कोरोना भाइरस नेपालः थप ११६ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण, एक जनाको मृत्यु

Published

नेपालमा बुधवार थप ११६ व्यक्तिमा सङ्क्रमण र एक जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँगै बुधवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १७,१७७ पुगेको छ।

तीमध्ये ११,०२५ जना अर्थात् ६४.२ प्रतिशत सङ्क्रमितहरू भाइरसमुक्त भएर घर फर्किएको र ३९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

विगत २४ घण्टामा ६९७ जना निको भएर घर फर्किएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका छन्।

अहिले देशभरि ६,११३ सक्रिय सङ्क्रमित भएको उनले बताए।

गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो।

त्यसपछि सङ्क्रमण पुष्टि हुने मानिसको सङ्ख्या घटिरहेको छ।

मृतक को हुन्?

रौतहटका परोहा नगरपालिकाका ३६ वर्षीय पुरुषको बुधवार दिउँसो निधन भएको डा. गौतमले बताए।

मृतकका परिवारका सदस्य कोभिड-१९ बाट मृत्यु भएको आफन्तको अन्तिम संस्कारका लागि भारत भ्रमण गरेको बताइएको छ।

उनी असार २४ गते नेपाल फर्की क्वारन्टीनमा बसेको र असार २९ गते ज्वरो आई श्वासप्रश्वासमा समस्या आएपछि उनलाई नारायणी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो।

उनलाई बुधवार बिहानदेखि भेन्टीलेटरमा राखेर उपचार थालिएको थियो।

को हुन् सङ्क्रमित?

अहिले पुष्टि भएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्।

प्रदेश नं १ मा ३, प्रदेश नं २ मा २४, वाग्मती प्रदेशमा १८, गण्डकी प्रदेशमा २७, प्रदेश नं ५ मा १, कर्णाली प्रदेशमा ४० र सुदूरपश्चिम प्रदेशमा ३ सङ्क्रमित फेला परेका हुन्।

अरू तथ्याङ्क के छ?

विगत २४ घण्टामा पीसीआर विधिबाट ५,०९० वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।

अहिले देशभरिका क्वारन्टीनमा मानिसको सङ्ख्या घटेर २४,५२७ पुगेको छ। तीमध्ये सुदूरपश्चिममा सर्वाधिक छन्।

अधिकांश सङ्क्रमितहरू भारतबाट आई क्वारन्टीनमा बसेका वा तिनको संसर्गमा आएका व्यक्ति हुन्।

अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, ५ र कर्णाली प्रदेशमा सर्वाधिक सङ्ख्यामा मानिसहरू सङ्क्रमित भएका छन्।

सुदूरपश्चिम प्रदेशमा उल्लेख्य सङ्ख्यामा सङ्क्रमण बढिरहेको छ।