तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस ब्रजिल: चिनियाँ कम्पनी सिनोभाकले विकास गरेको खोपको परीक्षण रोकियो
स्वास्थ्यसम्बन्धी निकायले "गम्भीर किसिमको प्रतिकूल घटना" देखा परेको बताएसँगै ब्रजिलमा चीनले उत्पादन गरेको कोभिड-१९ विरुद्धको एउटा खोपको परीक्षण स्थगित गरिएको छ।
अन्भीसाले सो घटना अक्टोबर २९ मा भएको बताए पनि थप विवरण सार्वजनिक गरेको छैन।
एकजना स्वयंसेवकको मृत्यु भएसँगै परीक्षण स्थगित गरिएको बताइएको छ तर त्यो मृत्यु परीक्षणसँगै सम्बन्धित थियो वा थिएन भन्ने विषय भने स्पष्ट हुन सकेको छैन।
परीक्षण व्यवस्थापन गरिरहेको संस्थाका प्रमुख डिमास कोभासले भने खोपका कारण प्रतिकूल प्रतिक्रिया देखा नपरेको बताएका छन्।
सञ्चारकर्मीसँग कुरा गर्दै कोभासले स्थगित गर्ने निर्णय गर्नुअघि खोप परीक्षण कार्यक्रम सञ्चालन गरिरहेकासँग परामर्श नगरिएको बताएका छन्।
चिनियाँ कम्पनी सिनोभाकले विकास गरिरहेको खोप विश्वव्यापी रूपमा अन्तिम चरणको परीक्षण भइरहेका केही खोपमध्ये एक हो।
सिनोभाकले भने आफूहरू "खोप सुरक्षित रहेको विषयमा आश्वस्त रहेको" बताएको छ।
उक्त कम्पनीले आपत्कालीन कार्यक्रम अन्तर्गत चीनमा हजारौँ मानिसहरूलाई सो खोप दिइसकेको छ।
ब्रजिल कोरोनाभाइरसबाट अत्यन्तै प्रभावित राष्ट्रमध्ये एक हो जहाँ ५६ लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। उक्त सङ्ख्या अमेरिका र भारत पछिको धेरै हो।
ब्रजिलमा मृत्यु हुनेहरूको सङ्ख्या भने १,६३,००० को हाराहारीमा रहेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ।
परीक्षण किन रोकियो?
सोमवार अन्भीसाले एउटा गम्भीर प्रतिकूल घटनाका पछि खोपको परीक्षण रोक्ने आदेश दिएको हो।
तर के भएको हो भन्ने जानकारी भने उसले दिएको छैन। उक्त खोपको अन्तिम चरणको परीक्षण इन्डोनेसिया र टर्कीमा पनि भइरहेको छ तर ती दुवै देशमा परीक्षण स्थगित गरिएको छैन।
इन्डोनेसियाको सरकारी बायो फार्मा कम्पनीले मङ्गलवार त्यहाँ सिनोभाकको खोपको परीक्षण "सहज रूपमा अघि बढेको" बताएको समाचार संस्था रोयटर्सले जनाएको छ।
कोभासले स्थानीय सञ्चारमाध्यमलाई परीक्षण एउटा मृत्युको घटनालाई जोडेर स्थगित गरिएको तर त्यो मृत्यु खोपसँग सम्बन्धित नभएको बताएका थिए।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा
"हामीले अन्भीसाको यो निर्णयलाई अनौठो मानेका छौँ किनकि त्यो घटना खोपसँग सम्बन्धित छैन। हाल हामीसँग १०,००० भन्दा बढी स्वयंसेवक छन्," उनले कल्टुरा टिभीलाई भने।
मङ्गलवारको एउटा पत्रकार सम्मेलनमा उनले परीक्षण छिटै सुरु हुने आफ्नो आशा रहेको बताएका छन्।
परीक्षण रोकिनु असामान्य कुरा भने होइन।
गत सेप्टेम्बर महिनामा एक जना सहभागीमा प्रतिकूल प्रतिक्रिया उत्पन्न भएको आशङ्का गर्दै यूकेले कोभिड-१९ विरुद्धको अर्को एउटा खोपको परीक्षण रोकेको थियो।
ब्रजिलका राष्ट्रपति जइर बोल्सोनारु एस्ट्राजेनेकाले तयार पारेको खोपलाई प्राथमिकता दिने विषयमा खुला देखिएका छन्। उनले आफ्नो सरकारले चीनद्वारा विकसित खोप नकिन्ने बताएका छन्।
खोपको खोज कहाँ पुग्यो?
सिनोभाक अन्तिम चरणको परीक्षणमा रहेको करिब एक दर्जन खोपमध्ये एक हो।
तेस्रो चरणको परीक्षण खोप विकासमा निकै महत्त्वपूर्ण विन्दु हो जहाँ ती सफल या असफल हुने निर्णय हुन्छ।
चीनमा किन खोप लगाइन्छ?
विदेशमा भइरहेका परीक्षण बाहेक चीनले आफ्नै देशमा पनि कोभिड-१९ विरुद्धको खोपको परीक्षण गरिरहेको छ।
सिनोभाक चीनमा परीक्षण भइरहेको तीन खोपमध्ये एक हो जसलाई आपत्कालीन प्रयोग कार्यक्रम अन्तर्गत हजारौँलाई दिइएको छ।
यसअघि सिनोभाकले आफ्ना सबैजसो कर्मचारी र उनीहरूका परिवारका सदस्यले सो खोप लगाइसकेको बताएको थियो।
एकजना वरिष्ठ चिनियाँ अधिकारीले केही समयअघि परीक्षणका क्रममा गम्भीर असर नदेखिएको बताएका थिए।