कोरोना भाइरस नेपालः कोभिड-१९ बाट थप ९ जनाको मृत्यु, ६३४ नयाँ सङ्क्रमित थपिए

तस्बिर स्रोत, Getty Images
नेपालमा विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट थप नौ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ।
यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १४६ पुगेको छ।
मृत्यु हुनेमा सुनसरीकी एक ६ वर्षीया बालिका र त्यहीका ६७ वर्षीय पुरुष, पर्साका तीन पुरुष (४८, ५८ र ६१ वर्षीय), बाराका एक ५८ वर्षीय पुरुष, सिराहाका एक ६८ वर्षीय पुरुष, मकवानपुरका एक ५६ वर्षीय पुरुष र भक्तपुरका एक ७३ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ।
विगत २४ घण्टामा ६३४ जना नयाँ सङ्क्रमित फेला परेको र कुल सङ्क्रमितहरूको सङ्ख्या ३१, ११७ पुगेको छ।
अहिले देशभरि १२,६२१ जनामा सक्रिय सङ्क्रमण रहेको जानकारी शनिवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए।
अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।
सक्रिय सङ्क्रमितमध्ये १२ जना सघन उपचार कक्षमा रहेको र ती सबै वाग्मती प्रदेशको भएको मन्त्रालयले जनाएको छ।
को हुन् सङ्क्रमित?
सङ्क्रमितहरू काठमाण्डूका १६० जना, पर्सामा ५९, मोरङमा ५२ सिरहामा ३५ मकवानपुरमा ३२, बाँकेमा २८ र चितवनमा २७ जना रहेका छन्।
ललितपुरका ६ र भक्तपुरका ५० गरी काठमाण्डू उपत्यकामा २१६ जना सङ्क्रमित थपिएका छन्।
के छ अरू तथ्याङ्क?
विगत २४ घण्टामा १२,५१९ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।
सोही अवधिमा १३६ जना भाइरसमुक्त प्रमाणित भए।
मन्त्रालयका अनुसार अहिलेसम्म १८,३५० सङ्क्रमित निको भएका छन्। निको हुने सङ्क्रमितको सङ्ख्या ५९ प्रतिशत छ।

देशभरि क्वारन्टीनमा ११,६५८ जना छन्।
अहिले मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाण्डूमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
तर भोजपुर, मनाङ, मुस्ताङ, र हुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा





















