तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस दक्षिण कोरियाः एउटा गिर्जाघरसँग सम्बन्धित धेरै व्यक्तिमा सङ्क्रमण देखिएपछि उच्च सतर्कता
दक्षिण कोरियामा आइतवार एकै दिन कोरोनाभाइरस सङ्क्रमण भएका २७९ मानिस फेला परेक। पाँच महिनायता दैनिक वृद्धि भएको यो सर्वाधिक सङ्ख्या हो।
तीमध्ये धेरै सङ्क्रमित साराङ जेइल गिर्जाघरसँग सम्बन्धित छन्। त्यहाँका पादरीलाई राष्ट्रपति मुन जे-इनका प्रखर आलोचक मानिन्छ।
यो वर्षको सुरुतिर शिन्जेओन्जी नामक अर्को गिर्जाघर कोरोनाभाइरसको सबैभन्दा ठूलो क्लस्टरका रूपमा देखा परेको थियो।
उक्त विवादास्पद समूहसँग ५,२०० सङ्क्रमितहरूको सम्बन्ध रहेको बताइन्छ।
यो प्रकोपबारे हामीलाई के थाहा छ?
आइतवार दक्षिण कोरियामा कोभिड-१९ भएका २७९ जना फेला परे। गत मार्च महिनापछि सङ्क्रमितहरूको सङ्ख्या २०० नाघेको पहिलो पटक हो।
सोमवार १९७ सङ्क्रमित थपिए। नयाँ सङ्क्रमितहरूको सङ्ख्या लगातार चौथो दिन १०० भन्दा माथि रहेको छ।
यो वृद्धिसँगै दक्षिण कोरियामा सङ्क्रमितहरूको सङ्ख्या १५,५१५ पुगेको छ।
सङ्क्रमण भएका कम्तीमा ३१२ व्यक्ति साराङ जेइल गिर्जाघरसँग सम्बन्धित भएको सोल महानगरले योन्हाप न्यूजलेलाई बताएको छ।
"उक्त गिर्जाघर जाने ४,००० जनामध्ये ३,४०० जनालाई क्वारन्टीनमा राखिएको छ र २,००० जनाभन्दा बढीको परीक्षण गरिएको छ," उपस्वास्थ्यमन्त्री किम गाङ्लिपले योन्हापलाई बताए।
तीमध्ये ३१२ अर्थात् १६.१ प्रतिशत व्यक्तिमा कोरोनाभाइरस देखिएको छ।
किमले गिर्जाघरको सदस्यता सूची "त्रुटिपूर्ण" रहेको बताउँदै "सबै सदस्यको पहिचान गर्न गाह्रो भएको" बताएका थिए।
यससँगै गिर्जाघरका प्रमुख धर्मगुरु जुन क्वाङ-हूनलाई पक्राउ गरिनुपर्ने भन्दै दुई लाखभन्दा बढी मानिसले अनलाइन याचिकामा हस्ताक्षर गरेका छन्।
सिन्चेओन्जी गिर्जाघरका गुरु ली मान-हीलाई गत महिना पक्राउ गरिएको थियो। उनीमाथि आफ्नो समूहका सदस्यहरू बारे सूचना लुकाएको आरोप छ।
साराङ जेइल गिर्जाघरबारे हामीलाई के थाहा छ?
सोलस्थित गिर्जाघरबारे धेरै कुरा थाहा नभए पनि त्यसका प्रमुख धर्मगुरु जुन क्वाङ-हुन भने परिचित छन्।
त्रिसट्ठी वर्षीय जुन सरकारका कटु आलोचक हुन् र उनले सोलमा कैयौँ सरकार विरोधी र्यालीको नेतृत्व गरेको बताइएको छ।
सप्ताहान्तमा घरमै आइसोलेशन बस्ने नियम उल्लङ्घन गर्दै उनी एउटा र्यालीमा सहभागी भएका थिए।
राष्ट्रपति मुनले त्यो र्यालीमा सहभागी भएका गिर्जाघरका सदस्यहरूलाई लक्षित गर्दै उनीहरू "सर्वसाधारणहरूको ज्यानमा खतरा पार्ने अक्षम्य कार्यमा संलग्न" भएको बताएका छन्।
कोरियन हेराल्डका अनुसार केही समयअघि उनले एउटा र्यालीमा आफ्ना अनुयायीहरूलाई "रोगबाट मर्नु देशभक्ति रहेको" र "रोगबाट पीडित र्यालीमा सहभागी भए निको हुने" बताएको सुनिएको थियो।
यसै वर्ष उनले राष्ट्रपति मुनलाई उत्तर कोरियाका जासुस भनेपछि मानहानिको मुद्दा लगाइएको थियो।
आइतवार सोलको स्थानीय सरकारले स्वक्वारन्टक्षनको नियम उल्लङ्घन गरेको र भाइरस नियन्त्रणको प्रयासमा बाधा पुर्याएको भन्दै जुनलाई कारबाही गर्ने बताएको थियो।