कोरोना भाइरस नेपाल अपडेट: नेपालमा थप २७ सङ्क्रमित, सङ्क्रमितको सङ्ख्या ४०२ पुग्यो

Published

नेपालमा मङ्गलवार थप २७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा अब सङ्क्रमितको कुल सङ्ख्या ४०२ पुगेको छ।

हालसम्म नेपालमा कोरोनाभाइरस सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ र ३७ जना सङ्क्रमित निको भएका छन्।

सबै प्रदेशका कुल ३६ जिल्लामा सङ्क्रमित भेटिएका छन्।

विगत २४ घण्टामा पीसीआर विधिबाट २,२८० वटा परीक्षण गरिएको छ र अहिलेसम्म उक्त विधिबाट ३२,६०४ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।

अहिले देशका विभिन्न स्थानमा २१,६२३ जना क्वारन्टीनमा र ४५७ जना आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।

परीक्षण

यसअघि सोमवार नेपालमा एकैदिन ८० जना सङ्क्रमित थपिएका थिए। सोमवार अबेर राति मन्त्रालयले थप १८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि गरेको थियो।

यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमवार अपराह्ण थप ५३ जनामा सङ्क्रमण पुष्टि गरेका थिए भने सोमवार बिहान मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत नौ जनाको सङ्क्रमण पुष्टि गरेको थियो।

खासगरी भारतबाट लुकीछिपी सीमावर्ती क्षेत्रमा मानिस भित्रिएका विवरणमाझ कतिपय सीमाक्षेत्रस्थित जिल्लाहरूमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।