केपी शर्मा ओलीः प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा गरेको सम्बोधनका चार प्रमुख कुरा

तस्बिर स्रोत, PMO/RSS
बडादशैँको फूलपातीको दिन देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले कोभिड-१९ को महामारी तीव्र वेगमा फैलिरहेकोले सतर्क र अनुशासित भई चाडबाड मनाउन आग्रह गरेका छन्।
उनले आफ्नो सम्बोधनमा समेटेका चार मुख्य विषय यस्ता छन् -
चाडबाडमा अनुशासन
दशैँ पर्वका बेला हुने सामाजिक पारिवारिक जमघटहरूका कारण सङ्क्रमण थप फैलिने त्रासका माझ प्रधानमन्त्रीले यसपालि यो चाडलाई विगतमा भन्दा फरक ढङ्गले मनाउनुपरेको बताएका छन्।
"आफ्ना मान्यजनहरूसँग टीका जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुनसक्ने सम्भावित सङ्क्रमणको खतरा ख्याल गर्नुपर्ने हुन्छ," उनले भने।
खासगरी ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिहरूमा सङ्क्रमणको सम्भावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग हुन उनले आग्रह गरे।
परीक्षण र उपचारमा सरकारी प्रबन्धको वाचा
केही समयअगाडि सरकारले कोरोनाभाइरस सङ्क्रमितहरूको परीक्षण र उपचार नि:शुल्क गर्न नसकिने आशयका टिप्पणीहरू सार्वजनिक भएका थिए।
त्यसको विभिन्न राजनीतिक दल, सत्ताधारी दलकै नेताहरू एवं सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएका थिए।
त्यसैको जबाफस्वरूप शुक्रवार प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा सरकारको प्रबन्धबारे चर्चा गरे।
कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निःसर्त दायित्व हो भन्दै उनले अहिले यस महामारीबाट जनताको जीवनरक्षा गर्नु पनि सरकारको सबैभन्दा पहिलो काम र परमकर्तव्य रहेको बताए।
"यस दायित्वलाई पूरा गर्न तपाईँको मतबाट निर्वाचित यो सरकार कुनै पनि बहानामा पछि हट्दैन । म सम्पूर्ण देशवासी दिदीबहिनी दाजुभाइलाई निश्चिन्त रहन अनुरोध गर्दछु, कोभिड-१९ बाट सङ्क्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध यस सरकारले गर्छ," उनले भने।
पहिचान, परीक्षण र उपचारमा मात्रै होइन, यस महामारीविरुद्धको खोपमा नेपाली जनताको सहज पहुँचका लागि समेत सरकार क्रियाशील रहने आश्वासन उनले दिएका छन्।
तीव्र वेगमा महामारी फैलिरहेको
केही साता यता नेपालमा दैनिक सङ्क्रमितहरूको सङ्ख्या अत्यधिक बढिरहेको छ।
उनले सम्बोधन गरेकै दिनपनि देशभरि थप झन्डै साढे चार हजार सङ्क्रमित भएका छन्।
त्यसबारे चर्चा गर्दै उनले यो सङ्क्रमणको वेग थामिन अझै केही समय लाग्न सक्ने बताए।
"दशैँको मुखमा यस महामारीको सङ्क्रमण अहिलेसम्मकै उच्च देखिएको छ। अहिले राजधानी काठमाण्डू उपत्यका यस सङ्क्रमणको केन्द्रजस्तै बन्न पुगेको छ। यस महामारीको सङ्क्रमणको वेग थामिन केही समय लाग्न सक्छ," उनले भने।
हालसम्म नेपालमा सङ्क्रमितहरूको सङ्ख्या डेढ लाख नाघेको छ भने मृत्युहुनेहरूको सङ्ख्या ८२९ पुगेको छ।


- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा


'हल्ला र अफवाह' बारे टिप्पणी
प्रधानमन्त्रीले सम्बोधनमा हल्लाहरू धेरै फैलिएको भनेर चिन्ता प्रकट गरे।
गत वर्ष चैत ११ गते पहिलो पटक लकडाउन गरेदेखि नै जनतालाई भयभीत र असहाय महसुस गराउने प्रकृतिका थुप्रै अफवाहहरू चलेको उनले बताए।
"सरकारले सक्ने आफैँ बाँच, नसक्ने जेसुकै गर भन्यो भन्ने जस्ता हल्ला फेरि पनि सुनिएको छ। महामारी र महाविपत्तिमा राज्यले सबै नागरिकको यथोचित साथको अपेक्षा गर्दछ। हुनेले नहुनेलाई सहयोग गर्ने मानवीय पक्ष मात्र नभई हामी नेपालीहरुको परम्परा नै रहेको छ।"
"सरकारले सङ्क्रमितको पहिचान, परीक्षण र उपचारमा सबैको उत्तिकै पहुँच हुने प्रबन्ध गरिरहेको छ। सम्बन्धित अस्पताल विकास समिति, सङ्क्रमित व्यक्ति वा परिवारले सक्दिनँ भन्ने स्वघोषणा गरेको अवस्थामा निःशुल्क उपचारको व्यवस्था निरन्तर जारी छ। मृतकहरुको शव व्यवस्थापनको सन्दर्भमा पनि केही फरक नगरी पूर्ववत् व्यवस्था नै जारी छ।"
उनले निजी अस्पतालमा कतिपयले आफ्नै खर्चमा उपचार गराइरहेको भन्दै त्यसलाई "राज्यको लागि बोझ होइन, थप सहयोग गर्ने उहाँहरूको यो कार्य आफैँमा प्रशंसनीय छ" भनेका छन्।

तस्बिर स्रोत, RSS
सार्वजनिक टीका ग्रहण समारोह नगरिने
महामारीको बेला सङ्क्रमणबाट आफू जोगिनु र आफन्तलाई पनि जोगाउनु अहिलेको प्राथमिक काम भन्दै उनले यसपालि जो जहाँजहाँ छौँ, त्यहीँ त्यहीँ रहेर मनाउन आग्रह गरे।
साथै विगतमा जस्तो प्रधानमन्त्री निवासमा सार्वजनिक टीका ग्रहण कार्यक्रम नगरिने घोषणा गरे।
"सङ्क्रमणको सम्भावित खतरालाई ध्यानमा राखी मैले पनि यसपालि प्रधानमन्त्री निवासमा हुने 'बडादशैँको सार्वजनिक टीका कार्यक्रम' नराख्न निर्देशन गरिसकेको छु।"
नसमेटिएका कुरा
प्रधानमन्त्रीको सम्बोधनमा केही दिनयता नेपाली राजनीतिमा तातेका केही विषयले भने स्थान पाएनन्।
दुई दिनअगाडि भारतको गुप्तचर निकायका प्रमुखले अचानक काठमाण्डू भ्रमण गरी प्रधानमन्त्रीलाई भेटेर कुराकानी गरेको सार्वजनिक भएको थियो।
त्यसलाई गैरकूटनीतिक भनी कतिपयले आलोचना गरिरहेका छन्।
तर शुक्रवारको सम्बोधनमा प्रधानमन्त्रीले त्यसबारे केही उल्लेख गरेनन्।
त्यस्तै सत्ताधारी दलभित्र पुन: तनाव बढिरहेका भन्ने चर्चा पनि चलेको छ। त्यसबारे पनि प्रधानमन्त्रीले बोलेका छैनन्।




















