कोरोना भाइरस युरोप: इटलीमा सङ्क्रमण चुलिँदा पसल र विद्यालय बन्द

रोममा बाहिर हिँडिरहेका मानिसहरू फोटो: १२ मार्च

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, काम, स्वास्थ्य सम्बन्धी सन्दर्भ र अति आवश्यक कुरामा बाहेक नागरिकहरू घर बाहिर निस्कन पाउने छैनन्
Published

इटलीभर सोमवार पसल, रेस्टुराँ र विद्यालयहरू बन्द रहने घोषणा गर्दै प्रधानमन्त्री मारियो ड्रागिले कोरोनाभाइरस सङ्क्रमणको 'नयाँ लहर' आउन सक्ने भन्दै सचेत गराएका छन्।

इस्टरका बेला अर्थात् आगामी ३-५ एप्रिलमा पूर्ण रूपमा मुलुक बन्द गरिने घोषणा गरिएको छ।

एक वर्ष अघि राष्ट्रिय लकडाउन गरेको इटलीले फैलिँदो सङ्क्रमण रोक्न फेरि सङ्घर्ष गरिरहेको छ।

इटली यूकेपछिको युरोपमा सबभन्दा धेरै मृत्युदर भएको मुलुक हो।

युरोपियन युनियनका अन्य मुलुकमा जस्तै इटलीमा खोप अभियानमा ढिलाइ भइरहेको छ।

खोप अभाव पूर्ति गर्न भन्दै गत हप्ता रोमस्थित सरकारले २ लाख ५० हजार अक्सफर्ड-आस्ट्राजेनेका खोप अस्ट्रेलिया निर्यात गर्नमा रोक लगाएको थियो।

बुल्गेरिया, डेनमार्क र नर्वेले भने अक्सफर्ड-आस्ट्राजेनेका खोपले रगत जमाउने त्रास उत्पन्न भएपछि उक्त खोप प्रयोग रोकेका छन्।

शुक्रवार विश्व स्वास्थ्य सङ्गठनले रगत जम्ने कुरा सत्य भएको कुनै सङ्केत नमिलेको भन्दै खोप प्रयोग रोक्न नहुने बताएको थियो।

यूरोपमा भएका अन्य घटनाक्रम

  • पोल्यान्डमा शुक्रवार झन्डै १९ हजार नयाँ सङ्क्रमण पुष्टि भएको छ यो गत नोभेम्बर यताकै धेरै सङ्ख्या हो
  • जर्मनीमा स्कूले विद्यार्थीमा सङ्क्रमण तीव्र गतिमा वृद्धि भएको पाइएको छ र नयाँ भेरियन्टका कारण त्यसो भएको भनिएको छ।
  • फ्रान्समा आइसीयूमा ४ हजार भन्दा बढी बिरामी भर्ना भएका छन्। यो सङ्ख्या तीन महिना यताको ठूलो सङ्ख्या हो। सरकारले थप क्षेत्रीय लकडाउन गर्ने कुरा अस्वीकार गरेको छ।
  • स्लोभाकिया र चेक रिपब्लिकले इयूले अनुमति नदिएका खोप किनेको भन्दै समस्यामा परेका छन्

इटलीमा नयाँ नियम के छन्?

सोमवारदेशि विद्यालय, पसल र रेस्टुराँहरू इटलीको आधा भन्दा बढी क्षेत्रमा बन्द रहनेछन्। सबभन्दा बढी जनघनत्व भएका रोम र मिलानमा पनि लकडाउन गरिएको छ।

मानिसहरूलाई काम, स्वास्थ्य र अति आवश्यक काममा बाहेक घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ।

प्रधानमन्त्रीको कार्यालयले नयाँ प्रतिबन्ध इस्टरसम्म कायम रहने बताएका छन्। इस्टर सप्ताहान्तमा सम्पूर्ण मुलुकलाई उच्च सतर्कतायुक्त 'रेड जोन' बनाइनेछ।

रोममा स्यान्डविच बार बन्द गर्दै गरेका पसले

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, पसल र रेस्टुराँ मालिकहरूले नयाँ आर्थिक समस्याको सामना गर्नुपर्ने देखिएको छ

ड्रागिले भनेका छन्, "प्रतिबन्धले तपाईँका बालबच्चाको शिक्षा, अर्थतन्त्र र तपाईँको मानसिक स्वास्थ्यमा असर पार्छ भन्ने मलाई थाहा छ।"

"तर परिस्थिति बिग्रन नदिन योभन्दा पनि कडा कदम चाल्नुपर्ने हुनसक्छ।"

इटलीमा गत ६ हप्तादेखि प्रति दिन २५ हजारभन्दा बढी सङ्क्रमण पुष्टि भइरहेको छ।

त्यहाँका अस्पतालहरूमा बिरामीको चाप बढ्दै गएको बताइएको छ। सार्डिनिया टापुमा मात्र सङ्क्रमण दर न्यून छ।

गत वर्ष कोरोनाभाइरस सङ्क्रमणको प्रकोप सुरु भए यता इटलीमा ३२ लाख सङ्क्रमण पुष्टि भइसकेको छ।