तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरस: अमेरिकामा 'प्लाज्मा थेरापी' उपचारलाई अनुमति
अमेरिकाको खाद्य तथा औषधि प्रशासनसम्बन्धी नियामक निकाय एफडिएले कोरोनाभाइरसबाट निको भएकाहरूको रगतको प्लाज्मा तत्व अन्य बिरामीका लागि प्रयोग गर्न आकस्मिक अनुमति दिएको छ।
निको भएकाहरूको रगतको प्लाज्मामा भाइरस विरुद्ध बनेका एन्टीबडीलाई अरू बिरामीमा प्रयोग गरिने यो विधि हजारौँ मानिसमा प्रयोग गरिसकिएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एफडिएले प्लाज्मा थेरापीको प्रयोगलाई अनुमति दिएको समाचार सुनाएका थिए।
प्लाज्मा दान गर्न अपिल
उक्त घोषणा गर्दै राष्ट्रपति ट्रम्पले यो विधिको प्रयोगमार्फत् कोरोनाभाइरसबाट हुने मृत्यु ३५ प्रतिशत कम हुने बताएका छन्।
साथै उनले कोरोनाभाइरस सङ्क्रमणबाट निको भएकाहरूलाई प्लाज्मा दानको निम्ति आ-आफ्नो नाम दर्ता गर्न अपिल गरेका छन्।
ट्रम्पले कोरोनाभाइरस विरुद्धको खोप पनि चाँडै बन्ने विश्वास व्यक्त गरे।
कोरोनाभाइरस विरुद्धको लडाइँमा कुनै नतिजा निकाल्न ट्रम्पमाथि बढ्दो दबाब छ।
कोरोनाभाइरसबाट अमेरिकामा ५६ लाख मानिस सङ्क्रमित छन् भने एक लाख ७६ हजार मानिसको ज्यान गइसकेको छ।
सतर्कता जरुरी
बीबीसी संवाददाता पीटर बोजका अनुसार एफडिएले दिएको प्रारम्भिक विवरण बमोजिम कोरोनाभाइरस सङ्क्रमितहरूमा सुरुकै अवस्थामा प्लाज्मा थेरापीको प्रयोग गर्दा एक महिनापश्चात् उनीहरू बाँच्ने सम्भावना ३५ प्रतिशतले बढेको पाइएको छ।
प्रारम्भिक परीक्षणमा यो उपचार विधि सुरक्षित भएको पाइएको एफडिएले जनाएको छ।
तर यसको यथार्थ प्रभावकारिता थप क्लिनिकल ट्रायलपश्चात् मात्र यकीन गर्न सकिने वैज्ञानिकहरूले बताएका छन्।
स्वतन्त्र वैज्ञानिकहरूले यसलाई ठूलै उपलब्धि मानिहाल्न हतारो गर्न नहुने बताएका छन्।
कतिपय बिरामीमा यो विधिको खराब असर हुनसक्ने सम्भावना अहिले नै नकार्न नसकिने कैयन् वैज्ञानिकको भनाइ छ।
अमेरिकामा करिब ७० हजार बिरामीमा यसको प्रयोग भएको बताइन्छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ