तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस दक्षिण कोरियाः सङ्क्रमितको सङ्ख्या बढेकोबढ्यै, थप प्रतिबन्ध लागु
दक्षिण कोरियामा कोरोनाभाइरस सङ्क्रमण थप फैलिने सक्ने देखिएपछि देशभरि प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिएको छ।
स्वास्थ्य अधिकारीहरूले परिस्थिति अझै बिग्रिन सक्ने चेतावनी दिएका छन्।
अबदेखि देशमा धार्मिक समारोहसहित ठूला भेलाहरू गर्न प्रतिबन्ध लागेको छ।
नाईटक्लब, कारीओकी बार, इन्टर्नेट क्याफे र समुद्री तटहरू पनि बन्द भएका छन्।
यसअघि यस्ता उपायहरू राजधानीमा मात्र अवलम्बन गरिएको थियो।
सङ्ख्या बढेकोबढ्यै
तर नयाँ सङ्क्रमितहरू फेला पर्न नछोडेपछि देशका अरू भागमा पनि प्रतिबन्धात्मक उपायहरू लागु गरिएको हो।
सरकारले शनिवार मध्यरातिसम्म ३९७ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरेको छ।
यो मार्च महिनायताकै सर्वाधिक दैनिक वृद्धि हो।
एक सातादेखि दैनिक १०० जनाभन्दा बढी सङ्क्रमितहरू फेला परिरहेका छन्।
तीमध्ये अधिकांश व्यक्ति बृहत्तर सोल क्षेत्रका हुन्।
अहिलेसम्म दक्षिण कोरियामा १७,३९९ जनामा कोभिड-१९ पुष्टि भएको जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कमा देखिन्छ।
तीमध्ये ३०९ जनाको मृत्यु भएको छ।
पहिला नियन्त्रण
दक्षिण कोरिया केही समय कोरोनाभाइरस सङ्क्रमण अत्यासलाग्दो रूपमा फैलिएको थियो। चीनपछि त्यहाँ कोभिड-१९ भएका मानिसको सङ्ख्या सर्वाधिक थियो।
तर व्यापक परीक्षण, सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका अन्य मानिसको पहिचान र व्यक्तिगत दूरीजस्ता उपाय अवलम्बन गरेर सरकारले महामारीलाई नियन्त्रणमा ल्यायो।
त्यही बेला एप्रिल महिनामा देशमा निर्वाचन सम्पन्न भएको थियो।
उक्त निर्वाचनमा राष्ट्रपति मुन जे-इनको दल विजयी भयो। त्यसलाई कोरोनाभाइरस महामारी नियन्त्रण गर्न सरकारले गरेको कामको अनुमोदनका रूपमा हेरिएको थियो।