श्रीलङ्काका कारागारमा भएका २६ नेपाली महिला, दूतावास भन्छ, 'तत्काल छुट्ने सम्भावना छैन'

तस्बिर स्रोत, Richard Sowersby
- Author, उमाकान्त खनाल
- Role, बीबीसी न्यूज नेपाली, झापा
- Published
विगत १० महिनादेखि श्रीलङ्काका कारागारमा रहेका २६ जना नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलङ्कास्थित नेपाली दूतावासले जनाएको छ।
विभिन्न मुलुक जाने क्रममा ट्रान्जिटका रूपमा श्रीलङ्काको बाटो प्रयोग गरेका ती महिलालाई श्रीलङ्का प्रहरीले पक्राउ गरेको नेपाली दूतावासका तृतीय सचिव बालकृष्ण भण्डारीले बीबीसीलाई बताए।
ती महिलालाई विभिन्न खाडी मुलुक लैजानका लागि एजेन्टको रूपमा काम गर्ने श्रीलङ्काली नागरिकलाई त्यहाँको प्रहरीले अदालतमा मुद्दा दायर गरेपछि प्रमाणका लागि नेपाली महिलालाई त्यहाँ राखिएको भण्डारीले बताए।
उनले भने, "हामीले श्रीलङ्का सरकारसँग समन्वय गरिरहेका छौँ। अदालतले रिहा गर्ने आदेश नगरिन्जेल उनीहरूलाई छुटाउने सम्भावना न्यून छ।"
कसरी पुगे श्रीलङ्का?
नेपालका विभिन्न क्षेत्रका महिलाहरूलाई खाडी मुलुकसम्म पुर्याउनका लागि छिमेकी मुलुक भारतका पूर्वोत्तर राज्यका नाकाहरूको प्रयोग बढ्दै गएको छ।
अवैध बाटो हुँदै खाडी मुलुकसम्म जानका लागि अहिले भारतका पूर्वोत्तर राज्यहरू मिजोरम तथा मणिपुरबाट सोझै म्यान्मार पुगिने र त्यहाँबाट विभिन्न खाडी मुलुकसम्म पुग्न सहज भएकाले उक्त 'रूट'को प्रयोग अहिले बढ्दो क्रममा रहेको बताइएको छ।
भारतको दिल्ली विमानस्थलमा खाडी मुलुक जानका लागि नेपाली महिलालाई विभिन्न कागजपत्र खोज्न थालिएपछि भारतको मुम्बई तथा चेन्नई हुँदै विभिन्न खाडी मुलुक जाने क्रम बढेको माइती नेपालका पदाधिकारीहरू बताउँछन्।
दिल्लीबाट खाडी मुलुक जान असहज भएपछि दक्षिण एशियाली मुलुकहरूमा जान सहज भएकाले श्रीलङ्का हुँदै नेपाली महिलालाई खाडी मुलुक पठाउने क्रम बढेको पाइएको माइती नेपालका निर्देशक विश्वराम खड्का बताउँछन्।

तस्बिर स्रोत, Richard Sowersby
बन्दाबन्दीका बेला पनि नेपाली महिलाको उद्धार
गत असार ३० गते मात्र नेपालका २१ महिलालाई दिल्लीस्थित नेपाली दूतावासको पहलमा भारतीय राज्य मणिपुरबाट नेपाल ल्याइएको थियो।
केही समय अघि दुई पटक गरेर श्रीलङ्काबाट १० जना नेपाली महिलालाई उद्धार गरेर नेपाल पठाइएको श्रीलङ्कास्थित नेपाली दूतावासले जनाएको छ।
भारतका उत्तरपूर्वी राज्यहरू हुँदै म्यान्मारदेखि खाडी मुलुकसम्म जान मानव तस्करहरूले सोही बाटो विगतदेखि रोज्दै आएका छन्। केही वर्षदेखि श्रीलङ्का ट्रान्जिटको रूपमा विकसित हुँदै गरेको माइती नेपालले जनाएको छ।
सन् २०१९ को मे महिनामा भारतको पूर्वोत्तर राज्य मिजोरमबाट उद्धार गरेर २३ जना महिलालाई नेपाल ल्याइएको थियो।
मिजोरम प्रहरीले पक्राउ गरी उनीहरूलाई नेपाल सरकारको जिम्मा लगाएको थियो। त्यसको करिब अढाई महिनाअघि पनि भारतकै मणिपुर राज्यबाट १४७ महिला तथा ४२ पुरुषलाई उद्धार गरी नेपाल ल्याइएको थियो।

भारत र श्रीलङ्काबाट ५२ महिलाको उद्धार
चालु आर्थिक बर्षमा भारत र श्रीलङ्काबाट उद्धार गरेर नेपाल ल्याइएका महिलाको सङ्ख्या ५२ रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता टेकराज निरौलाका अनुसार वैदेशिक रोजगारी जाँदा भारत र श्रीलङ्कामा नेपाली महिलाहरू विभिन्न प्रकारका दुःख पाएपछि उनीहरूलाई उद्धार गरेर नेपाल ल्याइएको हो।
निरौलाले भने, "हामीले जम्मा ६५५ जना महिलालाई उद्धार गरेर नेपाल ल्याएका हौँ। ती ५२ जनाबाहेक नेपालका सीमावर्ती क्षेत्रबाट देशबाहिर जान लाग्दा उद्धार गरिएको हो।"
श्रीलङ्कामा रहेका २६ जना महिलाको अदालती प्रक्रिया सकिएलगत्तै सरकारले उनीहरूलाई नेपाल ल्याउने उनले जानकारी दिए।
नेपाल-भारतबीच खुला सीमा रहेका कारण जुनसुकै बेला नेपाली महिलालाई प्रलोभन देखाएर अवैध बाटो हुँदै विदेश लैजाने सम्भावना हुने भएकाले हरेक परिवारका सदस्य सजग हुनुपर्ने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए।
उनले भने, "बाहिर जानै नदिने भन्ने कुरा पनि आउँदैन। हिँडडुल गर्न पाउने हरेक नागरिकको अधिकार हो। तर मलाई कहाँ लगिँदैछ, के प्रयोजनमा जाँदैछु भनेर व्यक्ति स्वयं जिम्मेवार हुनुपर्छ।"
सीमाक्षेत्रमा सुरक्षा सजगता अपनाइराखेको तर सबभन्दा पहिला व्यक्ति स्वयं जिम्मेवार हुनुपर्ने उनले बताए।




















