तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस श्रीलङ्काः जेलमा कोभिड फैलिएपछि दङ्गा हुँदा छ जनाको मृत्यु
श्रीलङ्काको एउटा कारागारमा दङ्गा हुँदा कम्तीमा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
माहारा कारागारमा कोरोनाभाइरसको प्रकोप बढ्न थालेपछि बन्दीहरूले धरौटीमा मुक्त हुन पाउनुपर्ने र थप सेवासुविधाको माग गर्दै प्रदर्शन गरेका थिए।
बन्दी र कारागारमा खटिएका सुरक्षाकर्मीहरूबीच भिडन्त हुँदा त्यति सङ्ख्यामा मृत्यु र ५२ जना घाइते भएको बताइएको छ।
श्रीलङ्काका जेलहरूमा अहिलेसम्म झन्डै १,००० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
के भएको थियो?
प्रहरी प्रवक्ता अजित रोहनाका अनुसार जेलमा सुरक्षाकर्मीहरूले "उच्छृङ्खल अवस्था नियन्त्रणमा लिन बल प्रयोग गरेको" बताए।
सञ्चारमाध्यमहरूका अनुसार दङ्गा फैलिएपछि सुरक्षाकर्मीहरूले गोली हानेका थिए।
कारागार परिसरमा "ठूलो आगलागी" भएको देखिएको स्थानीयवासीलाई उद्धृत गर्दै समाचार प्रकाशित भएको छ।
घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरी प्रवक्ता रोहनाले बीबीसीलाई बताए।
उनका अनुसार कारागारमा सुरक्षा बढाउन विशेष तालिमप्राप्त कमान्डोहरूको टोली झिकाइएको छ।
प्रहरीका पाँचवटा टोलीलाई पनि परिचालन गरिएको छ।
अरू जेलको अवस्था के छ?
श्रीलङ्काका जेलमा कोभिड-१९ फैलिरहेका बेला यो घटना भएको हो।
राजधानी कोलम्बोस्थित बन्दीहरूले वेलिकाडा जेलको छानामा चढेर आफूहरूलाई धरौटीमा छोडियोस् भन्दै प्रदर्शन गरेका छन्।
बन्दीहरूले आगुनाकोलापालास्सा जेलमा आठ दिनदेखि प्रदर्शन गरिरहेका छन्। आफूलाई राखिएको उक्त कारागार नराम्रो अवस्थामा भएको उनीहरूको दाबी छ।
मानवाधिकारवादी समूहहरूका अनुसार श्रीलङ्कामा १०,००० बन्दी राख्ने क्षमता भएका जेलहरूमा २६,००० जनालाई राखिएको छ।
गत महिना श्रीलङ्कामा एउटा गार्मेन्ट उद्योग र एउटा माछा बजारबाट कोरोनाभाइरस सङ्क्रमण फैलिएको पुष्टि भएको थियो।
जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्याङ्कले श्रीलङ्कामा २३,४८४ जनामा कोभिड-१९ देखिएको र ११६ जनाको मृत्यु भएको देखाउँछ।
यो पनि हेर्नुहोस्