तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपालः गत २४ घण्टामा २२ जनाको मृत्यु, थप २,०७१ जना सङ्क्रमित
नेपालमा गत २४ घण्टामा २,०७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २२ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
अहिले फेला परेका सङ्क्रमितमध्ये १,४१६ जना काठमाण्डू उपत्यकाका हुन्।
योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख सात हजार ७५५ पुगेको छ।
चौबीस घण्टाको अवधिमा आइतवार अपराह्णसम्म थप २२ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ।
नेपालमा अहिलेसम्म ६३६ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा १,५५२ जना रोगमुक्त भएका छन्।
गत माघ ९ गते चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।
त्यसको झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघेको छ।
गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।
शनिवार हालसम्मकै सर्वाधिक ५,००८ जनामा सङ्क्रमण पुष्टि भएको थियो। गत शुक्रवार २,०५९ सङ्क्रमित फेला परेका थिए।
गत बिहीवार मन्त्रालयले ४,३६४ सङ्क्रमित फेला परेको र १२ जनाको मृत्यु भएको बताएको थियो।
नेपाल अतिप्रभावित देशमध्ये शीर्ष ५० भित्र परेको जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कले देखाउँछ।
कुल सङ्ख्यामा नेपालले चीनलाई यसअघि नै उछिनिसकेको छ।
कति छन् सक्रिय सङ्क्रमित?
अहिले देशभरि ३१,३१५ नामा सक्रिय सङ्क्रमण छ। तीमध्ये १७,६६६ जना घरमा र बाँकी १३,६४९ जना संस्थागत आइसोलेशनमा भएको प्रवक्ता डा. गौतमले बताए।
वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी छ। तीमध्ये अधिकांश काठमाण्डू उपत्यकाका हुन्।
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा
विगत २४ घण्टामा १२,४२७ वटा नमुनाको परीक्षण भएको जानकारी मन्त्रालयले दिएको छ।
अहिलेसम्म नेपालमा ७५,८०४ जना सङ्क्रमित निको भइसकेका छन्।
को हुन् सङ्क्रमित?
अहिले विभिन्न ६८ जिल्लामा सङ्क्रमितहरू फेला परेका हुन्।
तीमध्ये काठमाण्डू जिल्लामा १,१४५ जना, भक्तपुरमा ११० जना ललितपुरमा १६१ जना गरी उपत्यकामा कुल १,४१६ जनामा सङ्क्रमण देखा परेको छ।
त्यसैगरी बर्दियामा १०४, रूपन्देहीमा ९८ र कैलाली तथा बाग्लुङमा ३६-३६ जनामा पनि कोभिड-१९ पुष्टि भयो।
सङ्क्रमितमध्ये ७०२ जना महिला र १,३६९ जना पुरुष छन्।
को हुन् मृतक?
गत २४ घण्टामा ५ महिला र १७ पुरुषसहित २२ जनाको कोभिड-१९ का कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।
काठमाण्डूमा पाँचजना, चितवनमा चारजना, रूपन्देहीमा तीनजना, भक्तपुर र सुनसरीमा दुई-दुई जना, धनकुटा, सर्लाही, ललितपुर, नुवाकोट, मकवानपुर र सिन्धुपाल्चोकमा एक-एक जनाको मृत्यु भएको हो।
मृतकमध्ये पाँचजना ६० वर्षमुनि र बाँकी ६० वर्षमाथिका रहेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा देखिन्छ।
नेपालमा ०.५८ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।