कोरोना भाइरस नेपाल: थपिए २,२२५ नयाँ सङ्क्रमित, १३ को मृत्यु

Published

नेपालमा विगत २४ घण्टामा २,२२५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

उक्त अवधिमा कोभिड-१९ कारण १३ जनाले ज्यान गुमाएको तथ्याङ्क मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको छ।

योसँगै नेपालमा कोभिड-१९का कारण मृत्यु हुनेको कुल सङ्ख्या ८४२ पुगेको छ।

शुक्रवार मन्त्रालयले थप ४४९९ जनामा कोभिड-१९ भएको र १७ जनाको मृत्यु भएको जनाएको थियो।

योसँगै नेपालमा कुल १ लाख ५५ हजार २ सय ३३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

अरू तथ्याङ्क के छ?

नेपालमा अहिले ४६ हजार ५७ जनामा सक्रिय सङ्क्रमण छ।

त्यस्तै एक लाख आठ हजार ३ सय ३४ मानिसहरू सङ्क्रमण मुक्त भइसकेका छन्।

स्वास्थ्य मन्त्रालयको वेबसाइट अनुसार नेपालमा हालसम्म १३ लाख ८० हजार ८ सय ६२ पीसीआर परीक्षण गरिएको छ।

हाल देशभर गरी ४६ हजार ५७ जना आइसोलेशनमा छन् भने ३,३२२ जना क्वारन्टीनमा रहेका छन्।

प्रादेशिक हिसाबले बाग्मती प्रदेशमा सबभन्दा ठूलो सङ्ख्यामा मानिसहरू सङ्क्रमित छन् भने प्रदेश नम्बर २ र ५ दोस्रो धेरै सङ्क्रमितका सङ्ख्या भएका प्रदेश बनेका छन्।