प्रधानमन्त्री ओलीद्वारा आठ मन्त्री र एक राज्यमन्त्री नियुक्त, मन्त्रिमण्डलमा जिम्मेवारी हेरफेर

प्रधानमन्त्री ओली

तस्बिर स्रोत, PM's Press Advisor

Published

यसै साता प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद्को पुनर्गठन गरेका छन्।

प्रधानमन्त्री ओलीले नियुक्त गरेका नयाँ मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यलय शितल निवासमा पद तथा गोपनियताको सपथ खुवाएकी छन्।

नवनियुक्त मन्त्रीहरूमा टोपबहादुर रायमाझीले उर्जा र जलश्रोत मन्त्रालयको जिम्मेवारी पाएका छन्।

त्यस्तै मणीचन्द्र थापाले खानेपानी मन्त्रालय, प्रभु साहले शहरी विकास मन्त्रालय, गौरीशंकर चौधरीले श्रम मन्त्रालय र दावा लामाले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्।

त्यसबाहेक गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, प्रेमबहादुर आले वन तथा भूसंरक्षण मन्त्री र जुलीकुमारी महतो महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त भएका छन्।उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारीमा विमला विश्वकर्मा छिन्।

मन्त्रीहरूको जिम्मेवारी हेरफेर

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार केही मन्त्रीहरूको जिम्मेवारी पनि हेरफेर गरिएको छ।

त्यसमा महिला तथा बालबालिका मन्त्री लीलानाथ श्रेष्ठले कानुन मन्त्रीको जिम्मेवारी पाएका छन्।

कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फेले भूमि व्यवस्था मन्त्री, स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पर्यटन मन्त्री र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएका छन्।

भूमि व्यवस्था मन्त्री पद्मा अर्याल कृषि मन्त्रीमा र शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ शिक्षा तथा विज्ञान प्रविधि मन्त्रीमा स्थानान्तरण गरिएका छन्।

प्रधानमन्त्री ओलीले नेतृत्व गरिरहेको नेकपाका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेर गर्ने जानकारी बिहिबार दिएका थिए।

यसै हप्ताको सुरुमा संसद विघटनको विरोधमा प्रचण्ड नेपाल समूहका सात जना मन्त्रीहरूले संयुक्त रूपमा राजीनामा दिएको घोषणा गरेका थिए।

अहिले प्रधानमन्त्रीले विगतमा पूर्व माओवादी पृष्ठभूमि रहेका र आफूलाई समर्थन गर्ने अनुहारहरूलाई मन्त्रिपरिषद्मा समावेश गरेका हुन्।