मन्त्रिपरिषद्को निर्णय: ‘सिक्कामा नयाँ नक्सा, खतिवडा विशेष सल्लाहकार, एसिड हमलाका पीडितलाई संरक्षण’

मन्त्रिपरिषद्

तस्बिर स्रोत, PMO

Published

मन्त्रिपरिषद्को सोमवार एसिड आक्रमणका पीडितहरूको संरक्षण गर्ने सहितका महत्त्वपूर्ण निर्णयहरू गरेको नेपाल सरकारका नयाँ प्रवक्ताले बताएका छन्।

बैठकले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई मन्त्रीसरह सुविधा प्राप्त गर्ने गरी प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको परराष्ट्रमन्त्री एवम् प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए।

ज्ञवालीका अनुसार सोमवारको मन्त्रिपरिषद् बैठकले गरेका कोरोनाभाइरसको जोखिम व्यवस्थापनसम्बन्धी प्रमुख निर्णयहरू यस्ता छन्:

यातायात, होटल र रेष्टुराँ खुल्ने

  • चैत ११ गतेदेखि बन्द रहेको नेपालको अन्तर्राष्ट्रिय सीमा असोज ३० गतेसम्म जारी रहने छ। भारतसँगको १२ वटा नाका र चीनतर्फ रसुवागढी नाकाबाट नेपालीहरूले प्रवेश पाउने प्रावधान यथावत रहने छ।
  • लामो दूरीका सार्वजनिक यातायातका साधन असोज १ गतेबाट सर्तसहित सञ्चालनमा आउने छ। ती साधनले सीट क्षमताको ५० प्रतिशतमात्रै यात्रु राख्न पाउने, सबै यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने र भाडादर तोकिएभन्दा अधिकतम ५० प्रतिशतसम्म बढी लिन पाउने छन्।
  • आन्तरिक हवाई उडान असोज १ गतेबाट खुल्ला हुने छ। विमानमा पनि सीट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने, मास्क र स्वास्थ्य सावधानी अनिवार्य हुने एवम् भाडादार नागरिक उड्ययन मन्त्रालयले तोक्ने छ।
  • सङ्क्रमणको जोखिम र क्षमता हेरेर नियमित र चार्टर विमानलाई अन्तर्राष्ट्रिय उडानको अनुमति दिन सकिने छ।
  • असोज १ गतेबाट स्वास्थ्य मापदण्ड पूरा गरी होटल, रेस्टुराँ र ट्रेकिङ व्यवसाय सञ्चालन गर्न सकिने छ।

विभिन्न विकास आयोजनामा आवश्यक प्राविधिक जनशक्तिलाई नेपालमा झिकाउन अनुमति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।।

एसिड पीडितलाई संरक्षण गर्न नयाँ कानुन

भदौ २५ गते प्रधानमन्त्रीले एसिड आक्रमणका पीडितसँग गरेको छलफलका आधारमा ऐतिहासिक निर्णय गरिएको पनि परराष्ट्रमन्त्री ज्ञवालीले बताए।

मन्त्रिपरिषद्

तस्बिर स्रोत, PMO

उनका अनुसार नेपाल सरकारले एसिड आक्रमणको कसुर सजाय र सुनवाइसम्बन्धी प्रचलित कानुनलाई संशोधन गर्न र एसिडको उत्पादन, निर्यात, आयात, बिक्रीवितरण र प्रयोगलाई नियमन गर्न नयाँ कानुनको मस्यौदा १५ दिन भित्र बनाउने छ।

त्यस्तै प्रत्येक वर्षको भदौ २५ गते एसिड आक्रमणविरूद्ध जागरण दिवसका रूपमा मनाउने निर्णय पनि गरिएको छ।

एसिड आक्रमणका पीडितलाई तत्कालै नजिकको अस्पतालमा उपचारको व्यवस्था मिलाउने र त्यसको सबै खर्च सरकारले दिने निर्णय गरिएको छ।

साथै त्रिवि शिक्षण अस्पताल, बीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर बर्न अस्पताललाई जिम्मेवार अस्पतालको रूपमा तोक्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

एसिड आक्रमण पीडितलाई उच्च शिक्षासम्म अध्ययन गर्ने व्यवस्था सरकारले मिलाउने र क्षमता विकाससम्बन्धी तालिमका अवसरहरू लिन चाहनेलाई प्राथमिकताका साथ अवसर दिलाइने छ।

साथै उद्योग मन्त्रालयले पीडितलाई रोजगारी दिलाउन नीजि क्षेत्रसँग आवश्यक समन्वय गर्ने एवम् पीडितले उद्योग व्यवसाय सञ्चालन वा कृषि गर्न चाहे सरकारले सहुलियत ऋण उपलब्ध गराउने छ।

सोमवारको मन्त्रिपरिषद्को बैठकले हालै सिन्धुपाल्चोकमा गएको पहिरोका पीडितलाई पनि सहयोग उपलब्ध गराउने निर्णय गरेको मन्त्री ज्ञवालीले जानकारी दिए।

उनले राष्ट्र ब्याङ्कलाई लिम्पियाधुरासम्म समेटिएको नेपालको नयाँ नक्सा सहितको एक र दुई रुपैयाँको सिक्का छाप्न स्वीकृति दिएको पनि बताए।