अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रक्षामन्त्री बर्खास्त

मार्क एस्पर र ट्रम्प

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सोमवार गरिएको घोषणामा के कारण एस्परलाई निष्कासित गरिएको हो भन्ने कुरा भने खुलाइएको छैन।
Published

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षा मन्त्री मार्क एस्परलाई पदबाट हटाएका छन्।

उनले ट्विटर मार्फत् एकजना उच्च अधिकारीलाई पदबाट "बर्खास्त" गरिएको घोषणा गरेका हुन।

न्याशनल काउन्टर टेररीजम सेन्टरका प्रमुख क्रिस्टोफर मीलरले रक्षा मन्त्रीको भूमिका निर्वाह गर्ने बताइएको छ।

पछिल्ला केही हप्ताहरूमा ट्रम्प र एस्परबीच सार्वजनिक रूपमै फरक मत देखिन थालेको थियो।

अमेरिकामा डेमोक्र्याटिक दलका उम्मेदवार जो बाइडन राष्ट्रपति निर्वाचित भइसकेको भए पनि ट्रम्पले हार स्वीकार गरिसकेका छैनन् र उनले नतिजालाई अदालतमा चुनौती दिने वाचा गर्दै आएका छन्।

अमेरिकामा आगामी ज्यानुअरी २० मा बाइडनले पदभार ग्रहण गर्नु अघिसम्म ट्रम्पले निर्णय गर्न पाउने छन्।

ट्रम्पले पछिल्लो घोषणा गरेको केही बेरमै मीलर पेन्टागनस्थित रक्षा मन्त्रालय प्रवेश गर्दै गरेको देखिएको थियो।

क्रिस्टोफर मीलर

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, ट्रम्पले पछिल्लो घोषणा गरेको केही बेरमै क्रिस्टोफर मीलर पेन्टागनस्थित रक्षा मन्त्रालय प्रवेश गर्दै गरेको देखिएको थियो

विवादको कारण?

केही समयअघि जातीय विभेदका विषयमा भएको प्रदर्शन मत्थर पार्नका लागि ह्वाइट हाउसले सेना प्रयोग गर्ने विषयमा एस्पर ट्रम्पको विपक्षमा उभिएका थिए।

एकजना अश्वेत पुरुष जोर्ज फ्लोइडको प्रहरीद्वारा गरिएको हत्याको विरोधमा भएका प्रदर्शनहरूको अन्त्य गर्नका लागि सेना प्रयोग गर्ने धम्की ट्रम्पले दिएका थिए।

गत जुन महिनामा पूर्व सैन्य अधिकारी समेत रहेका एस्परले सेनाको प्रयोग आवश्यक नरहेको बताएका थिए।

उक्त टिप्पणीबाट ह्वाइट हाउस चिढिएको बताइएको छ।

उक्त टकराबका कारण राष्ट्रपतिले रक्षामन्त्री हटाउने आङ्कलन गरिएको थियो।

तर सोमवार गरिएको घोषणामा के कारण एस्परलाई निष्कासित गरिएको हो भन्ने कुरा भने खुलाइएको छैन।

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)प्रति राष्ट्रपतिको व्यवहारका विषयमा पनि एस्पर र ट्रम्पबीच फरक मत थियो।

गत हप्ता मीलीटेरी टाइम्ससँगको अन्तर्वार्ताका क्रममा एस्परले ह्वाइट हाउससँग कठिन सम्बन्ध भए पनि राजीनामा दिनु सही काम नहुने आफ्नो विश्वास रहेको बताएका थिए।

ट्रम्पले आफ्नो चार वर्षे कार्यकालमा कैयौँ अधिकारी र सल्लाहकारहरूलाई प्राय ट्विटरबाट सूचना सार्वजनिक गर्दै निष्कासित गरेका छन्।