नेकपाको प्रचण्ड-नेपाल स्थायी कमिटी: ओली समूहका नेतालाई आफूहरूतिर आउन आह्वान

प्रचण्ड-‌ओली

तस्बिर स्रोत, RSS

Published

नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल स्थायी कमिटीको केहीबेरअघि सम्पन्न बैठकले प्रतिनिधिसभा पुनर्स्थापित गर्ने सर्वोच्च अदालतको निर्णय 'ऐतिहासिक' ठहर गरेको छ।

काठमाण्डूको पेरिसडाँडामा सम्पन्न बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, "सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुनर्स्थापित मात्रै गरेको छैन, संविधान र लोकतन्त्रको रक्षा पनि गरेको छ।"

"र, यसले देशलाई प्रतिगामी षड्यन्त्रको ठूलो चक्रव्यूहमा राजनीतिक सङ्कटको अँध्यारो सुरुङतिर लैजाने खतराबाट पनि देशलाई बचाउने योगदान पुर्‍याएको छ।"

उनका अनुसार बैठकले प्रधानमन्त्री केपी ओली समूहमा रहेका नेताहरूलाई आफूहरूतिर आउन आह्वान पनि गरेको छ।

"पार्टीका जति कमरेडहरू भ्रममा परेर वा अन्य कारणले फुटवादी गुटमा र प्रतिगामी गुटमा लाग्नुभएको छ ती सबै साथीहरूलाई मूल पार्टीमा नै फर्केर आ-आफ्नो जिम्मेवारी लिन पनि हामीले आह्वान गर्ने निर्णय गरेका छौँ," श्रेष्ठले थपे।

असफल

त्यस्तै बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध तय भएका पार्टीका सबै कार्यक्रमहरू रद्द समेत गर्ने निर्णय गरेको छ।

आफूहरू गरेको आन्दोलनमा सहयोग गरेकोमा र सहभागिता जनाएकोमा सो समूहको बैठकले सम्बन्धित सबैमा आभार प्रकट गर्ने निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले बताए।

"प्रतिगामी कदमलाई तत्काल असफल पारिए पनि त्यस प्रकारका गतिविधिविरुद्ध सचेत भइरहनुपर्ने आवश्यकतामा पनि पार्टीले जोड दिएको छ," श्रेष्ठले थपे।

नयाँ सरकार गठनको विषयमा बैठकमा छलफल भए वा नभएको जिज्ञासामा प्रवक्ता श्रेष्ठले नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने आफूहरूले भनिसकेको उल्लेख गर्दै संसद्‌ अधिवेशनपछि आवश्यक कदम चालिने बताए।

"अदालतकै फैसलाअनुसार छिट्टै प्रतिनिधिसभाको बैठक बस्दैछ। प्रतिनिधिसभाको बैठकबाट संविधानअनुसार नै अरू प्रक्रिया अगाडि बढ्छ।"

नेकपाको प्रचण्ड-नेपाल समूहले आजै संसदीय दलको बैठक पनि बोलाएको छ।