नेपाल-भारत सीमाः सुदूरपश्चिमको सीमावर्ती क्षेत्रमा पटकपटक विवाद

नरेश सुनार

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, भारतको दोधारा-चाँदनीसँग जोडिएको बयलबन्दा जङ्गलमा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका नरेश सुनारको महाकाली अस्पतालमा उपचार हुँदै
    • Author, उमीद बागचन्द
    • Role, बीबीसी न्यूज नेपाली
  • Published

पश्चिम नेपालको भारतसँग सीमा जोडिएका कैलाली‚ कञ्चनपुर र महाकालीको तटीय क्षेत्रमा सीमा मिचिएको भन्दै तथा तटबन्ध निर्माणका विषयलाई लिएर पटकपटक विवाद हुने गरेको छ।

चार वर्षअघि सीमा विवादमै गोविन्द गौतमले ज्यान गुमाउन परेको थियो भने सोमवार साँझ साढे ६ बजे भारतको दोधारा-चाँदनीसँग जोडिएको बयलबन्दा जङ्गलमा सुरक्षाकर्मीको गोली लागेर एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाह्रबोर वा भरुवा बन्दुकको छर्रा लागेर १८ वर्षका नरेश सुनार घाइते भएका हुन्।

वनवासाबाट सामान किनेर फर्किने क्रममा सुरक्षाकर्मीले चलाएको गोलीको छर्रा खुट्टामा लागेर घाइते भएका उनको महाकाली अस्पतालमा उपचार भइरहेको छ।

सरकारसँग गुनासो

स्थानीय बासिन्दा माधुरी पन्तले पटकपटक सीमा क्षेत्रमा हुने यस किसिमका घटना रोक्न सरकार जिम्मेवार नदेखिएको गुनासो गरिन्।

उनले भनिन्, "हरेक कुरा भारतबाट ल्याएर जीवन चलाउनुपर्छ‚ यसका लागि कति सामान ल्याउन पाइने र नपाइने प्रष्ट पार्ने काम सरकारको हो तर पहल नै भएन।"

घाइते भएका नरेश सुनारलाई अस्पतालमा लगिँदै

तस्बिर स्रोत, Sher bdr Singh

तस्बिरको क्याप्शन, घाइते भएका नरेश सुनारलाई अस्पतालमा लगिँदै

कञ्चनपुरका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले सीमाको संवेदनशीलता सबैले बुझ्नुपर्ने बताए।

उनले भने‚ "दुवै कुरा गलत भएको छ‚ रातिको बेला उनले पनि नजानु पर्ने‚ घटना पनि नहुनु पर्ने हो।"

दार्चुलामा पनि विवाद

उता दार्चुलाको गल्फाईमा भारतले नेपालसँग कुराकानी नगरी तटबन्ध निर्माण गरिरहेको विषयले चर्चा पाएको छ।

दार्चुलाको महाकाली नगरपालिकाका नगरप्रमुख हंसराज भट्टले त्यसलाई भारतीय पक्षको "बलमिच्याइँ" भनेका छन्।

उनका अनुसार जग्गा उता र लालपुर्जा यता भएको अवस्था रहेको जानकारी दिए।

अडिओ क्याप्शन सुरु हुँदैछ, बीबीसी बहस: कालापानी सीमा विवादको हल

कञ्चनपुरको दक्षिण भेगमा रहेको प्याराताल उपभोगको विषयलाई लिएर पनि पटकपटक विवाद हुँदै आएको छ।

दक्षिण भेगकै आनन्द बजार क्षेत्रमा चार वर्षअघि सीमा विवादका कारण आन्दोलनमा उत्रिएकाहरूमाथि भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा नेपाली युवा गोविन्द गौतमको ज्यान गएको थियो।

महाकाली नदीको तटीय सीमावर्ती क्षेत्रसँगै कैलाली र कञ्चनपुरको सीमा क्षेत्रमा देखिने गरेको विवाद सधैँका लागि समाधान गर्न तीनै तहका सरकारलाई प्रयास गर्न सीमावर्ती बस्तीका बासिन्दाले आग्रह गरेका छन्।