अमेरिका निर्वाचन २०२०: उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसका लागि भारतस्थित मावली गाउँमा विशेष पूजा

कमला ह्यारिसको
Published

तामिलनाडुको एउटा सानो गाउँमा अमेरिकी चुनावको पूर्वसन्ध्यामा कमला ह्यारिसले जितून् भनेर विशेष पूजा भइरहेको छ।

उत्साहित गाउँलेहरूले उनको जितका लागि पूजा आयोजना गरेका हुन्।

डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसकी आमा चेन्नई सहरबाट ३५० किलोमिटर टाढा रहेको गाउँमा जन्मेकी थिइन्।

कमला ह्यारिसको मावली गाउँ

उनका मावली हजुरबुवा पीभी गोपालन तुलसेन्द्रपुरमा बस्थे।

पीभी गोपालनको परिवार अहिले प्रदेशको राजधानी चेन्नई बस्छ।

धर्मासास्था नामका देवतालाई मङ्गलवार तुलसेन्द्रपुरममा दूधको अभिषेक गर्ने कार्यक्रम थियो।

चुनावमा ह्यारिसले जितून् भनेर स्थानीय बासिन्दाले गाउँका विभिन्न स्थानमा ब्यानर र फ्लेक्स बोर्डहरू राखेका छन्।

कमला ह्यारिसले पनि मन्दिर पुन निर्माणका लागि दान दिएकी थिइन्

कमला ह्यारिसका हजुरबा पीभी गोपालनले धर्मसास्थालाई कुलदेवता मान्थे।

मन्दिरका एक सञ्चालक एसभी रामानान भन्छन्, "कमलाले पाँच वर्षको हुँदा उक्त मन्दिरको भ्रमण गरेकी थिइन्।"

उनी भन्छन्, "कमलाकी सानीमा सरला गोपालनले अहिले पनि हरेक वर्ष केही हजार रुपैयाँ दानका रूपमा मन्दिरलाई पठाउने गरेकी छन्।"

कमला ह्यारिसको मावली गाउँमा ब्यानर

धर्मसास्था मन्दिर ३०० वर्षजति पुरानो छ।

गाउँले र नेताहरूले पनि यो मन्दिरमा विशेष पूजा लगाउने गर्छन्।

मन्दिर सञ्चालक समितिले स्थानीय बासिन्दाको भावनाको कदर गर्दै पूजा लगाउन दिएको हो।

रामाननले भने, "कमलाकी सानीमाले कमलाको नाममा सन् २०१४ मा मन्दिर पुननिर्माणका लागि ५,००० रुपैयाँ दान दिएकी थिइन्। अनि कमलाको नाम पनि दाताको नामको सूचीमा राखिएको छ।"

बीबीसी तामिलसँग कुरा गर्दै तुलसेन्द्रपुरममा पूजा आयोजना गर्नेमध्ये एक सुधाकरले भने, "उपराष्ट्रपतिको चुनावमा ह्यारिको सहभागिताले गाउँका युवाहरू गौरवान्वित छन्, उनीहरूको आत्मविश्वास बढेको छ।"

"उनीहरूले यस पटकको चुनावमा विशेष रुचि राखेका छन्। यो पटक कमलाले जितून् र हाम्रो गाउँको मान राखून् भन्ने हाम्रो चाहना छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, अमेरिकाको चुनावमा कति खर्च हुन्छ?