अङ्गुरबाबा जोशी: राणाकालमा जन्मेर पनि शिक्षित र सक्रिय जीवन बिताएकी अग्रणी महिला

तस्बिर स्रोत, RJoshi
नेपालको शिक्षा, राजनीति, पर्यटन र समाजसेवा क्षेत्रमा योगदान पुर्याएकी कुनैबेला अत्यन्त चर्चित अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा असार ६ गते निधन भयो।
उनले नेपाली समाजको त्यो कालखण्डमा अनेकौँ त्यस्ता काम गरिन्, जुन त्यसबेला सर्वसाधारण अन्य महिलाका लागि अकल्पनीय थियो।
उनको बाल्यकाल र बिहेको समय राणाशासनको अन्तिम दुई दशकको समय थियो।
त्यसबेला सर्वसाधारण महिला त के पुरुषले समेत बिरलै पढ्न पाउँथे।
अवसरको उपयोग
नेपालका नारीहरू चुलोचौकामा सीमित रहने कालखण्डमा उनले भने पढ्ने अवसर पाइन्।
आफूले पाएको अवसर खेर जान दिइनन् र डटेर उपयोग गरिन्।
जहानियाँ राणा शासन विरोधी सुरुवाती चरणको आन्दोलन चर्किएका बेला उनको ११ वर्षमा १२ वर्षका केटा बलराम जोशीसँग बिहे भयो ।

तस्बिर स्रोत, AB Joshi Facebook
सासु चन्द्रकुमारी जोशीको प्रोत्साहनमा दुलाहासँगै थप शिक्षा पाएका सन्दर्भ उनी स्वयंले बारम्बार सार्वजनिक वृत्तमा राखेकी थिइन्।
एसएलसीपछि अङ्गुरबाबा खासमा विज्ञान पढ्न चाहन्थिन् तर महिला भएकैले उनलाई भर्ना लिइएन, उनले प्राइभेट अन्तर्गत आइए पास गरिन्।
सासु चन्द्रकुमारीले बुहारी अङ्गुरबाबालाई आइए पास गरेपछि पढ्न छोरासँगै बनारस पठाइदिइन्।
बनारसबाट फर्केपछि श्रीमान् कोलम्बो प्लान अन्तर्गत बेलायत पढ्न जाने अवसर खोज्दा अङ्गुरबाबाले पनि त्यसै गर्न चाहिन्।
केटी मान्छे भएकाले रोकिनुपर्ने नियती चिर्दै दरबारमा राजा महेन्द्रसँग विन्ती बिसाइन् र श्रीमानसँगै ब्रिटेन पुगिन्।
पहिलो क्याम्पस प्रमुख महिला
अनि नामी अक्सफोर्ड विश्वविद्यालयमा कानून पढेर स्वदेश फर्किन्।
ब्रिटेनबाट फर्केर आएपछि पद्मकन्या कलेजमा केही समय अध्यापन गरिन्।
पछि त्यही कलेजको प्रिन्सिपल बनिन्।
भर्खर राणाशासन समाप्त भएर सर्वसाधारण महिला पनि कलेज जान थालेको त्यस समयमा उनले आफूभन्दा १२/१३ वर्ष मात्र कम उमेरका युवतीहरूको नेतृत्व गरिन्।
उनका विद्यार्थीमध्ये एक पछि बडामहारानी बन्न पुगेकी ऐश्वर्य शाह पनि थिइन्।

तस्बिर स्रोत, Rjoshi
एकपछि अर्को नियुक्ति
सक्रिय राजतन्त्र रहेको मुलुकमा क्रमश: उनी दरबारले गर्ने एकपछि अर्को नियुक्ति पाउँदै गइन्।
उनी २०१९ सालमा राजा महेन्द्रद्वारा गठित चार सदस्यीय संविधान मस्यौदा समितिकी सदस्य बनिन्।
जननिर्वाचित दुईतिहाइ बहुमतप्राप्त बीपी कोइरालाको सरकार अपदस्थ गरेर देशको शासनव्यवस्था आफ्नो हातमा लिएका महेन्द्रले बनाएको संविधान मस्यौदा समितिकी सदस्य बन्न उनीसँग अक्सफोर्ड विश्वविद्यालयको कानुनमा स्नातकोत्तर उपाधि छँदै थियो।
कमै महिला मात्र शिक्षित वा साक्षर हुने त्यसबेला शिक्षाको बलियो मेरुदण्ड साथ भएकी अङ्गुरबाबालाई समितिमा राख्नु राजा महेन्द्रका लागि पक्कै फाइदाजनक थियो।
राजा वीरेन्द्रले उनलाई राष्ट्रिय पञ्चायत सदस्यमा नियुक्त गरे। सांसद बनेपछि उनले अध्यापन छोडिन्।
पञ्चायतकालीन महिला सङ्गठनमा सक्रिय रहिन्। त्रिभुवन विश्वविद्यालय सञ्चालक समिति र प्राज्ञिक परिषद्को सदस्य बनिन्।
बहुदलपछि राजनीतिबाट टाढा
२०४६ सालमा देशमा बहुदल आएपछि राजनीतिबाट टाढै रहिन्।
उनको योगदान तीस वर्षे सक्रिय राजतन्त्रकाल अर्थात् पञ्चायतकालमा उर्बर रहेकाले २०४६ साल यताको बहुदलीय परिप्रेक्षमा शिक्षा र राजनीतिक सक्रियता इतिहासकै रूपमा कायम रह्यो।
देशमा बहुदल आएपछि उनको सक्रियता सामाजिक र अध्यात्मतर्फ ढल्कियो।
उनको अध्यात्म कतिपय हिन्दू गुरुहरूले राख्ने धारणाभन्दा फरक पाइन्छ।

तस्बिर स्रोत, AB Joshi Facebook
परम्परावादलाई काट्ने धार
महिला भएकैले वर्जित भनिएका वेद लगायतका ग्रन्थहरू अध्ययन गरेर परम्परावादलाई काट्न सक्ने धार आफूसँग रहेको प्रमाणित गरिन्।
त्यस्तै धारको अर्को उदाहरण मानिन्छ उनले ब्राम्हण, क्षेत्री बाहेक दलित र अन्य समुदायले समेत वेद पढ्न पाउन् भनेर खोलेको गार्गी कन्या गुरुकुल।
उनीसँग सङ्गत गरेका मानिसहरू उनको बलियो व्यक्तित्व र सकारात्मक सोचको संस्मरण गर्छन्।
तिनैमध्येकी एक हुन् हाल पद्मकन्या क्याम्पसमा प्राध्यापन गर्ने ज्ञानू पाण्डे।
उनी सम्झिन्छिन्, "उहाँको श्रीमान्को अहिलेको चेन्नई त्यसबेलाको मद्रासमा निधन भएपछि उतै दाहसंस्कारगरेर उहाँहरू फर्कनुभएको थियो।"
"हामी मनमा गाँठो पारेर अँध्यारो अनुहार लगाएर उहाँकहाँ पुग्यौँ, उहाँ त मेरा श्रीमान्कोबल्ल वास्तविक जन्म भयो भनेर आध्यात्मिक चेतका साथ आफूलाई परेको मारबाट अरूलाई सहज बनाउन खोज्दै हुनुहुन्थ्यो।"




















