कोरोना भाइरस: टर्कीमा कोभिड-१९ का बिरामी राखेको अस्पतालमा भेन्टिलेटर पड्किँदा नौ जनाको मृत्यु

टर्की अस्पताल

तस्बिर स्रोत, Getty Images

Published

दक्षिणी टर्कीस्थित कोरोनाभाइरसका बिरामीहरूको उपचार भइरहेको एउटा अस्पतालमा अक्सिजन भेन्टिलेटर पड्किँदा नौ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

उक्त विस्फोटनले गाजियान्टेपस्थित सान्को विश्वविद्यालय अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको स्थानीय गभर्नरको कार्यालयले जनाएको छ।

अर्को अस्पतालमा सार्ने क्रममा कम्तीमा एकजना बिरामीको ज्यान गएको थियो।

टर्कीमा हालसम्म २० लाखभन्दा धेरै मानिसमा कोरोनाभाइरसको सङ्क्रमण फेला परिसकेको छ।

अनुसन्धान सुरु

कोभिड-१९ का कारण त्यहाँ १७,६१० जनाको ज्यान गइसकेको जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्याङ्कले देखाउँछ।

शनिवार सबेरै भएको उक्त घटनापश्चात् लागेको आगलागीमा अरू थप घाइते भएका छैनन्। आगो चाँडै नै निभाइएको थियो।

मारिनेहरूमा ५६ देखि ८५ वर्ष उमेरका बिरामीहरू रहेको र विस्फोटनको कारणबारे अनुसन्धान थालिएको अस्पतालले जनाएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, हर्ड इम्युनिटी

सोही वार्डमा उपचाररत अन्य बिरामीलाई नजिकैका अरू अस्पतालमा सारिएको गाजियान्टेपका गभर्नको कार्यालयले जानकारी दिएको छ।

टर्कीका राष्ट्रपतिका प्रवक्ता इब्राहिम कालीनले घाइतेहरूको "शीघ्र स्वास्थ्यलाभ"को कामना गर्दै ट्वीट गरेका छन्।

गत महिना रोमानियाको एउटा अस्पतालमा भएको आगलागीमा परी कोरोनाभाइरसका १० जना बिरामीको ज्यान गएको थियो।

त्यहाँ एउटा मेडिकल सामग्रीमा आगो लागेपछि त्यसका कारण अक्सिजन सिलिण्डरमा पनि आगो फैलिएको बताइएको थियो।

अक्टोबर महिनामा रुसको चेल्याबिन्स्क क्षेत्रमा एउटा अस्थाइ कोरोनाभाइरस अस्पतालमा 'अक्सिजन बुथ'मा आगो लागेपछि १५० जना बिरामीलाई उद्धार गरेर अन्यत्र लैजानु परेको रुसी अधिकारीहरूले बताएका थिए।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर