कोरोना भाइरस नेपाल: थप २,४२८ जनामा कोभिड पुष्टि, पशुपतिनाथ मन्दिर पनि बन्द

तस्बिर स्रोत, RSS
नेपालमा विगत २४ घण्टामा थप २,४२८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
त्यस अवधिमा देशभरि पीसीआर विधिबाट परीक्षण गर्दा २,३६५ जना र एन्टिजन विधिबाट ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो।
सो अवधिमा देशभरिका प्रयोगशालाबाट १०,००१ नमुनाको पीसीआर र ४४७ जनाको एन्टिजन परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका मन्त्रालयले जारी गरेको विवरणमा जनाइएको छ।
काठमाण्डू उपत्यकाभित्र भक्तपुरमा ८१, ललितपुरमा १०६ र काठमाण्डूमा ९८७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

अहिले देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या १२,६९० रहेको सरकारले जनाएको छ।
अहिले देशभरि कोभिड भएका १७० बिरामी आईसीयूमा रहेका र तीमध्ये ५९ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार बिहीवार अपराह्णसम्म थप तीन जनाको कोभिडका कारण मृत्यु भएको विवरण प्राप्त भएको छ।
अहिलेसम्म नेपालमा कोभिडका कारण मृत्यु भएको पुष्टि हुनेको सङ्ख्या ३,११७ पुगेको छ।
गत वर्ष महामारी सुरु भएदेखि कोरोनाभाइरस पुष्टि भएका बिरामीमा मृत्युदर १.०७ प्रतिशत भएको सरकारी तथ्याङ्कले देखाउँछ।
पशुपतिनाथ मन्दिर बन्द
कोरोनाभाइरस महामारी फैलँदै गएपछि हिन्दुहरूका आराध्यदेव पशुपतिनाथ मन्दिरमा नित्य पूजाबाहेक अन्य गतिविधि बन्द गरिने भएको छ।
उक्त व्यवस्था शुक्रवारदेखि लागु हुने पशुपति क्षेत्र विकास कोषले वक्तव्यमार्फत जानकारी दिएको छ।
पशुपति क्षेत्रमै रहेको गुह्येश्वरी मन्दिरमा पनि शुक्रवारदेखि नै नित्य पूजा बाहेकका गतिविधिमा रोक लगाइएको उक्त वक्तव्यमा उल्लेख छ।
कोषका सदस्य सचिव डा. प्रदीप ढकालले कोरोनाभाइरस सङ्क्रमण फैलिरहेकाले नेपाल सरकारले जारी गरेको पछिल्लो आदेश अनुसार मन्दिरमा नित्य पूजाबाहेकका कार्य रोक्ने निर्णय गरिएको जानकारी दिए।




















