अमेरिका निर्वाचन २०२० नतिजा: बाइडनले चुनाव त जिते तर अब के-के हुन्छ?

Joe Biden

तस्बिर स्रोत, Getty Images

Published

जो बाइडनले अमेरिकी राष्ट्रपति निर्वाचित हुन आवश्यक इलेक्टोरल मत सङ्ख्या २७० नाघेको प्रक्षेपण भइसकेका छन्। तर अब के हुन्छ?

उनले तत्कालै आफ्ना सरसामान बोकेर अमेरिकी राष्ट्रपति निवासको ठेगाना - १६०० पेन्सिल्भानिया एभेन्यू - मा पुग्न पाउने छैनन्। त्योभन्दा अगाडि केही प्रक्रिया बाँकी छन्।

सामान्यतया: यी प्रक्रिया सहजतापूर्वक पूरा गरिन्छन्। तर यसपालि भने पराजित राष्ट्रपति ट्रम्पले मुद्दा हाल्ने भनेका कारण केही जटिलता देखा पर्न सक्छन्।

Section divider

जो बाइडन कहिले बन्छन् राष्ट्रपति?

अमेरिकी संविधानमा लेखिए अनुसार हरेक नयाँ राष्ट्रपतिको कार्यकाल ज्यानुअरी २० तारिखको मध्यान्हबाट शुरु हुन्छ।

राजधानी वाशिङ्टन डिसीमा आयोजना गरिने शपथ ग्रहण समारोहमार्फत् यो कार्यकाल प्रारम्भ गरिन्छ। नयाँ राष्ट्रपति तथा उपराष्ट्रपतिले सर्वोच्च अदालतका प्रधानन्यायाधीशबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्छन्।

त्यसैले जो बाइडन र कमला ह्यारिसले ज्यानुअरी २० मा शपथ लिनेछन्।

ट्रम्पको शपथ ग्रहण समारोहमा जो बाइडन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ट्रम्पको शपथ ग्रहण समारोहमा जो बाइडन

संविधानमा उल्लेखित यो समयतालिका अपवादका समयमा भने फेरबदल हुनसक्छ। उदाहरणका लागि कार्यकालकै दौरान यदि कुनै राष्ट्रपतिको निधन भएमा वा राजीनामा गरेमा उपराष्ट्रपतिलाई छिटोभन्दा छिटो शपथ दिलाइन्छ।

Section divider

राष्ट्रपतीय सङ्क्रमणकाल भनेको के हो?

यो अवधि भनेको निर्वाचन नतिजा आइसकेको र ज्यानुअरी २० अगाडिको समय हो।

निर्वाचित राष्ट्रपतिले आफ्नो समूह गठन गर्छन् जसलाई ट्रान्जिसन वा सङ्क्रमण टोली भनिन्छ।

उक्त टोलीले आगामी प्रशासनका वरिष्ठ अधिकारीहरूको चयन गर्छ र नीतिको प्राथमिकता तोक्छ। अर्थात् शासनको तयारी गर्छ।

ट्रम्प र ओबामा

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सन् २०१६ मा सत्ता हस्तान्तरणका बेला तत्कालीन राष्ट्रपति र राष्ट्रपति-निर्वाचितबीच चिसो सम्बन्ध थियो

सो टोलीका सदस्यहरूले सङ्घीय निकायका अधिकारीहरूसँग समन्वय गरेर कुनै महत्त्वपूर्ण समयतालिका वा बजेट वा कर्मचारी जिम्मेवारीबारे जानकारी लिन्छन्।

तिनले यो जानकारी अब नियुक्त हुने प्रशासनका अधिकारीका निम्ति उपलब्ध गराउँछन्। शपथ ग्रहणपश्चात् पनि टोली क्रियाशील रहन्छ र त्यसका केही सदस्य कुनै पदमा नियुक्त पनि हुनसक्छन्।

सन् २०१६ मा राष्ट्रपति बराक ओबामाले आफ्ना उत्तराधिकारीमा निर्वाचित डोनल्ड ट्रम्पलाई ओभल अफिसमै भेटेका थिए। त्यतिखेर दुई बीच विद्यमान चिसो सम्बन्ध फोटोमा पनि झल्किएको थियो जुन यद्यपि छँदैछ।

जो बाइडनले महिनौँ लगाएर आफ्नो सङ्क्रमण टोली गठन गरेका छन् र त्यसलाई परिचालन गर्न चन्दा सङ्कलन गरेका छन्। गत साता त्यससम्बन्धी वेबसाइट पनि शुरु गरियो।

Section divider

आउने केही दिन धेरै सुनिने शब्दहरू

राष्ट्रपति-निर्वाचित: जब कुनै उम्मेदवारले चुनाव जित्छ तर ज्यानुअरी २० मा हुने शपथ ग्रहण समारोह भइसकेको हुँदैन उनलाई यो अवधिमा राष्ट्रपति-निर्वाचित भनिन्छ।

क्याबिनेट: जो बाइडनले अब छिटै नै उनको क्याबिनेटमा को को हुनेछन् भनेर घोषणा गर्न थाल्नेछन्। प्रशासनका उच्च पदस्थ टोली नै क्याबिनेट हो।

यसमा सबै डिपार्टमेन्ट (मन्त्रालय जस्तै)का प्रमुख अनि मुख्य निकायहरूका प्रमुख पर्छन्।

अनुमोदन सुनुवाइ: सरकारका कैयन् प्रमुख पदहरूमा राष्ट्रपतिले मनोनित गरेका व्यक्तिहरूलाई सिनेटको अनुमोदन आवश्यक पर्छ। बाइडनले मनोनित गरेकाहरूलाई सिनेटले सुनुवाइ गरेर सोधपूछ गर्छ अनि मतदानमार्फत् या त स्वीकार या त अस्वीकार गर्छ।

सेल्टिक: राष्ट्रपति-निर्वाचितको रूपमा बाइडनले सिक्रेट सर्भिसबाट थप सुरक्षा पाउनेछन् र ती निकायका प्रयोजनको निम्ति उनको छद्म नाम सेल्टिक रहनेछ। यी नाम उम्मेदवार आफैँले चयन गर्छन्। ट्रम्पले मोगुल रोजेका थिए भने कमला ह्यारिले पायोनियर रोजेको बताइन्छ।

Section divider

के कानुनी चुनौती होलान्?

लगभग निश्चित् छ। ट्रम्पले 'हालै बाइडनले जित दाबी गरेका' सबैजसो राज्यहरूमा मतगणनाको नतिजाविरुद्ध कानुनी चुनौती दिने बताएका छन्।

ट्रम्पको टोलीले यो कामका निम्ति आवश्यक वकिलहरू खोजिरहेको बताइन्छ।

हुलाकमार्फत् प्राप्त मतपत्रलाई रद्द गर्न उनीहरूले सुरुमा राज्यका अदालतहरूमा ढोका ढक्ढक्याउनेछन्। तीमध्ये केही मुद्दा सर्वोच्च अदालतसम्म पुग्ने ठानिन्छ।

तर कानुनविद्हरूका अनुसार त्यस्ता मुद्दा मतपरिणाम उल्ट्याउन सफल हुने कमै सम्भावना छ।

साथै केही राज्यमा ट्रम्पको टोलीले आग्रह गरेजस्तै पुन: मतगणना हुनसक्छ तर तिनले पनि परिणाम फेरबदल गर्ने ठानिँदैन।

Section divider

ट्रम्पले नतिजा स्वीकार नगरे के हुन्छ?

उत्तर अमेरिका सम्वाददाता एन्थोनी जर्कर:

डोनल्ड ट्रम्पले पहिले नै नतिजाबारे चुनौती दिने बताएका थिए।

यदि उनका ती प्रयास सफल भएनन् भने हार स्वीकार्न उनीमाथि चर्को सार्वजनिक दबाव पर्नेछ। तर के उनले ती दबाव मान्नैपर्छ?

अमेरिकी राजनीतिमा पराजित उम्मेदवारले विजयी उम्मेदवारलाई फोन गरेर हार स्वीकार्ने एउटा सम्मानित परम्परा रहँदै आएको छ। तर त्यो अनिवार्य व्यवस्था भने होइन।

सन् २०१८ मा जोर्जिया राज्यमा डेमोक्र्याटिक पार्टीकी गभर्नर उम्मेदवारले धाँधली भएको भन्दै रिपब्लिकन प्रतिद्वन्द्वी ब्रायन केम्पसँग हार स्वीकार नै गरिनन्।

तर राष्ट्रपतीय निर्वाचनका हकमा आधुनिक कालमा यस्तो स्थिति आइपरेको छैन। जे होस् जोर्जियाको उदाहरण हेर्ने हो भने पनि पराजित उम्मेदवारले जेसुकै गरेपनि यदि निर्वाचनको नतिजा वैध रूपमा स्थापित भयो भने सरकारी संयन्त्र स्वाभाविक रूपमा अगाडि बढ्छ।

ट्रम्पले पराजय स्वीकार गर्न जरुरी छैन र हँसिलो मुहार पारेर बाइडनको शपथ ग्रहण समारोहमा उपस्थित हुन पनि जरुरी छैन। तर उनका केही कानुनी दायित्व भने छन्।

उनले आफ्नो प्रशासनलाई आउने नयाँ प्रशासनका निम्ति बन्दोबस्तीका तयारी गर्न अनुमति दिनुपर्छ। त्यस्तो काम राष्ट्रपतिले गरिसकेको ट्रम्पका अधिकारीहरूले बताएका छन्।

राष्ट्रपतिमा निर्वाचित हुँदा ट्रम्प परम्परागतभन्दा भिन्न व्यक्तित्वसहित ह्वाइट हाउस भित्रिएका थिए। जाँदा पनि उनले चाहे त्यही शैलीमा उनी बाहिरिन सक्छन्।

Section divider

सङ्क्रमणका बेला कमला ह्यारिसको कर्तव्य के हुन्छ?

अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित पहिलो महिला कमला ह्यारिसले आफ्ना कर्मचारी नियुक्त गर्नुका साथै आफ्नो कामबारे विगतका प्रशासनबाट जानकारी लिनेछिन्।

उपराष्ट्रपतिले ह्वाइट हाउसको वेस्ट विङ्मा बसेर काम गर्नुपर्छ। तर उपराष्ट्रपतिको निवास भने वेग्लै हुने गर्छ।

परम्परागत रूपमा उपराष्ट्रपतिहरू अमेरिकी नेभल अब्जरभेटरीको परिसरमा बस्ने गर्छन् जुन ह्वाइट हाउसभन्दा १० मिनेट परतिर शहरको उत्तर-पश्चिमी क्षेत्रमा पर्छ।

उनका पति डग एमहफ वकिल हुन् र मनोरञ्जन उद्योगमा काम गर्छन्।

डग एमहफ र कमला ह्यारिस

तस्बिर स्रोत, Getty Images

उनको पहिलो विवाहबाट दुई सन्तान - कोल र एला - छन् जसले कमला ह्यारिसलाई स्नेहपूर्वक 'मोमाला' भन्ने गर्छन्।

Section divider

ह्वाइट हाउसमा सर्नु कस्तो हुन्छ?

सन् १८०० मा जब राष्ट्रपति दम्पती जोन र एविगेल एडम्स त्यहाँ सरे त्यतिखेर भन्दा अहिले ह्वाइट हाउसमा सर्नु निकै सहज छ। त्यतिखेर त ह्वाइट हाउस निर्माणाधीन थियो।

अचेल केवल समयक्रममा त्यहाँका फर्निचर र अन्य सरसामान फेरबदल गर्नु जरुरी हुन्छ जसको निम्ति अमेरिकी कङ्ग्रेसले पैसा छुट्ट्याइदिएको हुन्छ।

ह्वाइट हाउसमा १३२ वटा कोठाहरू र ३५ बाथरुम छन्।

फेसनको दुनियाँमा काम गरेको हुनाले वर्तमान प्रथम महिला मेलानिया ट्रम्पले ह्वाइट हाउसमा थुप्रै सुधार गरेकी थिइन् र क्रिसमसको समारोहका निम्ति साजसज्जा पनि गर्दै आएकी थिइन्।