कोरोना भाइरस असर: चीनका ४० प्रतिशतभन्दा बढी सिनेमाघर बन्द हुन सक्ने

चीन

तस्बिर स्रोत, Getty Images

Published

चीनका ४० प्रतिशतभन्दा बढी सिनेमाघरहरू आर्थिक कारणले बन्द हुन सक्ने चिनियाँ चलचित्र सङ्घले सार्वजनिक गरेको एउटा प्रतिवेदनले औँल्याएको छ।

कोरोनाभाइरस महामारीका कारण हाल अस्थायी रूपमा बन्द रहे पनि दर्शकहरूलाई सिनेमाघरसम्म जान प्रेरित गर्न सङ्घर्ष गर्नुपर्ने सङ्घको आकलन छ।

इन्टरनेटमार्फत ग्राहकको विद्युतीय उपकरणमा सहजै स्ट्रीमिङ सेवा उपलब्ध भएपछि लाखौँ चिनियाँ नागरिकले अनलाइनमार्फत् चलचित्र हेरेर मनोरञ्जन लिएका छन्।

फलस्वरूप धेरै सिनेमाघरहरू स्थायी रूपमा बन्द हुन सक्ने एक चिनियाँ व्यापारविज्ञको ठम्याइ छ।

एउटा अनुसन्धान संस्था आइबीआइएस वर्ल्डका अनुसार चीनमा हाल १२,००० वटा भन्दा बढी सिनेमाघर छन्।

चलचित्र हेर्ने प्रवृत्ति बढेसँगै पछिल्लो दशकमा दुई गुणाले सिनेमाघरको सङ्ख्यामा वृद्धि भएको अनुमान छ।

तर चिनियाँ चलचित्र सङ्घले गरेको सर्वेक्षण अनुसार प्रत्येक १० वटामध्ये चारवटा सिनेमाघर निकट भविष्यमा बन्द हुन सक्छन्।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

यसको अर्थ हो कोरोनाभाइरस महामारीको असरबीच आर्थिक कारणले करिब पाँच हजार सिनेमाघर बन्द हुन सक्छन्।

चीनमा क्रमिक रूपमा लकडाउन हटाउँदै लग्ने क्रममा सबैभन्दा अन्त्यतिर खुल्नेमा सिनेमाघरहरू पनि छन्।

चिनियाँ सरकारका अनुसार निश्चित बुकिङ गर्न दिएर सिनेमाघरसहित अन्य मनोरञ्जनस्थल पुनः खोल्न पाइन्छ।

चिनियाँ चलचित्र सङ्घका अनुसार सन् २०२० को पहिलो त्रैमासिकमा सिनेमाघरहरूको आम्दानीमा ठूलो गिरावट देखिएको छ।

पाँच सयभन्दा कम सीट क्षमताका साना सिनेमाघरहरू बढी प्रभावित भएका छन्।

गत वर्ष सोही अवधिमा उनीहरूले गरेको आम्दानीको १० प्रतिशत मात्रै अहिले कमाउन सकेका छन्।

गत वर्ष चिनियाँ सिनेमाघरहरूले टिकट विक्रीबाट ६४.२ अर्ब युआन कमाएका थिए।

चाइना मार्केट रिसर्च ग्रुप नामक संस्थाका संस्थापक शन रेइनका अनुसार सिनेमाघरहरूका लागि सबैभन्दा ठूलो चुनौती भनेको अनलाइन चलचित्र व्यापारमा वृद्धि हुनु हो।

अर्को चुनौती निर्माणमा कमी आउँदा नयाँ चलचित्र प्रदर्शन कम हुनु हो।