ह्विस्की निर्माताहरूले महामारीलाई कसरी जित्दैछन्

ह्विस्की कास्क

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सांकेतिक तस्बिरः स्कटल्याण्डस्थित एक डिस्टिलरीमा ह्विस्की भण्डारण गरिएका 'कास्क'हरू
Published

कोरोनाभाइरस महामारीको मार परेको एउटा क्षेत्र भनेको मदिरा उत्पादन र विक्री वितरण हो।

महामारीपछि मदिरा विक्री हुने बार र पबहरू बन्द हुने बित्तिकै त्यसले ह्विस्की उद्योगलाई नै ठूलो धक्का दियो।

तर यो उद्योगले आफूलाई जोगाउन कस्तो परिवर्तन अँगाल्यो त? क्रिस बारान्यूको लेख।

कोरोनाभाइरस महामारीका कारण लागु गरिएका विभिन्न सुरक्षाका उपायहरूमध्ये रेस्त्राँ, बार, पबजस्ता मदिरा विक्री हुने स्थानहरू बन्द हुँदा र हवाईयात्रुहरू नहुँदा करमुक्त 'ड्युटि-फ्रि' पसलहरूबाट हुने मदिराको विक्री पनि स्वात्तै घट्न पुगेको छ।

स्कच ह्विस्की भनेर लोकप्रिय एक प्रकारको ह्विस्की उत्पादकहरूको सङ्गठन स्कच ह्विस्की अशोसिएशनका प्रवक्ता फ्रेजर ग्रीइभ भन्छन्, "स्कचको निर्यातमा ३०% ले कमी आएको छ।"

यो ठूलो आँकडा हो किनकि स्कटल्याण्डमा उत्पादन हुने ह्विस्कीले यूकेबाट हुने समग्र खाद्य र पेय पदार्थको निर्यातमध्ये पाँच भागको एक भाग ओगट्ने गर्छ।

र यूकेको डिस्टिलरीहरूको आम्दानीको ठूलो स्रोत समुद्रपारीको बजार नै रहेको ग्रीइभ बताउँछन्।

ह्विस्की बार

तस्बिर स्रोत, JONATHAN JOSEPHS

तस्बिरको क्याप्शन, सांकेतिक तस्बिरः लण्डनस्थित एक ह्विस्की बार।

दुर्लभ ह्विस्की

समस्याग्रस्त समयमा डिस्टिलरीहरूले आम्दानीको विभिन्न उपाय गरेका छन्। जस्तै कास्क भनिने आफूहरूकहाँ प्रचलनमा रहेका पुराना तर दुर्लभ ह्विस्की भण्डारण गर्ने काठका भाँडा र ह्विस्की उत्पादनमा प्रयोग हुने माल्टको लिलामी गरेर हजारौँ पाउण्ड आम्दानी गरिएको छ।

कतिले ह्विस्कीका साथै 'ह्याण्ड स्यानिटाइजर' पनि बनाएर तिनलाई अस्पाताल र बृद्ध हेरचाह केन्द्रहरूमा निःशुल्क विवतरण गरेका छन्।

कामदारहरूको व्यक्तिगत सुरक्षाका उपायहरू पालना गर्दै सञ्चालनमा रहेको सानो स्तरको तर प्रतिष्ठित एउटा ह्विस्की निर्माता टाम्धु पनि हो।

उक्त डिस्टिलरीका व्यवस्थापक स्यान्डी मक्इन्टाअर भन्छन् उनको कम्पनीले विभिन्न सुरक्षाका उपायहरूको योजना बनाएको छ।

जस्को अर्थ डिस्टिलरी सञ्चालनमा व्यवधान नहोस् भनेर कामदारको सुरक्षाकालागि आवश्यक पिपिइ लगायतका सुरक्षाका उपकरण र सामग्रीहरूको पर्याप्त भण्डारण गरिएको छ।

यसका साथै डिस्टिलरीहरूले मदिरा उपभोक्ताको बदलिँदो व्यवहारसँग पनि आफूलाई अनुकुलन गर्दै लगेका छन्।

उदाहरणका लागि बाकार्डी मदिराले बार, रेस्त्राँ र होटेलहरूमा आफ्नो विक्री घटेको अनुभव गर्यो तर खुद्रा पसलमा भने घरमै बसेर मदिरा सेवन गर्नेहरूले खरिद गर्दा त्यस्तो प्रकारले उक्त मदिराको विक्री बढेको देखियो।

बाकार्डीको यूकेस्थित व्यवसाय सञ्चालन व्यवस्थापक निआल मिचेल भन्छन् विशेषगरी अमेरिकामा उपभोक्तामाझ त्यस्तो प्रवृत्ति बढेको देखिएको छ।

अमेरिका सो मदिराको १.७५ लिटरको ठूलो सिसी विशेष लोकप्रिय देखिएको छ।"हाम्रो नयाँ आवश्यकता अनुसार त्यस्तो ठूलो आकारको सिसी बनाउन र किन्न हामीले सिसी उत्पादकसँग निकै नजिकबाट मिलेर काम गर्नु परेको थियो।"

'ह्याण्ड स्यानिटाइजर' पनि बनाउने बाकार्डिका डिस्टिलरीहरूले दुई हप्ताको समयभित्रै आपूर्तिकर्ताहरूबाट प्लास्टिकका बोतलहरू किन्न सफल भएका थिए।

विशेषतायुक्त ह्विस्की

अर्को उल्लेखनीय आम्दानीको स्रोत भनेको खास विशेषता भएका 'स्पेसिएलिस्ट ह्विस्की'को विक्री बन्न पुगेको छ।

ह्विस्कीसम्बन्धी परामर्शदाता र लेखक ब्लेएर बोमन दुर्लभ र विशेष संस्करणका ह्विस्की कास्कहरू किन्न धेरै पैसा खर्च गर्न तयार क्रेताहरूका निम्ति मध्यस्थताको काम पनि गर्छन्।

यस्ता विशेष ह्विस्कीहरूले 'आँखै रसाउने गरी' चर्को मूल्य प्राप्त गर्न सक्छन् जुन करोडौँ रूपैयाँका पनि हुन सक्ने उनी बताउँछन्।

उनका ग्राहकले त्यस्ता ह्विस्की कास्कहरूलाई शान र प्रतिष्ठाको वस्तुका रूपमा किनेर आफ्नो ह्विस्की संकलनमा राख्न चाहने उनी बताउँछन्। ह्विस्की खरीद गर्नु एउटा विशुद्ध आर्थिक लगानीको रूपमा पनि रहेको छ।

टाम्धुका स्यान्डी मक्इन्टाअर पनि एशियाली ग्राहकहरूले ह्विस्कीका कास्कहरु खरिद गर्न बढ्दो रूचि देखाइरहेको बताएका छन्।

र यस्बाट सिसीहरूमा रहेका ह्विस्कीको विक्रीमा आएको कमीबाट हुन गएको क्षति पूर्ति गर्न सहज भएको उनको भनाइ छ।

ह्विस्की

तस्बिर स्रोत, JONATHAN JOSEPHS

थोकमा हुने ह्विस्कीको विक्री पनि हालै 'दोहोरो अङ्क'ले बढेको उनले बताए जुन उच्च-मूल्यको ह्विस्कीको बजार हालको जस्तो असहज समयमा पनि टिकिरहेको संकेत हो।

बोमन भन्छन्, "लकडाउनका कारण सुरुमा ह्विस्की उद्योग शतप्रतिशत धरासायी हुने हो की भन्ने चिन्ता लागेको थियो।"

जसको अर्थ लगभग दश वर्षको समयमा ह्विस्की बजारमा परिपक्व भएको स्क्चको उल्लेख्य अभाव देखिन सक्ने अवस्था हुन्थ्यो।

यो वर्ष डिस्टिलरीहरूले केही साना अवरोध बाहेक उत्पादन कायम राख्न सक्षम भएका छन्।

टाम्धुले आफूहरूको उत्पादन यो वर्ष पहिलेको दाँजोमा दुई प्रतिशत जतिले मात्रै कम हुने व्यवस्थापक मक्इन्टाअरले बताएका छन्।