कोरोना भाइरस खोप: कोभिड-१९ को खोप लगाएका मानिसले पनि भाइरस 'सार्न सक्छन्'

खोप

तस्बिर स्रोत, Reuters

Published

कोभिड-१९ विरुद्ध खोप लगाएकाहरूले समेत अरूलाई कोरोनाभाइरस सार्न सक्ने हुँदा लकडाउनका नियमहरू पालना गर्न आवश्यक रहेको इङ्ग्ल्यान्डका एक वरिष्ठ स्वास्थ्य अधिकारीले चेतावनी दिएका।

आइतबार टेलिग्राफ पत्रिकामा लेख्दै डेप्यूटी चीफ मेडिकल अफिसर पनि रहेका प्राध्यापक जोनाथन भ्यान टामले वैज्ञानिकहरूलाई "अझैसम्म भाइरस प्रसारमा खोपको प्रभावबारे थाहा नभएको" मा जोड दिएका छन्।

भ्यान टामले खोपले "आशा" जगाएको तर सङ्क्रमणको दर चाँडै कम गरिनुपर्ने बताएका छन्। उनले भने, "कुनै पनि खोप शतप्रतिशत प्रभावकारी देखिएको छैन। त्यसैले सुरक्षा हुन्छ नै भन्ने छैन।"

उनका अनुसार खोप लगाएको दुईदेखि तीन हप्ता सम्ममा भाइरसबाट सङ्क्रमित हुन सक्ने सम्भावना रहन्छ।

वृद्ध मानिसहरूमा खोपको प्रभाव पूर्ण रूपमा विकसित होस् भनेर "कम्तीमा तीन हप्ताको" समय दिँदा "उत्तम हुने" उनी बताउँछन्।

"खोपको दुवै मात्रा प्राप्त गरिसकेको अवस्थामा समेत तपाईँले अरू कसैलाई कोभिड-१९ सार्न सक्नुहुन्छ र यसले भाइरस फैलिने चक्रलाई निरन्तरता दिनेछ," प्राध्यापक भ्यान टामले भने।

खोप

तस्बिर स्रोत, Reuters

यसै हप्ता वरिष्ठ चिकित्सकहरूले अधिकारीहरूलाई फाइजर-बायोएन्टेकले विकास गरेको खोपका दुई मात्रा दिनका लागि तोकिएको समय सीमा घटाउन आग्रह गरेका थिए।

यूकेमा धेरै मानिसहरूलाई खोपको पहिलो मात्रा दिनका लागि पहिलो मात्रा प्राप्त गरेको १२ हप्ता सम्मा दोस्रो मात्रा दिने गरी समय सीमा बढाइएको थियो।

यसअघि पहिलो र दोस्रो खोप प्राप्त गर्नका लागि तीन हप्ताको समय सीमा तोकिएको थियो।

तर ब्रिटिश मेडिकल असोसीएशनले उक्त नीतिको "औचित्य सिद्ध गर्न कठिन" रहेको बताउँदै खोप दिने समयको अन्तराल छ हप्तामा झारिनुपर्ने बताएको छ।

सङ्घका अध्यक्ष डा. चाँद नागपालले १२ हप्ताको अन्तरालमा मात्रा दिइनुले खोप कम प्रभावकारी बनाउन सक्ने "बढ्दो चिन्ता" रहेको बीबीसीलाई बताए।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

सरकारका अनुसार यूकेमा ५८ लाख भन्दा बढी सर्वसाधारणहरूले खोपको पहिलो मात्रा प्राप्त गरिसकेका छन्। एनएचएस इङ्गल्यान्डका अनुसार सोमवार बाट देशैभर नयाँ खोप केन्द्रहरू खुल्दै छन्।

शनिवार यूकेमा कोरोनाभाइरस पोजेटिभ देखिएको २८ दिन भित्र थप १,३४८ को मृत्यु भएको बताइएको छ भने थप ३३,५५२ सङ्क्रमित थपिएका छन्।

सरकारी तथ्याङ्कका अनुसार शुक्रवार सम्ममा यूकेमा ४,०७६ मानिसलाई भेन्टिलेटरमा राखिएको छ।

यो कोरोनाभाइरस महामारीको पहिलो चरण भन्दा उच्च हो। पहिलो चरणमा सङ्क्रमणको उच्च उच्च रहेको एप्रील १२ तारिखमा ३,३०१ मानिस भेन्टिलेटरमा राखिएका थिए।

खोप प्राप्त गर्नमै समस्या

युरोपमा माग बढिरहेका बेला खोप विकास गरिरहेका कम्पनीहरूले वितरणमा समस्या हुन सक्ने बताएसँगै युरोपेली सङ्घ निराश बनेका छन्।

यूकेको कम्पनी एस्ट्राजेनेकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने बताएको छ।

त्यस्तै युरोपका कैयौँ भागमा फाइजर-बायोएन्टेकले वाचा गरेअनुरूप आपूर्ति नगरेपछि कोभिडको खोप दिने काम सारिएको वा रोकिएको छ।

कैयौँ युरोपेली देशमा सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेका बेला अमेरिकी औषधि उत्पादक कम्पनीले अस्थायी रूपमा आपूर्ति घटाउँदा खोप वितरण प्रभावित भएको हो।

जर्मनीको सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य र इटलीका कैयौँ क्षेत्रमा खोपको पहिलो मात्रा दिने काम नै रोकिएको छ। मड्रिडमा स्वास्थ्यकर्मीलाई खोप दिने समेत बन्द गरिएको छ।

गत साता फाइजरले आउँदा केही साताका लागि खोपको आपूर्ति ढिलो हुने जनाएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, नयाँ कोरोनाभाइरसमाथि खोप प्रभावकारी हुन्छ त?