नेपाल संसद्ः हिउँदे अधिवेशन गर्दा कोरोनाभाइरस फैलिन नदिन यसरी गरिएको छ तयारी

संसद् भवन

तस्बिर स्रोत, RSS

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपालीका लागि
  • Published

आगामी महिना संसद्‌को हिउँदे अधिवेशन गर्नुपर्ने भएकाले कोरोनाभाइरस फैलिन नदिई बैठक गर्न आवश्यक तयारी भइरहेको संसद् सचिवालयले जनाएको छ।

संसद्को एउटा अधिवेशन समाप्त भएको छ महिना नपुग्दै अर्को अधिवेशन प्रारम्भ हुनुपर्ने संवैधानिक प्रावधान छ। त्यसैले यसपालि हिउँदे अधिवेशन पुस १७ भित्र सुरु भइसक्ने अधिकारीहरूले बताएका छन्।

अधिवेशन पुस लागेपछि आह्वान हुने अनुमान गरिएको छ। तर सरकारले अझै मिति तय गरिसकेको छैन।

गत वैशाखमा सुरु भएको संसद्को बजेट अधिवेशन असार १८ मा सकिएको थियो।

के भन्छ संविधान?

संविधानको धारा ९३ ले संसद्का दुईवटा अधिवेशनबीचको दूरी छ महिना बढी हुन नहुने व्यवस्था गरेको छ। सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ।

तर संसद् अधिवेशन सुरु गर्नैपर्ने बाध्यात्मक समयसीमा नजिक आइसक्दा समेत सरकारले संसदको हिउँदे अधिवेशनको मिति तय गर्न सकेको छैन।

गत साता प्रदेशसभाका सभामुख र उपसभामुखहरूसँग अनुभव आदानप्रदान गर्न आयोजित कार्यक्रममा कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संसद् अधिवेशन छिट्टै आह्वान हुने भन्दै आवश्यक तयारी पूरा गर्न संसद् सचिवालयलाई आग्रह गरेकी थिइन्।

कसरी हुँदैछ तयारी?

अधिवेशन सुरु हुनुअघि सबै सांसदको कोरोनाभाइरस परीक्षण गरिदिन स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको संसद् सचिवालयले जनाएको छ।

संसद् भवन

त्यसबाहेक संसद् भवनमा सांसद् र कर्मचारीको ज्वरो मापन गर्न विशेष उपकरण प्रयोग गरिन लागेको छ। उक्त उपकरण नेपालमै बनाइएको हो।

राम रिमाल र लक्ष्मण रिमालले बनाएको ज्वरो नाप्ने उक्त उपकरणको नाम "थर्मोग्राफिक क्यामरा" राखिएको छ। यसअघि 'राम लक्ष्मण इनाभेशन्स'ले बनाएको यस्तै उपकरण सिंहदरबारको एउटा प्रवेशद्वारमा जडान गरिएको थियो।

उक्त उपकरण उनीहरूले सरकारलाई उपहारमा दिएका थिए।

सिंहदरबारमा सर्वसाधारण र कर्मचारी प्रवेश गर्ने दक्षिणी ढोकामा एउटा उपकरण देखेपछि त्यसबारे खोजी गरिएको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए।

"बजारमा खोजी गर्ने क्रममा राम-लक्ष्मण दाजुभाइको कम्पनीले यो खालको संयन्त्र बनाएर प्रदर्शन गरिरहेको हामीले पायौँ," प्रवक्ता पाण्डेले भने।

संसद् सचिवालयले यो उपकरण पाँच लाख रुपैयाँभन्दा सस्तोमा खरिद गरेको जनाएको छ।

राम लक्ष्मण इनोभेशन्सका राम रिमालले आफूहरूले बनाएको उपकरण संसद्‌मा प्रयोग हुँदा खुसी लागेको बताए।

संसद् भवन नेपाल

"यसबाट हामी खुसी छौँ किनभने सरकारले त्यसलाई प्रयोग गर्नलाई अघि बढाउँदा हामीले बनाएको प्रविधिको नतिजा देखाउने मौका पनि पायौँ। समग्रमा सबै नेताज्यूहरूलाई नेपालमा बनेको एउटा प्रविधि यस्तो रहेछ भन्ने छाप परोस् भन्ने पनि हाम्रो लक्ष्य हो," उनले बीबीसी न्यूज नेपालीसँग भने।

ज्वरो नाप्ने उपकरणको परीक्षण संसद् सचिवालयले यसअघि नै प्रदेशसभाका सभामुख र उपसभामुखहरुसँग संसद् भवनमा भएको अन्तर्क्रियाको समयमा गरिसकेको छ।

कोरोनाभाइरस महामारीका कारण संसदीय समितिका बैठकहरू पनि प्रभावित हुँदै आएका छन्। संसद् सचिवालयले दोस्रो चरणमा संसदीय समिति बैठक हुने हलहरूमा समेत यस्तो उपकरण राखेर समितिका बैठकहरू गर्न सकिने सम्भावनाबारे छफफल सुरु गरेको प्रवक्ता पाण्डेले जानकारी दिए।

उनका अनुसार प्रवेशद्वारमा यस्तो उपकरण जडान गरेर चारवटा ठूला हलमा समिति बैठक राख्ने विषयमा अध्ययन भइरहेको छ।

कसरी परीक्षण?

संसद् सचिवालयका अनुसार संसद्‌मा कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन जनस्वास्थ्यसम्बन्धी उपाय अवलम्बन गरिनेछ।

"प्रमुख प्रस्थानबिन्दुमै स्वचालित सेन्सरबाट सांसद तथा कर्मचारीहरूको हात सरसफाइ गरिन्छ र त्यसपछि दोस्रो प्रस्थानबिन्दुमा थर्मल स्क्यानरबाट उहाँहरूको तापक्रम नापिन्छ," संसद् सचिवालयका डा. पुष्प रिजालले भने।

संसदको सभाहलतर्फ प्रस्थान गर्ने द्वारमा जडान गरिएको उपकरणको दुईदेखि छ मिटरको दूरीमा कोही पुग्नेबित्तिकै त्यसले मानिसको शरीरको तापक्रम आफैँ नापेर सँगै राखिएको एउटा कम्प्युटरमा देखाइदिन्छ।

प्रतिनिधिसभा

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, गत असार १८ गते संसद् बर्खे अधिवेशन अन्त्य भएको थियो

संसद् सचिवालयका अनुसार यो उपकरण सामान्यतया प्रयोग गरिने थर्मल गनभन्दा बढी प्रभावकारी छ।

"यो उपकरणले मानिसहरू हिँड्दाहिँड्दै ज्वरो नाप्छ, त्यसको रेकर्ड पनि गर्छ र कसैको ज्वरो वा तापक्रम बढी देखियो भने त्यसले साइरन पनि बजाइदिन्छ," राम रिमालले भने।

यो उपकरण नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌बाट प्रमाणित भइसकेको जानकारी दिँदै उनले यसबाट हाते थर्मल गनले भन्दा राम्रो नतिजा आउने दाबी गरे।

ज्वरो देखिए के हुन्छ?

संसद् सचिवालयले ज्वरो आएका सांसदलाई संसद् परिसरमै अरूबाट छुट्याएर राखिने जनाएको छ।

डा. पुष्प रिजालका अनुसार १०२.२ डिग्री फरेनहाइटभन्दा बढी तापक्रम देखिने सांसदलाई केही समय आइसोलेशनमा राखेर थप उपचार आवश्यक परे अस्पताल लगिनेछ।

संसद् बैठक हुँदा सधैँ एउटा एम्बुलेन्स तयारी अवस्थामा संसद् भवन परिसरमा राख्ने गरिएको छ।

अधिवेशन सुरु हुनुअघि नै सबै सांसद र कर्मचारीको पीसीआर विधिबाट परीक्षण गर्न सकिने कोरोनाभाइरस फैलिने जोखिम न्यून हुने संसद् सचिवालयको भनाइ छ।

लकडाउन भएको बेला सञ्चालित बर्खे अधिवेशनमा सबै सांसदको परीक्षण गरिएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, चिसो, फ्लू र कोभिड-१९ का लक्षण कसरी छुट्याउने?

संसद् कति सुरक्षित?

भौतिक दूरी र जनस्वास्वास्थ्यसम्बन्धी सबै उपाय अवलम्बन गरी संसद् भवनलाई सुरक्षित रूपमा बस्न मिल्नेगरी व्यवस्थापन गर्न लागिएको डा. रिजालको भनाइ छ।

भवनमा प्रत्येक दिन निस्सङ्क्रमण गर्न आवश्यक उपकरणहरू पनि किनिएको जानकारी संसद् सचिवालयले दिएको छ।

सभाकक्षमा सांसदहरूबीच दुई मिटरको दूरी कायम हुनेगरी सीट व्यवस्थापन गरिएको सचिवालयले जनाएको छ।

यसपालि सभाहलको पछाडिपट्टि दर्शक, पत्रकार र कर्मचारीहरू बस्ने क्षेत्रमा पनि सांसदहरूलाई राखिनेछ।

गत वैशाखदेखि असारसम्म चलेको संसद्‌को बजेट अधिवेशनमा पनि सभाहलमा एक-एक सीटको फरकमा सांसदहरूलाई बसालिएको भए पनि न्यूनतम दूरी कायम गरिएको थिएन। यस पटक प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा न्यूनतम दूरी कायम हुने संसद् सचिवालयको दाबी छ।

सांसदहरूले प्रयोग गर्ने कुर्सी, टेबल, माइक सबैलाई दुई भिन्न उपकरणको प्रयोगबाट निर्मलीकरण गरिने सचिवालयका अधिकारीहरूले जानकारी दिए।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, सांसद भन्छन्: नयाँ लोगो 'भद्दा र गुणस्तरहीन'