अमेरिका यात्रा प्रतिबन्धः डोनल्ड ट्रम्पले हटाए पनि जो बाइडनले जारी राख्ने

शिकागो विमानस्थल

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकाले भाइरससँग जुझ्न यात्रा प्रतिबन्ध लगाएको छ
Published

राष्ट्रपति डोनल्ड ट्रम्पले यूके, अधिकांश युरोपेली देश र ब्रजिलबाट हुने यात्रामा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरे पनि नयाँ राष्ट्रपतिको पदभार ग्रहण गर्न लागेका जो बाइडनकी प्रवक्ताले चाहिँ अमेरिकाले त्यसलाई कायम राख्ने बताएकी छन्।

सोमवार मात्र ह्वाइट हाउसले बाइडनले सत्ता सम्हालेको छ दिनपछि ज्यानुअरी २६ देखि ती देशबाट आउने मानिसहरूलाई अमेरिका प्रवेशमा लाग्दै आएको रोक हटाउने निर्णय गरेको थियो।

तर बाइडनकी प्रवक्ता जेन साकीले ट्वीट गर्दै अहिले यात्रा प्रतिबन्ध हटाउने बेला नभएको बताएकी छन्।

बुधवार बाइडनले राष्ट्रपतिको शपथ लिनेछन्।

कहिले लागेको थियो प्रतिबन्ध?

गत मार्च महिनामा अमेरिकाले युरोपबाट र मे महिनामा ब्रजिलबाट हुने यात्रामा प्रतिबन्ध लगाएको थियो।

ट्रम्पको आदेश जारी भएलगत्तै साकीले ट्वीटमा लेखेकी छन्, "हाम्रो चिकित्सा समूहको सल्लाहअनुसार हाम्रो प्रशासनले ज्यानुअरी २६ मा ती प्रतिबन्धहरूलाई हटाउनेछैन।"

"वास्तवमा कोभिड-१९ सँग थप सामना गर्नका लागि अन्तर्राष्ट्रिय यात्राहरूमा जनस्वास्थ्य मापदण्डहरू बलियो बनाउने हाम्रो योजना छ।"

उनले थप सङ्क्रामक भाइरसको प्रकार विश्वभरि देखा परिरहेकाले अहिले नै अन्तर्राष्ट्रिय यात्रामाथिका प्रतिबन्ध हटाउने बेला नभएको बताइन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, नयाँ कोरोनाभाइरसमाथि खोप प्रभावकारी हुन्छ त?

त्यसअघि ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा यूके, आयरल्यान्ड र युरोपको सेन्जेन क्षेत्रसहित ब्रजिलबाट हुने यात्रालाई ज्यानुअरी २६ बाट प्रतिबन्ध नलगाइने एउटा आदेशमा ट्रम्पले हस्ताक्षर गरेको जनाइएको थियो।

चीन र इरानबाट हुने यात्रामा भने प्रतिबन्ध कायम नै राखिएको उक्त आदेशमा उल्लेख गरिएको छ।

यूएस सेन्टर्स फर डिजीजेज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) ले ज्यानुअरी २६ पछि अमेरिका आउनेहरूले कोभिड-१९ परीक्षणमा भाइरस नदेखिएको वा निको भएको प्रमाण पेस गर्नुपर्ने आदेश जारी गरेको थियो।

त्यसपछि राष्ट्रपतिको आदेश जारी भएको हो।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'जो बाइडन पनि मजस्तै भकभक गर्छन्'