ओले, ओले, ओले, ओले- अविस्मरणीय विश्वकप गीत कसरी बन्छ?

    • Author, रस मकी
    • Role, बीबीसी न्यूज नर्दन आयरल्यान्ड
    • Author, सिमन डोयल
    • Role, बीबीसी न्यूज नर्दन आयरल्यान्ड
  • Published
  • पढ्ने समय: ६ मिनेट

विश्वकप फुटबल जारी रहँदा समर्थकहरूले खेलबाहेक उज्यालो, ध्वनि, रङ्ग र गीतको भव्यता महसुस गर्दै मनोरञ्जन लिइरहेका छन्।

आकर्षक धुन र दमदार शब्दका कारण विश्वकप गीतहरू दशकौँदेखि खेल सुरु हुनुभन्दा अघिबाटै प्रतियोगितका आकर्षण रहने गरेका छन्।

हालैका विश्वकपका आधिकारिक गीतहरू पिटबुल र शकीराजस्ता चर्चित स्टारहरूले गाएका छन्। कालजयी विश्वकप गीत कसरी बन्छ?

दशकौँअघि उत्तरी आयरल्यान्ड र रिपब्लिक अफ आयरल्यान्ड विश्वकपका लागि छनौट भएको समयका गीतहरूलाई अझै पनि कैयौँ मानिसहरूले उत्साहकपूर्वक सम्झने गर्छन्। यी 'कल्ट क्लासिक'हरू त्यस बेला नजन्मिएका कैयौँ फ्यानहरूको जिब्रोमा अहिले पनि झुन्डिएका छन्।

'पुट'अम अन्डर प्रेशर'

उसो भए के कुराले विश्वकप गीतलाई कालजयी बनाउँछ?

फुटबल समर्थकहरू पुराना याद ताजा बनाउने र सकारात्मक भावना सञ्चार गर्ने शब्दहरू भएका गीतहरू सम्झीने गर्छन्। त्यसमा 'वर्ल्ड इन मोशन' (इङ्ग्ल्यान्ड) र 'पुट'अम अन्डर प्रेशर' (रिपब्लिक अफ आयरल्यान्ड) पर्छन्, जुन सन् १९९० को विश्वकपअघि 'ओले, ओले, ओले' कोरससहित सार्वजनिक गरिएका थिए।

होर्स्लिप्सले गाएको 'ज्याराक डूम' गीतको गितारवाला अंश आयरल्यान्डको गानको महत्त्वपूर्ण अङ्ग थियो, जसमा 'यूटू'का ड्रमर ल्यारी मुलेन जूनिअरको कौशल पनि समावेश थियो।

होर्स्लिप्सका बास वादक जेरी डेभ्लिनले सन् १९६६ को विश्वकप विजेता टोलीका सदस्य र आयरल्यान्ड व्यवस्थापक ज्याक चार्ल्टनको अडिओसहित आफ्नो गितारको धुन समावेश गरिएको थाहा पाउनु सुखद आश्चर्य भएको बताए।

काउन्टी टाइरोनका डेभ्लिन यसलाई 'फुटबलसम्बन्धी अहिलेसम्म बनेको सबैभन्दा महान् गीत'का रूपमा उल्लेख गर्छन्।

"यहाँ निश्चय पनि विवाह समारोहमा रातको अन्त्य यही गीतबाटै गरिन्छ। यसले महान् हैसियत प्राप्त गरिसकेको छ।"

"ज्याक चार्ल्टनले आएर भन्नुभएको थियो कि हामीले उनीहरूलाई हाम्रो खेलमार्फत् चोट पुर्‍याउने छौँ। उहाँको अर्थ 'थोपर्ने' भन्ने थियो तर पछि 'पीडा दिने' भन्ने अझ वास्तविक चित्रण बन्न पुग्यो।"

"यो साँच्चिकै राम्रोसँग बनाइएको हो।"

यूटूको प्रारम्भिक रिकर्डिङहरूको उत्पादन गरका डेभ्लिनलाई त्यसले किशोरावस्थाका ल्यारी मुलन जूनिअरसँगका सुखद क्षणहरू याद दिलाउँछ।

डेभ्लिन भन्छन्, "मैले उनीहरूको पहिलो डेमो (नमुना) तयार पारेको थिए। सन् १९७८ मा उनीहरू केटाकेटी नै थिए। मलाई लाग्छ ल्यारी १७ वर्षका थिए,"

"उनीहरूले भर्खरै लेखेका रीतहरू म रिकर्ड गर्दै थिए, त्यसमध्ये धेरै कहिल्यै पनि बाहिर सार्वजनिक भएनन्।"

"राति अबेरसम्म काम गर्ने मेरो बानी थियो। एकपल्ट बिहान ३ बजेतिर ल्यारीका बुवा आए र मलाई 'बिहान उनले स्कूलको काम गर्नुपर्ने' भएकाले घर लैजानुपर्ने बताए।"

"मैले धक मान्दै भनेँ, "तर मिस्टर मुलन, मैले ल्यारीको बास ड्रमको काम अझै सकिसकेको छैन।"

"त्यसपछि उनले मलाई हेरे र भने 'अहँ, सकायौँ नि!' र त्यो दिनको हाम्रो ड्रमको कार्यक्रम समाप्त भयो।"

सन् १९९० को इटली विश्वकपका गीतहरू अझै पनि अनुपम

डेभ्लिन प्रविधिमा देखिएको नवीनताका कारण 'वर्ल्ड इन मोशन' र 'पुट'अम अन्डर प्रेशर'ले सन् १९९० को विश्वकप इतिहासकै रूपान्तरणकारी विश्वकप बनेको बताउँछन्।

उनले भने, "मलाई लाग्छ, त्यहाँ चनाखो बन्ने र वास्तविक खेललाई संलग्न गराउने प्रयास गरिएको थियो। मलाई लाग्छ त्यो उत्कर्ष बिन्दु थियो। त्यसपछि ती दुवै गीतलाई कसैले पनि पछि पार्न सकेका छैनन्।"

उनी थप्छन्, "मलाई लाग्छ, ती विशिष्ट क्षणहरू थिए।"

इङ्ग्ल्यान्डका समर्थकहरू अहिले पनि 'वर्ल्ड इन मोशन' गीत सामूहिक रूपमा गाएर आनन्द लिन्छन्। अघिल्लो हप्तामात्रै म्यानचेस्टरमा इग्ल्यान्डका स्टार जन बार्न्सले पिटर हूक र द लाइटसँग मञ्चमा उपस्थित भएर उक्त गीतमा रहेको आफ्नो चर्चित र्‍याप गाएर फुटबल समर्थकहरूलाई अचम्भीत बनाइदिएका थिए।

'येर म्यान', डेना र एल्टन जन

सन् १९८२ मा स्पेन र सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपअघि नै जेरी आर्म्स्ट्रङ सङ्गीत क्षेत्रका हस्तीहरूसँग घुलमिल भइसकेका थिए।

एल्टन जन वाट्फर्ड फुटबल सङ्घका अध्यक्ष थिए र आर्म्स्ट्रङ उनको घरमा आयोजना हुने भोजहरूमा निम्त्याइने गरेको सम्झिन्छन्। हेलिकप्टरबाट आइपुग्ने एल्टन जन गीतका अनुरोधहरू लिन्थे र पिआनोमा बजाउँथे।

जेरी आर्म्स्ट्रङले बीबीसीसँग कुरा गर्दै युरो भिजन विजेता डेनासँग सन् १९८२ मा 'येर म्यान' रिकर्ड गर्दा 'अत्तालिएको अवस्था रहेको' बताए।

"हाम्रा अधिकांश खेलाडी तपाईँले ठान्ने गर्नुभएका गायकजस्ता थिएनन् र मलाई थाहा छ पहिलो पटक रिकर्डिङ गरिएपछि मैले 'म गएर केही बिअर ल्याउँछु र उनीहरूलाई मनोरञ्जन गराउँछु' भनेँ र त्यसपछि उनीहरूले सीधै रिकर्ड गरे। कुनै पनि समस्या भएन।"

"गीतको शब्द उनीहरूका अगाडि कागजमा लेखिएका थिए। केही हाँसो भयो तर हामी अघि बढ्यौँ।"

"डेना त्यहाँ हुनु ठूलो कुरा थियो। उनको 'अल काइन्ड्स अफ एभ्रिथिङ' गीत एक नम्बरमा थियो। उनी हाम्रा लागि सूपरस्टार थिइन्।"

उनले डेना व्यावसायिक गायिका भएकाले उनले 'नेतृत्व'को भूमिका खेलेको बताए। "मलाई लाग्छ, उनको आफ्नै माइक्रोफोन थियो र हामी सबैले माइक्रोफोन शेअर गरेका थियौँ।"

'ब्याक होम' र टेलिभिजन

नर्दन आयरल्यान्डको विश्वकपको गीतसँगको सम्बन्ध हेर्न सन् १९७० मा फर्कनुपर्ने हुन्छ, जति बेला फिल कोउल्टर इङ्ग्ल्यान्डको 'ब्याक होम'का सहलेखक थिए।

बे सीटी रोलर्सले सनसनी मच्चाएको समयमा कोउल्टरले बिल मार्टिनसँग मिलेर स्कटल्यान्डका लागि 'ईजी ईजी' गीत लेखेका थिए।

यसै महिनाको सुरुमा कोउल्टरले 'द डेली टेलिग्राफ'सँग कुरा गर्दै सन् १९७० को विश्वकप क्वार्टरफाइनलमा पश्चिम जर्मनीसँग इङ्ग्ल्यान्ड पराजित हुनुअघिसम्म 'ब्याक होम' को बिक्रीले कीर्तिमान राखेकोबारे चर्चा गरेका थिए।

"म भाँडामा खाना राखेर सोचिरहेको थिएँ कि यो गीतबाट हुने आम्दानीले म सहजै अवकाश लिन सक्छु।"

उनले उक्त अखबारसँग भनेका छन्, "एउटामात्र गीत हिट भए पनि यो लोटरी जितेजस्तो हुनेवाला थियो। मैले फ्रान्सको दक्षिणतीर एउटा 'याट' लिने योजना बनाइसकेको थियो।"

"त्यसपछि जर्मनी खेलमा फर्कियो र थाहा नपाईकनै सबै समाप्त भयो। मेले मेरो खाना टीभीमा फ्यालिदिएँ।"

यो वर्ष फ्यानहरू के गाइरहेका छन्?

लगभग तीन दशकपछि स्कटल्यान्ड यो वर्ष विश्वकपमा सहभागी हुँदै छ। सामाजिक सञ्जालमा लोकप्रिय भइरहेका कैयौँ अनाधिकारिक गीतमध्ये हास्यकलाकार रोस्को मेक्लेलन्डले गाएको एउटा गीत स्कटल्यान्डको टोलीका समर्थकहरू (टार्टन आर्मी)ले ज्यादै मन पराएका छन्।

उनले 'चीअर्स'को 'थीम ट्यून'मा गीतका शब्दहरू परिवर्तन गर्दै बीबीसी स्कटिश सिम्फनी अर्केस्ट्रासँग मिलेर नयाँ संस्करण रिकर्ड गरेका छन्।

गीतका केही पङ्क्तिहरूमा अमेरिकाको यात्राले 'सबै क्षमता खपत गर्ने' र म्यासचूसिट्ससम्मको उडान महङ्गो परेको उल्लेख गरिएको छ।

इङ्ग्ल्यान्डका समर्थकहरू भने यसपालि पनि "इट्स कमिङ होम" भनेर गाइरहेका छन्, जुन राष्ट्रिय टोलीको सांस्कृतिक पहिचानको हिस्सा बनिसकेको छ।

यसैबीच, अमेरिकी सपनाप्रति मोहभङ्ग झल्काउने दशकौँ पुरानो एउटा गीत बोस्निया-हर्ट्सगोभिनाको अनौपचारिक गीत बनेको छ।

"आई एम फ्रम बोस्निया-टेक मी टू अमेरिका' गीतमा फुटबलसँग जोडिएका केही पङ्क्तिहरू राखिएका छन् र यो गीत 'भाइरल हिट' बनेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।