तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपाल: काठमाण्डू उपत्यकामा बुधवार मध्यरातबाट के-केमा रोक
कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक हजार नाघेको दिन सरकारले काठमाण्डू उपत्यकामा व्यापार व्यवसायलगायत मानिसको भीडभाड हुने जुनसुकै गतिविधि निषेध गर्ने निर्णय गरेको छ।
काठमाण्डू, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले बुधवार मध्यरात १२ बजेबाट एक साताका लागि उक्त निर्णय गरेको हो।
“सङ्क्रमितको सङ्ख्या बढ्दै गएका बेला मानिसको भीडभाड रोक्न आवश्यक दखिएकोले यस्तो निर्णय गर्नुपरेको हो,” ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बीबीसीलाई बताए।
सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै पुष्टि भएको र अवस्था बिग्रँदै गएको भन्दै एक साताको लागि विभिन्न क्षेत्रमाथि पुन: निषेध गरेर सङ्क्रमणको रोकथाम तथा नियन्त्रण गर्नुपर्ने देखिएको भट्टको भनाइ छ।
निषेध गरिएको अवधिमा औषधि, खाद्यान्नजस्ता अत्यावश्यकीय वस्तुको खरिदका लागि बाहेक घरबाहिर निस्कन नपाइने तीनवटै जिल्ला प्रशासन कार्यालयले वेबसाइटमा राखेको आदेशमा उल्लेख गरिएको छ।
सवारी साधन प्रवेशमा रोक
अत्यावश्यकीय सेवामा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षा निकाय र अत्यावश्यकीय सामग्रीको ढुवानीबाहेक सवारी सञ्चालनमा पनि रोक लगाइएको छ।
त्यसबाहेक अहिले सञ्चालनमा रहँदै आएका सबै खालका उद्योग, व्यवसाय, पसल, रेस्टुरेन्टहरू पनि बन्द हुनेछन् भने बैंकहरूले न्यूनतम कर्मचारीमार्फत् स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेरमात्रै सेवा दिन पाउनेछन्।
तीनवटै जिल्लामा अत्यावश्यक सामग्री ढुवानी गर्ने बाहेक कुनै सवारी साधन प्रवेश गर्न नपाउने आदेशमा उल्लेख छ।
त्यसबाहेक तीनवटै जिल्लामा कुनै पनि निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन पनि चलाउन पाइने छैन।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भनिन्, "सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि रोकथाम र नियन्त्रण झन् जटिल बन्दै जाने देखिएकाले हामीले यस्तो निर्णय गरेका हौँ।"
मङ्गलवार एकै दिन एक हजार जनाभन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने सातजनाको मृत्यु भएको छ। यो एकैदिन सङ्क्रमित पुष्टि भएको अहिलेसम्मकै उच्चतम सङ्ख्या हो।
ती मध्ये २०५ जना काठमाण्डू उपत्यकाका छन्। अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या नेपालमा २८ हजार नाघिसकेको छ भने ज्यान गुमाउनेको सङ्ख्या ११४ पुगेको छ।
कतिपयले भने परीक्षणको दर बढेसँगै सङ्क्रमितको सङ्ख्या पनि बढेको बताउने गरेका छन्।
सरकारले कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि भन्दै गत वर्ष चैत ११ गतेबाट लकडाउन गरेको थियो। करिब चार महिनासम्म लकडाउन गरेपछि सरकारले असार दोस्रो साता लकडाउन खुला गरेको थियो।
सङ्क्रमित धेरै देखिएका तराईका धेरैजसो जिल्लाहरूमा पनि निषेधाज्ञा जारी गरिएको छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा