ट्विटर किलरः सामाजिक सञ्जालबाट चिनजान गरी नौ जनाको हत्या गर्ने व्यक्तिलाई जापानमा मृत्युदण्ड दिइने

ताकाहिरो शिराइशी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ताकाहिरो शिराइशी सन् २०१७ मा पक्राउ परेका थिए
Published

सामाजिक सञ्जाल ट्विटरमार्फत् सम्पर्क गरी नौ जनाको हत्या गरेर उनीहरूको टाउको राख्ने व्यक्तिलाई जापानमा मृत्युदण्डको सजाय सुनाइएको छ। सो चर्चित हत्याकाण्डले पूरै जापान स्तब्ध भएको थियो।

‘ट्विटर किलर’ को उपनाम दिइएका ताकाहिरो शिराइशीलाई शरीरका विभिन्न अङ्गसहित उनको निवासस्थानमा सन् २०१७ मा पक्राउ गरिएको थियो।

तीस वर्षीय ती व्यक्तिले आफूले ज्यान लिएका नौ जनालाई ट्विटरमार्फत् भेटेको र हत्या गरेपछि शरीरलाई टुक्राटुक्रा पारेको स्वीकार गरेका थिए। मारिनेमा लगभग सबै कम उमेरका महिला थिए।

ती शृङ्खलाबद्ध हत्याका कारण अनलाइनमा आत्महत्याका बारेमा कस्तो छलफल गरिन्छ भन्ने बहस जापानमा सुरु भएको थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार अदालतमा सर्वसाधारणका लागि १६ वटा मात्रै सीट छुट्याइएको भए पनि उक्त मुद्दाको फैसला सुन्न ४०० भन्दा बढी मानिस भेला भएका थिए।

विकसित देशमध्ये जापानले मृत्युदण्डलाई अझै निरन्तरता दिएको छ।

पीडितहरूसँग कसरी भेट गर्थे?

शिराइशीले ट्विटरको प्रयोग गरी आत्महत्याप्रति आकर्षित महिलाहरूलाई आफ्नो घरमा बोलाएका थिए र कतिपय अवस्थामा उनले उनीहरूसँग आफू पनि मर्ने दाबी गरेका थिए।

धारिलो हतियारले शरीर काटेर उनले आठ महिला र एक पुरुषको ज्यान लिएका थिए। सन् २०१७ को अगस्ट र अक्टोबरका बीचमा मारिएका ती व्यक्तिहरू १५ देखि २६ वर्षका रहेको बताइन्छ।

Members of the media gather in front of an apartment building where media reported nine bodies were found in Zama, Kanagawa Prefecture, Japan in this photo taken by Kyodo on October 31, 2017

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, Reporters gathered outside the suspect's home on Tuesday

शृङ्खलाबद्ध हत्याका जानकारीबारेको पहिलो विवरण उक्त वर्षको ह्यालवीन पर्वका बेला आएको थियो। प्रहरीले शिराइशी बस्ने टोक्यो नजिकैको फ्ल्याटबाट छिन्नभिन्न अङ्गहरू फेला पारेको थियो।

अनुसन्धानकर्ताका अनुसार त्यहाँ नौवटा टाउका, ठूलो सङ्ख्यामा पाखुरा र खुट्टाका हड्डीहरू तथा कुलर र बाकसहरूमा फेला परेका थिए।

उनले त्यस बेला आफूले छाला निकालेर फ्यालिदिएको र बाँकी शरीरका अङ्गहरूलाई बिरालोले फोहोर गर्ने ठाउँमा लुकाएर राखेको बताएका थिए।

कसरी चल्यो मुद्दा?

अभियोजकहरूले शिराइशीले टुक्राटुक्रा पारेर मानिसहरूको ज्यान लिएको स्वीकार गरेकाले उनलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग गरेका थिए।

तर शिराइशीका वकिलहरूले उनले पीडितहरूकै सहमतिमा हत्या गरेकाले कम सजाय दिइनुपर्ने बताएका थिए।

मृतकमध्ये तीन जना माध्यमिक विद्यालयका छात्र थिए। सबै भन्दा कम उमेरकी पीडित १५ वर्षीया किशोरी थिइन्। चार महिलाहरू २० वर्ष उमेर समूहका थिए भने मृतक पुरुषको उमेर २० वर्ष थियो।

ती पुरुषले आफ्नी प्रेमिका कहाँ छिन् भनेर शिराइशीलाई प्रश्न गरेपछि उनको हत्या गरिएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

पछि शिराइशीले आफ्नै प्रतिरक्षा टोलीको भनाइको खण्डन गर्दै आफूले उनीहरूको सहमतिबिनै हत्या गरेको बताएका थिए।

मङ्गलवार निर्णय सुनाएका न्यायाधीशले कुनै पनि पीडितले आफूलाई मार्न सहमति नजनाएको बताएका थिए।

ती न्यायाधीशले प्रतिवादी पूर्ण रूपमा दोषी रहेको बताएको द स्ट्रेट टाइम्स समाचारपत्रले जनाएको छ।

A blurred image shows the motion of busy commuters in downtown Tokyo, Japan
तस्बिरको क्याप्शन, Japan has a relatively high suicide rate

हत्याले कस्तो प्रभाव पार्‍यो?

एक २५ वर्षीया पीडितका पिताले शिराइशी मरे पनि आफूले उनलाई कहिल्यै पनि क्षमा नदिने बताएको जापानी प्रसारक एनएचकेले उल्लेख गरेको छ।

“अहिले पनि मेरी छोरीको उमेरका महिला देख्दा म मेरी छोरी ठानेर झुक्किन्छु। यो पीडा कहिल्यै हराउने छैन। मलाई मेरी छोरी फिर्ता देऊ,” उनले भनेका थिए।

उक्त हत्याकाण्डले जापानलाई स्तब्ध तुल्याएको थियो र त्यसले आत्महत्याबारे छलफल गरिने वेबसाइटबारे ताजा बहस निम्त्याएको थियो।

त्यो समयमा सरकारले आफूले नयाँ नियम जारी गर्न सक्ने बताएको थियो।

उक्त हत्यापछि ट्विटरले पनि आफ्नो नियममा परिवर्तन गर्दै प्रयोगकर्ताहरूले आत्महत्या वा स्वयंलाई क्षति पुर्‍याउने विषयलाई प्रोत्साहन गर्न नहुने उल्लेख गरेको छ।