तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपालः थप २३२ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण, दुई जनाको मृत्यु
नेपालमा शनिवार थप २३२ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मृत्यु हुनेहरूमा गोर्खाका ४४ वर्षीय पुरुष र रुपन्देहीका ७५ वर्षीय पुरुष रहेका छन्।
योसँगै नेपालमा सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या १५,४९१ पुगेको छ।
तीमध्ये ६,४१५ जना निको भएका र ३४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २७२ सङ्क्रमित भाइरसमुक्त भएर घर फर्किएका छन्।
मन्त्रालयका अनुसार यसअघि शुक्रवार एकै दिन सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो।
मृतक को-को हुन्?
कतारबाट असार १७ गते नेपाल फर्केका गोर्खाको पालुङ्टार नगरपालिकाका ४४ वर्षीय पुरुषको गोर्खा अस्पतालको आइसोलेशनमा शनिवार बिहान ५ बजे मृत्यु भएको हो।
उनी फर्केपछि क्वारन्टीनमा बसेका र १८ गतेको परीक्षणमा सङ्क्रमित देखिएपछि आइसोलेशनमा रहेको डा. गौतमले बताए।
उनी दीर्घरोगी रहेको पनि डा. गौतमले जानकारी दिए।
त्यस्तै रुपन्देही जिल्लाको देवदह नगरपालिकाका ७५ वर्षीय पुरुषको त्रिविवि शिक्षण अस्पतालमा मृत्युपछि कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
असार १४ गते शिक्षण अस्पतालमा भर्ना भएका क्षयरोगीको असार १७ गते मृत्यु भएको डा. गौतमले बताए।
के छ अरू तथ्याङ्क?
अहिले सबै ७७ वटा जिल्लामा कोभिड-१९ पुगिसकेको छ।
गएको २४ घण्टामा ४,०५० जनाको पीसीआर परीक्षण गरिएको र कुल परीक्षण सङ्ख्या दुई लाख ४६ हजार दुई सय ९७ पुगेको डा. गौतमले जानकारी दिए।
आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या ९,०४२ छ।
विभिन्न जिल्लामा ३३,१२५ व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।
क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा