कोरोना भाइरस फ्रान्सः तीन महिनापछि आईफल टावर खुल्यो

तस्बिर स्रोत, Getty Images
फ्रान्समा दोस्रो विश्वयुद्धपछि सर्वाधिक समय बन्द भएको आईफल टावर फेरि खुलेको छ।
कोरोनाभाइरस लकडाउनका कारण उक्त विश्वप्रसिद्ध स्थान तीन महिनाभन्दा अघि बन्द गरिएको थियो।
अहिले प्यारिसस्थित उक्त स्थान सीमित रूपमा सञ्चालनमा ल्याइएको छ।
त्यहाँ सीमित सङ्ख्यामा मात्र आगन्तुकलाई प्रवेश दिइनेछ भने ११ वर्षमाथिका सबैले अनिवार्य रूपमा मास्क लगाउनुपर्नेछ।
दोस्रो तलाभन्दा माथि कर्मचारीबाहेक अरूले प्रवेश पाउनेछैनन्।
जुलाई १ सम्म लिफ्ट नचलाइने भएकाले सबैले सिँढी प्रयोग गर्नुपर्नेछ।
सन् १८८९ मा निर्माण सम्पन्न भएको उक्त टावरमा प्रत्येक वर्ष ७० लाखभन्दा बढी मानिस जान्छन्।
तीमध्ये तीनचौथाइ व्यक्ति विदेश पर्यटक हुने आईफल टावरको आधिकारिक वेबसाइटमा उल्लेख छ।
सङ्क्रमणको स्थिति के छ?
फ्रान्स कोरोनाभाइरस महामारीबाट सर्वाधिक प्रभावित देशमध्ये एघारौँ स्थानमा छ।
फ्रान्समा जुन १५ मा राष्ट्रपतिले कोरोनाभाइरस लकडाउनका बेला लगाइएका केही प्रतिबन्धहरू खुकुलो बनाउने घोषणा गरेका थिए।
अहिले त्यहाँ क्याफे र रेस्टुराँहरू खुलेका छन् भने युरोपभित्र यात्रा गर्न पाइन्छ।
फ्रान्समा अहिलेसम्म झन्डै दुई लाख जानमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये २९,७०० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको तथ्याङ्क जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको छ।
विश्वभरि ९४ लाखभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये झन्डै चार लाख ९३ हजार जनाको मृत्यु भएको जोन्स हप्किन्स यूनिभर्सिटीले जनाएको छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ






















