मङ्गल ग्रह: नासाको पर्सिभरेन्स रोभर अवतरण हुन तीन हप्ता बाँकी

Perseverance rover

तस्बिर स्रोत, NASA / JPL-Caltech

Published

अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभेरन्स रोभर मङ्गल ग्रहमा अवतरण हुन तीन हप्ता मात्र बाँकी छ।

नासाले मङ्गल ग्रहमा वैज्ञानिक अनुसन्धानका लागि पर्सिभरेन्स पठाएको हो।

अहिले उक्त रोबट र मङ्गल ग्रहबीच जम्म ४५ लाख किलोमिटर दूरी छ तर त्यो द्रुत गतिमा कम हुँदै गइरहेको छ।

उक्त रोबट जेजेरो ज्वालामुखी पहाड नजिकै अवतरण गर्ने अपेक्षा छ।

आगामी १८ फ्रेब्रुअरीका दिन जीएमटी २१ बजे भन्दा केही अघि नासाको रोबट मङ्गल ग्रहमा अवतरण गर्ने अपेक्षा राखिएको छ।

अवतरण गर्ने बेलाको सात मिनेटलाई इन्जिनियरहरूले 'सात मिनेटको आतङ्क' भनेका छन्।

वैज्ञानिकहरूका अनुसार रोभरलाई २० हजार प्रति घण्टाको गतिबाट अवतरण गर्ने बेलामा हुनुपर्ने हिँडाइको जस्तो गतिमा घटाउनु असाध्यै चुनौतीपूर्ण छ।

"वैज्ञानिकहरूले अवतरण गर्न तय गरिएको स्थानमा धेरै कुरा प्राप्त हुनसक्ने आशाका साथ हेरिरहेका छन्। जस्तो कि यो जेजेरो ज्वालामुखी पहाड भित्र छिर्ने र बाहिरिने नदीको अवशेष जहाँ उनीहरूले विगतको जीवनको अवशेष पाउने सक्ने ठान्छन्। तर मैले जेजेरो हेर्दा त्यहाँ खतरा देख्छु," अवतरण गर्नका लागि रोबट तल झर्ने प्रक्रियालाई अवलोकन गरिरहेको समूहको नेतृत्व गरिरहेका इन्जिनियर एलन चेन भन्छन्।

"त्यहाँ खतरै खतरा छ। ६०-८० मीटर अग्लो पहाड छ, पश्चिम हेरे ज्वालामुखी पहाड छ, पूर्व हेरे ठूल्ठूला चट्टानहरू छन्," उनले बीबीसी न्यूजलाई भने।

भाग्यबस, पर्सिभेरन्ससँग यस अघि परीक्षण भइसकेका केही प्रविधिहरू छन् जसले यो रोबटलाई मङ्गल ग्रहको सतहको सुरक्षित ठाउँमा पुर्‍याउने अपेक्षा छ।

Jezero Crater

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, टिमानफाया नाम दिइएको स्थानमा रोबट अवस्थित हुने ठानिएको छ

आठ वर्ष अघि अवतरण गरिएको प्रविधि 'स्काइक्रेन'लाई परिमार्जित गरिएको छ।

कुनै कारमा बसेर झ्यालबाहिर कहाँ सुरक्षित छ भन्ने हेरे जस्तै पर्सिभेरन्सले पनि आफै कहाँ सुरक्षित स्थान छ भन्ने पत्ता लगाएर जहाँ सुरक्षित स्थानमा जान सकिन्छ त्यहीँ जान सकोस् भन्ने प्रविधि जडान गरिएको छ।

रोभर अडिएर अनुसन्धान थाल्ने त्यो स्थानलाई टिमानफाया नाम दिइएको छ।

उक्त नाम ज्वालामुखी चट्टानयुक्त स्पेनको न्याशनल पार्कस्थित स्थानबाट लिइएको हो।

यो रोबटको मुख्य लक्ष्य चाहिँ कुनैबेला जेजेरो क्षेत्रमा रहेको ठूलो तालको किनारा पत्ता लगाउन सहयोग गर्ने कार्बोनेट चट्टानहरू र अन्य अवशेष खोज्नु हुनेछ।

Stromatolites

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, यदि उचित वातवारण पाए जीवन व्युँतिन्छ कि भन्ने प्रश्नको जवाफ खोजिनेछ

"कार्बोनेट चट्टानहरू पृथ्वीमा असाध्यै धेरै छन् तर मङ्गलमा त्यो पाउन दुर्लभ छ। त्यस्तो किन भन्नेबारे हामीलाई केही थाहा छैन," नासाको पर्सेभरेन्स आयोजनाका एक वैज्ञानिक केन फार्ले भन्छन्।

उनले भने "ज्वालामुखीको छेउमा एउटा क्षेत्र छ जहाँ कार्बोनेट चट्टान हुनसक्छ। त्यसमा हाम्रो रुचि छ किनभने पृथ्वीमा कार्बोनेटलाई जैविक वस्तुले थिग्र्याउने गरेका छन्। त्यसैकारण कार्बोनेट फेला परेमा जीवाश्म पत्ता लाग्न सक्छ।"

वैज्ञानिकहरू जेजेरोस्थित चार अर्ब वर्ष पुराना चट्टानहरूको कुरा गरिरहेका छन्।

पर्सिभेरेन्सले केही कुरा पत्ता लगाएर पृथ्वीमा सूचना पठाउनेछ। जसको आधारमा भविष्यमा मङ्गलबाट पृथ्वीमा बस्तुहरू ल्याएर विस्तृत अध्ययन गर्ने बाटो खुल्न सक्छ।

पर्सिभरेन्सले खोजी गर्ने विषयले "यदि बसोबास गर्न सकिने वातावरण बनाउने हो भने त्यहाँ जीवन आउनेछ या जीवन शुरू हुन कुनै जादुमयी झिल्को नै आवश्यक हुन्छ?"

यी प्रश्नको जवाफ असाध्यै महत्त्वपूर्ण छन् किनभने अहिले हामीलाई थाहा छ ब्रह्माण्डमा पृथ्वीबाहेक अरबौँ ग्रहहरू छन्।