सिङ्गापुर: कृत्रिम गर्भधारणबाट जन्मिएको सिंहको बच्चा

सिम्बा नाम दिइएको यो डमरु तीन महिनाको भएको छ

तस्बिर स्रोत, Wildlife Reserves Singapore

तस्बिरको क्याप्शन, सिम्बा नाम दिइएको यो डमरु तीन महिनाको भएको छ
Published

सिङ्गापुरको चिडियाखानामा पहिलोपटक कृत्रिम गर्भधारणबाट सिंहको बच्चा जन्मिएपछि हर्ष बढाइँ गरिएको छ।

तर त्यो डमरु (सिम्बा)ले कहिल्यै उसको बाबु (मुफासा)लाई भेट्न पाउने छैन किनभने उक्त वृद्ध सिंहलाई गर्भादान प्रक्रियापछि ब्युँताइएन।

सिम्बा मुफासाको एक्लो छोरो हो। सँधै आक्रोशित रहने गरेको मुफाशाले कहिल्यै गर्भ रहने गरी सहवास गर्न सकेन।

त्यसैले चिडियाखानाले विरलै प्रयोग गरिने कृत्रिम प्रक्रियामार्फत् उसको वंश जोगाउने प्रयत्न गर्‍यो।

चिडियाखानाका एकजना प्रवक्ताका अनुसार कृत्रिम तरिकाबाट गर्भधारणका लागि उसको वीर्य 'इलेक्ट्रो इज्याकुलेशन' विधिबाट सङ्कलन गरिएको थियो।

त्यसपछि आफ्ना जङ्गली दाजुभाइभन्दा ६ देखि १० वर्ष बढि बाँचिसकेको र कमजोर बनेको बूढो २० वर्षे सिंहलाई इच्छामरण गराइएको थियो।

वंश संरक्षण

"बेहोस बनाउने औषधी सुँघाएर उसको वीर्य सङ्कलन गरिएको थियो जसको मुख्य उद्देश्य थियो मृत्युपछि उसको वंश संरक्षण।"

Cute lion cub

तस्बिर स्रोत, Reuters

साँच्चै सिम्बाले वंश जोगाउन सक्ने जस्तो देखिएको छ। तीन महिनामा उसको राम्रो शारीरिक विकास भएको छ।

डीजनी कथामा 'द लायन किङ'को लोकप्रिय सिंह पात्रको नाम दिइएको सिम्बा खासमा गत अक्टोबर महिनामै जन्मिएको थियो।

तर चिडियाखानाले अहिले मात्रै यो समाचार प्रकाशित गरेको छ।

उसकी आमा कायला बिरामी भएकाले सिम्बालाई बोतलबाट दूध खुवाइएको थियो। तर सिम्बाको आफ्नी आमासँग निकटको सम्बन्ध होस् भन्नेकुरा ध्यानमा राखिएको छ।

सिंगापुरस्थित द वाइल्डलाइफ हेल्थकेयर एन्ड रिसर्च सेन्टरले भनेको भनेको छ, "स्वस्थ र जिज्ञाशु सानो सिंह" बनोस् भनेर उसको हुर्काइमा विशेष ध्यान पुर्‍याइएको छ।

सिम्बा

तस्बिर स्रोत, Wildlife Reserves Singapore

तस्बिरको क्याप्शन, लोकप्रिय डीजनी फिल्म द लायन किङको पात्रको नाममा यो डमरुको नाम सिम्बा राखिएको छ

"उसले थोरै काँचो मासु र दूध खाने गरेको छ। र चिडियाखानाका कर्मचारीले बनाएको विभिन्न खेलौनासँग खेल्ने गरेको छ।"

चिडियाखानाका अनुसार मुफासाको अनुवंश अब सिम्बामा पुगेको छ। त्यसले अफ्रिकी सिंहको सङ्ख्या चिडियाखाना जस्ता संस्थामा संरक्षण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

सिंहको यो प्रजातिलाई प्रकृति संरक्षण सम्बन्धी संस्था आईयूसीएनले खतराको सूचिमा राखेको छ।