कोरोना भाइरस: सात सय मानिस क्वारन्टीनमा रहेको रुसी अस्पतालमा सबैजसोमा सङ्क्रमण

हस्पिटल

तस्बिर स्रोत, Denis Korolev

    • Author, एना पुस्कार्स्काया
    • Role, बीबीसी न्यूज रसियन, सेन्ट पिटर्सबर्ग
  • Published

एप्रिल महिनाको सुरुमा, सेन्ट पिटर्सबर्गस्थित हाडजोर्नीसम्बन्धी अस्पतालमा एकजन बिरामीमा निमोनिया देखियो। जब उनमा कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भयो त्यसपछि भ्रेडन अस्पताल बन्द गरियो र क्वारन्टीन बनाउन निर्देशन दिइयो।

उक्त निर्देशनपछि पाँच साताका लागि ७०० भन्दा बढी अस्पतालमा कार्यरत व्यक्तिहरू र बिरामीहरूलाई त्यहीँ बन्द गरेर राखियो।

भ्रेडन अस्पतालको अवस्था धेरै तरिकाले "डाइमन्ड प्रिन्सेस" क्रूज पानीजहाजको जस्तै थियो, जुन पानीजहाजलाई कोभिड-१९ को महामारी सुरुमा देखिएका बेला जापानको तटनजिकै रोकेर राखिएको थियो।

उक्त पानीजहाजमा ७०० भन्दा बढी मानिसमा सङ्क्रमण फैलिएको थियो र नौ जनाको मृत्यु भएको थियो, जसमा चालक दलका सदस्य र यात्रुहरू रहेका थिए।

रुसी अस्पतालभित्र राखिएका थुप्रै मानिस पनि सङ्क्रमित भएका थिए।

खबरहरूका अनुसार मेडिकल कर्मचारीका कम्तीमा दुईजना सदस्य र दुईजना बिरामीको मृत्यु भएको थियो।

सेन्ट पिटर्सबर्गका अधिकारीहरूले आधिकारिक तथ्याङ्क भने सार्वजनिक गरेका छैनन्।

यसअघि कहिल्यै नभएको उक्त घटनाबारे, केही सीमित बिरामीहरू र कर्मचारीले क्वारन्टीन स्थल बनाइएको अस्पतालमा रहँदाको कटु अनुभव सामाजिक सञ्जालमा राखेका थिए।

बीबीसी न्यूज रसियनले त्यस्तै अनुभव शेअर गरेका दुई बिरामीसँग कुराकानी गरेको छ।

भ्रेडन इन्स्टिच्युटको चित्र
तस्बिरको क्याप्शन, भ्रेडन इन्स्टिच्युट रुसकै पुरानो अस्पतालमध्येको एक हो

हाडजोर्नी र दुर्घटना वा कुनै हिंसामा घाइते भएकाहरूको उपचारका लागि भ्रेडन इन्स्टिच्युट राष्ट्रिय केन्द्र हो।

सन् १९०६ मा स्थापना भएको उक्त अस्पताल रुसकै पुरानो मध्येको एक हो।

देशभरिबाट बिरामीहरूलाई उपचारका लागि डाक्टरहरूले रिफर गरेर यहाँ पठाउँछन्।

यहाँका प्रसिद्ध विशेषज्ञलाई देखाउनका लागि मानिसहरू महिनौँ वा वर्षौँ पालो कुर्छन्।

यो अस्पतालमा पहिलो कोरोनाभाइरसको सङ्क्रमण देखिँदा नै रुसमा विदेशी यात्रुमाथि आगमनमा प्रतिबन्ध लगाइसकिएको थियो र यहाँका मानिसहरू पनि भाइरस विस्तारै फैलिन सक्नेबारे सचेत बनिसकेका थिए।

"कोही एकजनाले खोक्न थालेको छ भनेर हामीलाई भनिएको थियो, तर कोभिड-१९ भन्ने त्यतिबेलासम्म पुष्टि भएको थिएन। हामीलाई जे भए पनि मुखमा मास्क लगाउन भनिएको थियो," सेन्ट पिटर्सबर्गकी एक स्थानीय बासिन्दा तथा अस्पतालमा उपचार गराइरहेकी बिरामी इरिनाले भनिन्।

"त्यतिबेला अस्पतालको औषधि पसलमा मास्कहरू थिएनन्, त्यसैले हामीले पट्टीहरूबाट मास्क बनायौं," बीबीसीसँग उनले भनिन्।

पट्टीले बनाएको मास्क

तस्बिर स्रोत, IRINA YEFREMOVA

तस्बिरको क्याप्शन, भ्रेडन अस्पतालमा क्वारन्टीनमा रहेका बेला इरिना र अन्य बिरामीहरूले घाउमा बाँध्ने पट्टीबाट आफैँ मास्क बनाएका थिए

अर्की बिरामी नदेज्दा उत्तरपश्चिम रुसस्थित एउटा नगरबाट एप्रिल ७ मा भ्रेडन इन्स्टिच्युटमा आइपुगेकी थिइन्।

उनले अस्पतालका एकजना विशेषज्ञ डाक्टरलाई देखाउन दुई वर्षदेखि पालो कुरिरहेकी थिइन्।

उनी अस्पताल आएपछि भर्ना त भइन् तर जे समस्या लिएर उपचारका लागि आएकी थिइन् त्यो सुरु हुनै पाएन।

तीन सातापछि उनले सामाजिक सञ्जालमा लेखिन्: "कस्तो डरलाग्दो अवस्था! यहाँ आउँदा म स्वस्थ थिएँ, तर अब छैन! केही एकदमै गम्भीर रोग भएका बिरामीलाई अरू अस्पतालहरूमा सारिएको छ। केहीले ज्यान गुमाइसके।"

क्वारन्टीनका लागि तयारी

भ्रेडन अस्पतालले आफ्नो ढोका बाहिरी दुनियाँका लागि बन्द गरेको दिन एप्रिल ९ तारिखमा, अस्पताल परिसरमा ४७४ बिरामीहरू र २३९ कर्मचारीहरू थिए।

अस्पतालका कार्यवाहक निर्देशकका अनुसार सङ्क्रमण फैलिन नदिन अस्पतालका गतिविधि स्थगित गर्ने र पूरै अस्पताल नै बन्द गर्ने निर्णय सेन्ट पिटर्सबर्गका प्रमुख मेडिकल अधिकृतको हो।

त्यतिबेला कोरोनाभाइरसको परीक्षण द्रुत गतिबाट गर्ने क्षमता अस्पतालमा थिएन जसले सङ्क्रमित व्यक्तिलाई अलग्गै राखेर उपचार गर्न सकिन्थ्यो।

अस्पतालको करिडोरको चित्र

तस्बिर स्रोत, Denis Korolev

एप्रिल ८ तारिखमा, अस्पतालका डाक्टर र नर्सहरूलाई अस्पताल बन्द गर्ने तयारीका लागि घर जान र भोलिपल्ट फर्किन भनिएको थियो।

एकजना डाक्टरले त्यतिबेलाको अस्पतालको निर्धक्क र रमाइलो वातावरणबारे सामाजिक सञ्जालमा व्याख्या गरेका छन्।

अस्पतालका कर्मचारीहरू आ-आफ्ना झोला बोकेर पार्किङ क्षेत्रमा भेला भएका थिए मानौँ उनीहरू त्यहाँबाट कतै रमाइलो यात्राका लागि जान लागेका हुन्।

कोही पनि बिरामीलाई त्यहाँबाट बाहिर जान अनुमति दिइएको थिएन। एकजना डाक्टरले उनको विभागमा त्यतिबेला भर्ना भएकामध्ये आधाको शल्यक्रिया भइसकेको र निको हुँदै गरेको सामाजिक सञ्जालमा बताएका थिए।

उनले त्यतिबेलाको अवस्थामा शल्यक्रियाका लागि तय भइसकेका मानिसहरूको प्रक्रिया अगाडि बढाउने योजना रहेको बताए।

उनले आफू र आफ्ना सहकर्मीले अवस्था कति गम्भीर थियो भन्ने कुरालाई त्यतिबेला कम आँकेको स्वीकार गरे। त्यसको केही समयमै ती चिकित्सक आफैँ बिरामी भएका थिए।

भाइरसको सङ्क्रमण फैलिन नदिन पूरै भवनको भेन्टिलेसन प्रणाली बन्द गरिएको बिरामी इरिनाले बताइन्।

भान्साका कर्मचारीले प्रत्येक वार्डबाहिर खानेकुरा छोड्थे र अस्पतालका कर्मचारीले त्यो खाना बिरामी र सहकर्मीहरू भएको ठाउँसम्म पुर्‍याइदिन्थे।

पोक्रोभ्स्कया अस्पतालबाहिर एम्बुलेन्सको लाइन

तस्बिर स्रोत, Alexander Demianchuk/ Getty Images

तस्बिरको क्याप्शन, एप्रिलमा सेन्ट पिटर्सबर्गमा रहेको एउटा मुख्य अस्पताल पोक्रोभ्स्कयाले कोरोनाभाइरसका बिरामीलाई भर्ना गरेको थियो। उक्त अस्पतालबाहिर एम्बुलेन्सहरूको लामो लाइन लागेको थियो।

रिपोर्टहरूले अस्पताल त्यतिबेला कोरोनाभाइरससँग जुझ्नका लागि तयार नभएको देखाएका छन्।

"स्वस्थ" र "सङ्क्रमित" का लागि भनेर छुट्टै ठाउँ थिएन र सुरुमा व्यक्तिगत सुरक्षा सामग्रीको पनि अभाव थियो।

प्रोटोकल अनुसार सामग्रीहरू पुग्ने बेलासम्म अस्पतालको बन्द ढोकाभित्र रहेका थुप्रै बिरामीहरूमा सङ्क्रमण निकै बढिसकेको थियो।

"परीक्षणको नतिजा आउन १० दिन लाग्छ र त्यतिबेलासम्म त बिरामी र स्वस्थ्य व्यक्ति सँगै भइसक्छन्" एकजना डाक्टरले सामाजिक सञ्जालमा भने।

साथीको थोरै सहयोग

अर्का एक डाक्टरले क्वारन्टीनमा रहँदाको सुरुका दिनहरूमा बाहिरका साथीले अस्पतालका कर्मचारीहरूलाई मास्क, एन्टीभाइरल औषधि र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिहरू दिएर सघाउने गरेको उल्लेख गरेका छन्।

एप्रिल १७ तारिखमा, मुख ढाक्न लगाउने शिल्ड मस्कोबाट पठाइएको थियो।

अस्पतालभित्र रहेका चिकित्सकहरूले ती सामग्री पठाउने शुभचिन्तकहरूलाई धन्यवाद दिएका थिए।

तर बन्द गरिएको भवनमा उनीहरूले हात निरन्तर रुपमा धोइरहे पनि र मास्क लगाइरहे पनि कोरोनाभाइरसको सङ्क्रमण हुनबाट जोगिन निकै मुस्किल थियो।

अस्पताल बन्द गरिएको झण्डै तीन साता र त्यसरी सामग्रीहरू लिन थालेको १० दिनपछि अस्पतालमा व्यक्तिगत सुरक्षा सामग्री, आँखामा लगाउने चस्मा र प्रयोग गरेर फाल्ने मास्क आइपुग्यो।

पाँच साताको क्वारन्टीन अवधिमा गम्भीर अवस्था भएका बिरामी र कर्मचारीलाई मात्रै भ्रेडन इन्स्टिच्युटबाट अर्को अस्पतालमा सारिएको थियो।

एप्रिलको मध्येसम्ममा बिरामीको सङ्ख्या उल्लेख्य रुपमा बढिरहँदा सेन्ट पिटर्सबर्गस्थित थुप्रै अस्पतालहरू भरिइसकेका थिए।

त्यसपछि त भ्रेडन इन्स्टिच्युटबाट पनि अन्य अस्पतालमा बिरामी पठाउने व्यवस्था गर्न गाह्रो भयो।

डाक्टरहरूले अन्य अस्पतालका सहकर्मीहरूसँग सहायता मागेका थिए।

अस्पतालबाहिर एम्बुलेन्सको चित्र

तस्बिर स्रोत, Denis Korolev

तस्बिरको क्याप्शन, भ्रेडन अस्पतालमा सुरुमा क्वारन्टीनमा रहेका मध्ये १५ देखि २० प्रतिशतलाई अरू अस्पतालहरूमा सारिएको थियो

अस्पतालभित्र रहेका चिकित्सकहरू भाइरस आक्रामक रूपमा फैलिएको देखेर चकित भए।

हाडजोर्नी, मेरुदण्ड र घाइतेहरूको उपचारका लागि भ्रेडन इन्स्टिच्युट एउटा उच्चस्तरको अस्पताल हो।

यो अस्पतालमा उसको आफ्नै उच्चस्तरको सघन उपचार कक्ष छ तर त्यहाँ काम गर्ने चिकित्सकहरू भाइरस सङ्क्रमण कुन अनुपातमा वृद्धि हुन्छ भन्नेबारेका विज्ञ होइनन्।

"लक्षणहरू थुप्रै छन्। सबै खोकिरहेका छन्। अवस्था एकदमै छिटो बिग्रन सक्छ र ५-६ घण्टामै कसैको मृत्यु हुनसक्छ," एकजना डाक्टरले भने।

सुरुमा क्वारन्टीनमा रहेका मध्ये १५ देखि २० प्रतिशत बिरामीहरूलाई अन्यत्र अस्पतालमा सारिएको आकलन गरिएको छ।

गम्भीर लक्षण भए पनि अन्यत्र सार्न नसकिएकाहरूलाई यही अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखिएको थियो।

सहयोगी चिकित्सक

नदेज्दाले क्वारन्टीनको सुरुको हप्ता एकजना बिरामीमा उच्च ज्वरो देखिएको बताइन्। ती बिरामीको अवस्था खराब भएपछि उनलाई अर्को अस्पतालमा लगिएको थियो।

पछि ती व्यक्तिको मृत्यु भएको आफूले थाहा पाएको उनले बताइन्।

त्यसको केही समयपछि नदेज्दा स्वयंको पनि परीक्षण गर्दा कोरोनाभाइरसको सङ्क्रमण देखियो।

सङ्क्रमित बिरामीलाई गर्न सक्ने सबै प्रयासहरू चिकित्सकहरूले वीरतापूर्वक गरेको उनले बताइन्।

त्यस्ता धेरै डाक्टर आफैँ पनि बिरामी भएको हेर्दा दु:ख लागेको उनले सामाजिक सञ्जालमा लेखेकी छन्।

"नर्सहरू पनि बिरामी भए। हाम्रो झ्याल, बेडको छेउको टेबल र पूरै वार्ड नै सफा गर्ने एक नर्सलाई म सम्झन्छु। एक दिन उनको जन्मदिन थियो र उनी ६० पुगेकी थिइन्… पछि उनी एकदमै बिरामी भइन् र उनको मृत्यु भयो," नदेज्दाले भनिन्।

लकडाउनका बेला डाक्टर र नर्सहरूको प्रयासको प्रशंसा गर्दै थुप्रै बिरामीहरूले सामाजिक सञ्जालमा पोष्टहरू गरे।

मास्कले घेरिएकी एक कर्मचारीको चित्र

तस्बिर स्रोत, Denis Korolev

स्वास्थ्यकर्मीहरूले आफैँ लुगा धुने मसिन किनेर ल्याए र बिरामीको लुगा धोए। केही बिरामीले पनि धुने क्रममा मद्दत गरेका थिए।

"हामीले आराम गरिरहेका बेला डाक्टरहरूलाई ज्वरो आएको भए पनि हाम्रो हेरचाह गरेका थिए। उनीहरूले हामीलाई एन्टीभाइरल औषधि दिए र हाम्रो लुगा धोइदिए। उनीहरू कहिल्यै पनि थकाइ लाग्यो भनेर बसेनन् र हामीसँग झर्किएनन्," मस्कोका एक बिरामीले लेखेका छन्।

विवादास्पद क्वारन्टीन

क्वारन्टीनको आधा समय बित्दा, भ्रेडन इन्स्टिच्युटकी एकजना नर्सले "सहायताका लागि रोऊ" भन्ने शीर्षक रहेको भिडिओ युट्यूबमा हालिन्।

उनले कोरोनाभाइरसको आफ्नो परीक्षण पाँचपटकसम्म गरिएको र त्यति गर्दा पनि त्यसको नतिजा के भन्ने नआएको उनले बताइन्।

पछि, तिनै नर्सले अर्को भिडिओ सामग्री प्रकाशित गरिन् र उनले त्यसमा विरोध जनाउनका लागि भोकहड्ताल गर्ने बताइन्।

रुसभरि मानिसलाई चकित पारेको उक्त भिडिओ अहिले हटाइएको छ।

क्वारन्टीनमा राखिएको २५ औँ दिन, मे ३ तारिखमा अस्पतालका निर्देशक राशिद तिखिलोभ जो स्वयं पनि सङ्क्रमणपछि निको भएका थिए, उनले अस्पतालमा बल्ल कोरोनाभाइरसका लागि छुट्टै क्षेत्र भएको बताएका थिए।

भ्रेडन इन्स्टिच्युट

तस्बिर स्रोत, Peter Kovalev/ Getty Images

तस्बिरको क्याप्शन, विज्ञका अनुसार भाइरसको तीव्र सङ्क्रमणसँग जुझ्न भनेर भ्रेडन इन्स्टिच्युट तयार गरिएको थिएन

घरमै बसेर आराम गर्न भनिएका एक डाक्टरले भ्रेडन अस्पताललाई बन्द गरेर मानिसहरूलाई त्यहीँ क्वारन्टीन राख्ने अधिकारीहरूको निर्णय "स्पष्ट रूपमा गलत" भएको बताए।

उनको गोपनीयताका लागि उनको नाम नखुलाउने निधो बीबीसीले गरेको छ।

उनले परीक्षणमा भएको ढिलाइले पनि स्थितिलाई थप खराब पारेको बतााए।

अन्य विज्ञहरूले चाहिँ अस्पताललाई क्वारन्टीन बनाउनु अघिल्लो दिन डाक्टर र अन्य कर्मचारीलाई घर जान दिँदा नै अपनाउनुपर्ने उपायको आधा मात्रै भएको बताए।

अस्पताललाई सिल गर्ने निर्णय गर्ने सेन्ट पिटर्सबर्गका प्रमुख मेडिकल अधिकृतलाई बीबीसी रसियनले प्रतिक्रियाका लागि सोध्दा उनले जति आएका थिए ती सबैको परीक्षण गरिएको बताए।

रुसी सांसदको उक्त खुला पत्र फेसबुकमा राखिएको थियो
तस्बिरको क्याप्शन, अस्पताललाई क्वारन्टीन बनाउने निर्णयको उजुरी गर्दै सेन्ट पिटर्सबर्गका सांसदहरूले रुस सरकारलाई खुला पत्र लेखेका छन्

बीबीसी रसियनले बिरामी र कर्मचारीहरूमा सङ्क्रमण उल्लेख्य रूपमा देखिएको हेर्दा क्वारन्टीनको सट्टा अन्य विकल्प लिएको भए हुन्थ्यो कि भन्ने लागेन भनेर पनि सोधेको थियो।

क्वारन्टीन अवधिमा कति मानिसमा सङ्क्रमण देखियो र कतिको मृत्यु भयो भन्ने बारे पनि बीबीसीले सोधेको थियो। तर त्यसको कुनै प्रतिक्रिया आएन।

"मेरो विचारमा एकातर्फ द्रुत गतिमा परीक्षण गर्नुको सट्टा एउटै ठाउँमा धेरै मानिसलाई थुनेर राख्नु गलत थियो। तर त्यो अझै पनि राम्रो विकल्प हो," इरिनाले भनिन्।

"कम्तीमा हामीले सङ्क्रमण चाँडै फैलिने र मानिसको मृत्यु हुने देशका सुदुर ठाउँहरूमा भाइरस पुर्‍याएका छैनौँ।"

"कम्तीमा अस्पतालमा प्रत्येक मानिस डाक्टरको सुपरिवेक्षणमा छन् र यदि अवस्था साँच्चै खराब भयो भने हामीले समयमै सहयोग पाउँछौँ।"