जूमबाटै राजीनामा दिएका प्राध्यापकको दृष्टिकोणमा अनलाइन अध्यापनका चार समस्या

अनलाइन कक्षा

तस्बिर स्रोत, Getty Images

Published

हुँवा फ्रान्सिस्को बल्डिओन कक्षा कोठाका लागि नौला व्यक्ति होइनन्। उनले १७ वर्ष कानुन पढाएका छन्।

उनका लागि अनलाइन अध्यापन पनि नौलो होइन किनकि पछिल्ला तीन वर्षमा उनले जूमजस्ता डिजिटल माध्यमबाट ‘लेकचर’ हरू दिएका छन्।

तर अक्टोबरमा बल्डिओनले पेरुको फेडिरिको भिल्लारिअल फेडेरल यूनिभर्सिटी (यूएनएफभी) का विद्यार्थीमाझ आफूले जागिर छाड्न लागेको घोषणा गरे।

जूममार्फत् उनले त्यस्तो घोषणा गर्नुको कारण विद्यार्थीहरूले अध्ययनप्रति चाख नदेखाएकाले उत्पन्न चरम वितृष्णा भएको ठानिएको छ।

‘प्रत्यक्ष राजीनामा’

“तिमीहरूलाई पढाउन मलाई अब कत्ति पनि मन छैन। मलाई वाक्क लागिसक्यो,” उनले विद्यार्थीहरूलाई जूममार्फत् भनेका थिए।

“तिमीहरूले मैले सबैथोक पढाइनँ भन्छौ होला तर त्यस्तो होइन। तिमीहरूले अध्ययन गरिरहेका छैनौँ। मैलै राजीनामा गर्ने सोचिरहेको छु र जान लागेको छु।”

बल्डिओनले बेहोरेको जस्तो अनुभवले कोरोनाभाइरसको महामारीपछि अनलाइनमार्फत् शिक्षण संस्थाहरूले अध्यापन गराउनुको अप्ठेरा देखाउँछ।

बल्डिओनले आक्रोश व्यक्त गरेको उक्त भिडिओ समाजिक सञ्जालमा चर्चित भएको थियो भने दर्जनौँ ल्याटीन अमेरिकी सञ्चारमाध्यमले त्यसलाई ‘प्रत्यक्ष राजीनामा’ भन्दै खबर छापेका थिए।

हुँवा फ्रान्सिस्को बल्डिओन
तस्बिरको क्याप्शन, हुँवा फ्रान्सिस्को बल्डिओन

“अवस्थाले हद पार गरेपछि मैले अति नै भयो भनेर त्यस्तो भनेको थिएँ,” उनले बीबीसीसँग भने।

तर विश्वविद्यालयका प्रशासकहरूले उनीसँग भेट गरेपछि ती प्राध्यापकले खानीसम्बन्धी कानुनको कक्षा लिने जानकारी दिएका छन्।

बल्डिअनका अनुसार शिक्षकहरूले अनलाइन पढाउँदा भोगिरहेका चुनौतीहरू यस्ता छन्ः

विद्यार्थीसँग सम्पर्क विच्छेद

कोरोनाभाइरस महामारीबाट दक्षिण अमेरिकामा सबैभन्दा आक्रान्त बनेको देशमध्ये पेरु पनि एक हो।

एप्रिलदेखि अक्टोबर महिनाका बीचमा त्यहाँ लकडाउन गरिएका कारण विद्यालय र विश्वविद्यालयहरूले अनलाइनमार्फत् कक्षा सञ्चालन गरेका थिए।

बल्डिअनका भनाइमा अक्टोबर २६ को जूम कक्षा पढाइरहेको समयमा उनले उक्त दिनका लागि आवश्यक अध्ययन विद्यार्थीहरूले नगरेको पाएका थिए।

फेसबुकमा आएको भिडिओमा उनले अध्ययनमा सहभागी नभएकोबारे गुनासो गरेका थिए।

हुँवा फ्रान्सिस्को बल्डिओन

तस्बिर स्रोत, YouTube

उनले आफूले आफ्ना सबै कक्षाबाट राजीनामा दिने नभई विद्यार्थीले चासो नदिएको कक्षाबाट अलग हुने धारणा राखेको बताएका छन्।

विद्यार्थीहरूले कक्षा र उनीहरू स्वयंलाई अपमान गरिरहेको आफूले बताएको भन्दै उनले प्रत्यक्ष वा कम्प्युटर जुनसुकै माध्यमबाट पनि कक्षाका गतिविधिमा सहभागी हुनुपर्ने धारणा राखे।

शिक्षण र सिकाइ प्रकियाका लागि आवश्यक हुने शिक्षक तथा विद्यार्थी बीचको निकटता अनलाइन कक्षामा नहुने उनको ठहर छ।

नबोली विद्यार्थीहरूले जनाउने प्रतिक्रियाको अभाव

यूएनएफभीमा चलाइने कक्षामा विद्यार्थीहरूलाई आफ्नो क्यामेरा चालु राख्न बाध्य पारिएको छैन।

बल्डिअनका विचारका त्यसले ठूलो समस्या निम्त्याएको छ।

यसले शिक्षक र विद्यार्थीबीच बोलेर हुने कुराकानी विनाको संवादलाई बन्द गराइदिएको छ।

अनलाइन कक्षा

तस्बिर स्रोत, Getty Images

उनी भन्छन्, “कुनै पनि विषयलाई व्याख्या गर्दा विद्यार्थीको अनुभव र अनुभूति उनीहरूको अनुहारमा प्रकट हुन्छ। तपाईँले त्यसलाई हाँसो, रिस र चिन्ताका रूपमा देख्न सक्नुहुन्छ।”

तर अनलाइनको स्क्रीनमा तपाईँले नाम वा फोटो सहितको एउटा समकोण मात्रै देखापर्ने उनको भनाइ छ।

सामूहिक उत्प्रेरणाको अभाव

बल्डिअन प्रत्यक्ष रूपमा कक्षा कोठामा हुने अध्यापनमा पनि विद्यार्थीहरूको चासो कम हुने स्वीकार गर्छन्।

तर विद्यालयमा देखिने जस्तो सामूहिक उत्प्रेणा अनलाइन कक्षामा जगाउन नसकिने उनी बताउँछन्।

“सिकाइ सामूहिक प्रकिया हो। तर पढ्नलाई इच्छा नभएका विद्यार्थीलाई सहभागी हुने उत्प्रेरणा कम हुन्छ किनभने त्यहाँ साथीभाइको दबाव पनि हुँदैन।”

“त्यस्तोमा एउटा विद्यार्थीलाई प्रश्न गर्दा उसले जवाफ दिएन भने अरू विद्यार्थीले हेर्छन्। उसलाई आफूले नपढेकोमा पछुतो हुन्थ्यो।”

भिडिओ क्याप्शन सुरु हुँदैछ, जूम मीटिङ पट्यारलाग्दो भयो? यो गधालाई बोलाउनुहोस्

“र अर्को कक्षामा विद्यार्थीले प्रयास गर्थ्यो। तर जूम कक्षामा तपाईँले उनीहरूको अनुहार देख्नुहुन्न। त्यहाँ कुनै समाजिक दबाव हुँदैन।”

युवाहरूले अहिले ताजा विषयहरूमा इन्टरनेटमार्फत् पढिरहेको भए पनि विश्वविद्यालयको अध्ययन फरक रहेको र त्यसमा विद्यार्थीले ज्ञान ग्रहण गर्ने क्षमता देखाउनुपर्ने उनको भनाइ छ।

कलेज प्रशासनलाई भिडिओ पठाइदिएका कतिपयले ती प्राध्यापकले विगतमा केही विद्यार्थीलाई अपमान गरेको आरोप लगाएका थिए।

तर बल्डिअन कसैप्रति व्यङ्ग्य गर्न वा कसैलाई लज्जित गर्न त्यस्तो नगरेको बताउँछन्।

अध्ययनका लागि साँघुरोपन

बल्डिअनले अध्ययनका लागि छुट्ट्याइएको निश्चित क्षेत्र नहुनुलाई अर्को समस्या मानेका छन्। “प्रत्यक्ष रूपमा कक्षा कोठामा नहुँदा म पृष्ठभूमिमा बजारको आवाज सुनिरहेको हुन्छु।”

“उनीहरू सम्भवतः आफ्नो अध्ययन गर्ने विशेष ठाउँ, कोठा वा पढ्ने वातावरण भएको ठाउँमा थिएनन्। उनीहरू बजारमा भएको जस्तो अनुभव हुन्छ र त्यसबेला शिक्षकले गर्न सक्ने खासै केही हुँदैन।”

यी अप्ठेरा सामना गरेका बल्डिअन अनलाइन कक्षाका लागि उपयुक्त वातावरण बनाउने जिम्मेवारी विद्यार्थीको मात्रै नभएको बताउँछन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अनलाइन कक्षा भए पनि बालबालिकाहरूलाई स्क्रीनबाट कसरी पर राख्ने?

शिक्षकहरूले पनि विद्यार्थीहरूको ध्यान तानिराख्न र उनीहरूलाई पढ्न उत्प्रेरित गर्न रणनीति बनाउनुपर्ने उनको धारणा छ।

पेरुका यी प्राध्यापक भन्छन्, “हामीले अप्ठेरा पलहरूबाट पार पाउनुपर्छ र शिक्षक अनि प्रहरीजस्तै गुमनाम नायकको भूमिका खेल्नुपर्छ। मलाई भाइरल हुने कुनै इच्छा थिएन। त्यो एउटा बाबुले आफ्ना बालबालिकालाई ध्यान दिन गरेको अनुरोधजस्तै थियो।”