अमेरिका चुनाव: ट्रम्प-बाइडन अन्तिम प्रत्यक्ष बहस यी ६ मुद्दामा हुनेछन् केन्द्रीत

डोनल्ड ट्रम्प र जो बाइडनले स्थानीय समयअनुसार विहीबार राति एकै स्टेजमा उपस्थित भएर प्रत्यक्ष बहस गर्दैछन्।
यो बहसमाथि धेरै कुरा निर्भर छन्। आफैँ कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि दोस्रो बहसको योजना गत साता स्थगित भएकोले ट्रम्पका लागि यो आफ्नो खस्कँदो प्रचार अभियानलाई पुन: जागृत पार्ने अवसर हुनसक्छ। पछिल्ला मत सर्वेक्षणहरूमा उनी बाइडनको पछि परेका छन्।
साथै बाइडनको निम्ति आफ्नो अग्रता कायम राख्ने अवसर हुन सक्छ। उनले कुनै विवादित अभिव्यक्ति दिनबाट वा 'जिब्रो चिप्लने' सम्भावनाबाट आफूलाई जोगाउनु पर्ने कतिपयले ठानेका छन्।
बहसका मुद्दा के के?
बहस टेनिसी राज्यस्थित बेलमन्ट विश्वविद्यालयमा आयोजना गरिँदैछ।
डेढ घण्टा लामो बहसलाई पन्ध्र-पन्ध्र मिनेटका ६ वटा भागमा विभाजन गरिएको छ।
चुनावको १२ दिन पहिले हुन लागेको अन्तिम प्रत्यक्ष बहसमा दुई उम्मेदवारले पहिले नै तय गरिएका निम्न उल्लेखित ६ खास विषयमा केन्द्रीत भइ बहस गर्नेछन्।
- कोभिड १९ विरुद्धको लडाइँ
- अमेरिकी परिवार
- अमेरिकामा जातियता
- जलवायु परिवर्तन
- राष्ट्रिय सुरक्षा
- नेतृत्व
माइक बन्द गर्ने नियम
गत महिना भएको पहिलो बहसमा उम्मेदवारहरूले एक अर्काको निकै कुरा काटेका थिए। खासगरि राष्ट्रपति ट्रम्पले बाइडन बोल्दाबोल्दै पटकपटक हस्तक्षेप गरेका थिए।
पूरै बहस नै चर्काचर्कीमा परिणत भएको थियो।
सोही गल्ती फेरि दोहोरिन नदिन बहसका आयोजकहरूले यसपाली नियममा केही फेरबदल गरिदिएका छन्।
उम्मेदवारहरूलाई हरेक विषयमा दुई मिनेट बोल्न दिइनेछ। यो अवधिमा बोल्न अनुमति प्राप्त उम्मेदवारको माइक मात्र खुल्नेछ। अर्को उम्मेदवारको माइक बन्द गरिनेछ।

तस्बिर स्रोत, Getty Images
स्वास्थ्य सुरक्षाका मापदण्ड पहिलो बहसको बेला जस्तै हुनेछ।
उम्मेदवारहरूले हात मिलाउने छैनन् र सुरक्षित दूरीमा रहनेछन्।
प्रश्नकर्ता प्रस्तोताको दु:ख
पहिलो बहसमा कुन उम्मेदवार प्रस्ट विजेता भए भन्ने प्रश्नको जबाफ नभएपनि प्रश्नकर्ता क्रिस वालेस भने हारेकै ठानियो।
प्रयास गर्दागर्दै पनि यी पुराना पत्रकारले बहसलाई नियन्त्रणमा राख्न सकेनन्। ट्रम्पको निरन्तरको हस्तक्षेप उनले रोक्न सकेनन्।
त्यसैले अन्तिम बहसकी प्रश्नकर्ता प्रस्तोता एनबीसीकी क्रिस्टेन वेकरमाथि अहिले सबैको ध्यान गएको छ।
एउटा पनि प्रश्न सोध्नु अगाडि नै उनी राष्ट्रपति ट्रम्पको निशानामा परिसकेकी छन्।
"उनी खराब र पक्षपाती छन्। अरू फेक न्यूजका पत्रकार जस्तै," ट्रम्पले शनिवार ट्वीट गरेका थिए।




















