तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जिम्बाब्वेमा भुइँमा भुँडी धसिएर मरेका हात्तीमा 'फोक्सो र अन्य अङ्ग सुनिने रोग'
जिम्बाब्वेमा ठूलो सङ्ख्यामा जङ्गली हात्तीहरू मृत अवस्थामा भेटिएपछि वन्यजन्तु संरक्षण अधिकारीहरूले त्यसको कारण पत्ता लगाउने प्रयास गरेका छन्।
अगस्ट महिनाको अन्तिमदेखि अहिलेसम्म कम्तीमा ३४ वटा हात्तीको शव भेटिएको छ। अधिकारीहरूले ब्याक्टेरियाका कारण हुने रोगले ती हात्ती मरेको अनुमान गरेका छन्।
मृत हात्तीहरू भुँडीले भुइँ टेकेर बसेको अवस्थामा फेला परेका थिए। विज्ञहरूका अनुसार त्यसले हात्तीको मृत्यु अकस्मात् भएको सङ्केत गर्छ।
सबै हात्तीका दाह्रा शरीरमा यथावत् भएकाले अवैध सिकारीका कारण तिनको मृत्यु भएको शङ्का गरिएको छैन।
केही महिनाअघि बोत्स्वानामा ब्याक्टेरियाबाट उत्पादित विषबाट सयौँ हात्ती मरेका थिए।
जिम्बाब्वेको निकुञ्ज तथा वन्यजन्तु व्यवस्थापन गर्ने निकायले ३४ वटााबाहेक अरू हात्ती पनि मरेको हुनसक्ने आशङ्का व्यक्त गरेको छ।
के भएको हुनसक्छ?
ती भीमकाय जीवका शव ह्वाङ्गे न्याश्नल पार्क र भिक्टोरिया फल्सबीचको क्षेत्रमा फेला परेका थिए।
शव परीक्षणमा केही हात्तीको फोक्सो र अन्य अङ्ग सुनिएको देखिएको थियो।
यो रोगले मात्रै पूरै हात्तीको अस्तित्वमा गम्भीर प्रभाव नपार्ने निकुञ्ज तथा वन्यजन्तु व्यवस्थापन निकायका प्रमुख फुल्टन माङ्वान्याले बताए।
"पश्चिमोत्तर जिम्बाब्वेमा ठूलो सङ्ख्यामा हात्ती छन्। अनि यो रोगको प्रकोपले सम्भवतः गर्मी र सुक्खा याममा हात्तीहरूले पानी र आहाराको स्रोतका लागि प्रतिस्पर्धा गर्नुपर्ने कुरा देखाएको हुनसक्छ," उनले भने।
बोत्स्वानामा के भएको थियो?
केही दिनअघि बोत्स्वानाका अधिकारीहरूले यो वर्षको सुरुतिर सयौँ हात्ती मर्नुको कारण पत्ता लागेको घोषणा गरेका थिए।
उनीहरूका अनुसार पानीमा भएको सायनोब्याक्टेरिया नामक एल्गीले बनाएको विषका कारण ३३० वटा हात्तीको ज्यान गएको थियो।
सायनोब्याक्टेरिया विषालु सूक्ष्मजीव हुन्। ती जमेको पानीमा बस्छन्।
वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण पानीमा विषालु सूक्ष्मजीवको सङ्ख्या बढेको अनुमान गरेका छन्। किनभने तिनले न्यानो पानी मन पराउँछन्।
जिम्बाब्वे र बोत्स्वानामा अफ्रिकामा भएका हात्तीको आधा सङ्ख्या भएको हुनसक्ने विज्ञहरूको भनाइ छ।