपाल र बाङ्ग्लादेशमा काम गरेको छु। त्यहाँका सहकर्मीहरू अत्यन्त कहालीलाग्दो अवस्था सामना गरिरहेका छन्। उनीहरूको साथमा एनएचएस (राष्ट्रिय स्वास्थ्य सेवा प्रणाली) पनि छैन," उनले कोरोनाभाइरससम्बन्धी ब्रिटेनको सर्वदलीय संसदीय समूहलाई बताए।

गरिब देशहरूमा खोप रोकेर धनी देशहरूमा बालबालिकालाई खोप दिलाउनु गलत हुने उनले उल्लेख गरे।

नेपाल कोभिड परीक्षण

तस्बिर स्रोत, Reuters

नैतिक दायित्व

साथै उनले एउटा ट्वीट गर्दै आफूले पहिले काम गरेको पाटन अस्पतालका मित्र तथा सहकर्मीहरूसँग ऐक्यबद्धता जनाउँदै खोप बाँड्नु नैतिक दायित्व भएको अक्सफर्ड भ्याक्सीन ग्रुपको विश्वास रहेको उल्लेख गरेका छन्।

प्राध्यापक पोलर्ड तथा सर फरारजस्ता व्यक्तिहरूले वर्षौँदेखि नेपालसँग जोडिएर काम गरेको सङ्क्रामक रोगका अनुसन्धानकर्ता एवम् अक्सफर्ड विश्वविद्यालयको क्लिनिकल रिसर्च यूनिट नेपालका डा. बुद्ध बस्नेत सम्झन्छन्।

"हामीले मिलेर टाइफोइडको खोप विकास गरेका थियौँ। पोलर्ड र फरारको लामो सम्बन्ध छ हामीसँग, २० वर्षदेखि छ। प्राध्यापक पोलर्ड आफैँ बालरोग विशेषज्ञ हुन्," बस्नेतले भने।

उनले नै धनी देशमा अहिले बालबालिकालाई कोभिड खोप लगाउनु भन्दा त्यो गरिब देशहरूमा बाँड्नु राम्रो हुन्छ भन्नु ठूलो कुरा हो।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘हामीलाई चाहिने औषधि र उपकरण भयो भने हामी जसरी पनि महामारी पन्छाएर छाड्छौँ’

आस्ट्राजेनेका खोपको भर

अक्सफर्ड-आस्ट्राजेनेकाको खोप कोभिडविरुद्ध प्रभावकारी भएको पाइनेबित्तिकै नेपालजस्ता गरिब देशहरूमा आशा पलाएको थियो।

सहज ढुवानी र वितरण गर्न सकिने अनि विद्यमान खोपको प्रणालीबाटै बाँड्न सकिने भएकाले नेपालले पनि सुरुवाती चरणमा यसै खोपमा सम्पूर्ण ध्यान लगायो।

तर उक्त खोप बनाउने भारतीय सीरम इन्स्टिट्यूटले भारतमै कोभिडको विकराल अवस्था आउनासाथ अन्यत्र खोप दिन रोकिदिएपछि नेपालको खोप अभियान प्रभावित भएको छ।

कोभिड परीक्षण

तस्बिर स्रोत, Reuters

नेपालमा ६५ वर्षमाथिका लाखौँ मानिसहरूले उक्त खोपको दोस्रो मात्रा लगाउने समय घर्कँदो छ।

खोप विज्ञ समितिका संयोजक डा. श्यामराज उप्रेती भन्छन्, "स्टकमा भएको एक लाखभन्दा कम मात्राको आस्ट्राजेनेका खोप अब ७७ वटै जिल्लामा अग्रपङ्तिमा रहेका र दोस्रो डोज लगाउन छुटेकाहरूलाई लगाइने छ। बाँकी अन्य मात्रा नआउँदा अन्योल छ।"

सो खोप मूलतः यूके, भारत तथा दक्षिण कोरियामा बन्ने गरेको छ।

"दक्षिण कोरियामा बनेका खोप पश्चिम प्रशान्त क्षेत्रका देशका निम्ति जस्तो देखिन्छ। हाम्रो धेरै भर भारतमै थियो," उप्रेतीले भने।

सीरम इन्स्टिट्यूटले यो वर्षको अन्त्यसम्मै उसले अन्यत्र पठाउन नसक्ने बेहोराको विज्ञप्ति जारी गरेको छ। अब नेपालजस्ता देशले विकल्प सोच्नुपर्ने विज्ञहरू बताउँछन्।

कोभिडका कारण मृत्यु भएका व्यक्तिको शव

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, नेपालमा कोभिडका कारण ५,००० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ

बुधवार नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ब्रिटेनको विदेश मन्त्रालयका दक्षिण एशिया हेर्ने राज्यमन्त्री तारिक अहमदसँग कोभिडकै सन्दर्भमा कुराकानी गरेका थिए।

कुराकानीपश्चात् परराष्ट्रमन्त्रालयले जारी गरेको विज्ञप्तिमा यतिखेर नेपालका निम्ति कोभिडविरुद्धको खोपमा सहयोग मूल्यवान् हुने बताइएको उल्लेख छ।

लर्ड अहमदले स्वास्थ्य क्षेत्रमा ब्रिटिश सरकारको निरन्तर सहयोग रहने बताएको पनि उल्लेख छ।