तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस: विदेशमा फसेका हजारौँ नागरिकलाई स्वदेश फर्काउँदै भारत सरकार
भारत सरकारले देशव्यापी लकडाउन लागु भएपछि विदेशमा रोकिन बाध्य आफ्ना हजारौँ नागरिकलाई स्वदेश ल्याउने योजना घोषणा गरेको छ।
उनीहरूलाई बिहीवारबाट चरणबद्ध रूपमा ल्याउन थालिने अधिकारीहरूले जनाएका छन्।
गृह मन्त्रालयका अनुसार विदेशमा फसेका भारतीयलाई विमान र नौसेनाको जहाजबाट ल्याउने काम मे ७ बाट सुरु हुनेछ।
पहिलो साता झन्डै १५,००० नागरिक स्वदेश फर्किने अनुमान गरिएको छ।
त्यसरी फर्किनेहरूले भाडा आफैँ तिर्नुपर्नेछ। उनीहरूलाई क्वारन्टीनमा राखिनेछ।
प्राथमिकतामा को?
विदेशस्थित दूतावास र उच्चायोगले स्वदेश फर्किन चाहने अलपत्र परेका व्यक्तिको सूची तयार गरिरहेको अधिकारीहरूले जनाएका छन्।
सूची तयार गरिएपछि खराब अवस्थामा रहेका श्रमिक, वृद्धवृद्धा, गर्भवती र बिरामीलाई पहिलो प्राथमिकतामा राखिने बताइएको छ।
गृह मन्त्रालयका अनुसार उड्नुअघि यात्रुको स्वास्थ्य जाँच गरिनेछ र कोरोनाभाइरस सङ्क्रमणको लक्षण नभएकाहरूलाई मात्र उडान अनुमति दिइनेछ।
गन्तव्यमा पुगेपछि फेरि स्वास्थ्य परीक्षण गरेर सम्बन्धित राज्य सरकारद्वारा उनीहरूलाई अस्पताल वा १४ दिन क्वारन्टीनमा राखिनेछ। त्यसपछि पनि भाइरसको परीक्षण गर्ने बताइएको छ।
कुन देशबाट फर्किनेको सङ्ख्या धेरै?
पञ्जाबका विशेष मुख्य सचिव केबीएस सिद्धूले 'भारत सरकारको योजना' ट्वीट गरेका छन्।
त्यसअनुसार मे ७ देखि १३ तारिखसम्म १२ वटा देशमा ६४ वटा उडान गरिनेछ र १५,००० जनालाई फिर्ता ल्याइनेछ।
बीबीसीकी दक्षिण एशिया सम्पादक जिल मक्गिभरिङ भन्छिन्, "सयौँ हजार भारतीय विदेशमा फसेका छन्। तीमध्ये मध्यपूर्वका देशहरूमा कार्यरत अदक्ष र आंशिक दक्ष कामदार छन्। लकडाउन खुकुलो पार्ने घोषणासँगै अधिकांशलाई सरकारी विशेष उडान र केहीलाई नौसेनाको पानीजहाजबाट ल्याइनेछ।"
योजनाअनुसार पहिलो चरणमा यूएई, मलेशिया, बाङ्ग्लादेश, सिङ्गापुर, ओमान, कुवेत, साउदी अरब, अमेरिका, बहराइनसहित १२ देशबाट केरला, तमिलनाडु, महाराष्ट्र, दिल्ली, तेलङ्गाना, गुजरात, पञ्जाब, कर्नाटक, उत्तर प्रदेश र जम्मू-कश्मीरमा उडान हुनेछन्।
मालदिभ्सस्थित उच्चायोगका अनुसार त्यहाँबाट नौसेनाको जहाज मे ८ तारिखमा केरलाका निम्ति जानेछ। पहिलो चरणमा त्यहाँबाट ७०० मानिस फर्किन सक्ने बताइएको छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
विदेशमा कति भारतीय छन्?
भारतीय विदेश मन्त्रालयका अनुसार २०० भन्दा बढी देशमा भारतीय राहदानीवाहक छन्। त्यस्ता गैरआवासीय भारतीयको सङ्ख्या झन्डै सवा करोड छ।
तर ती प्राय: विदेशमै बस्छन्। तीमध्ये झन्डै ८७ लाख जना खाडी राष्ट्रमा कार्यरत छन्।
यूएईमा मात्र झन्डै ३४ लाख र साउदी अरबमा २६ लाख भारतीय रहेको बताइन्छ। खाडीका अन्य देशका २९ लाखजति भारतीय छन्।
विज्ञहरूका अनुसार खाडीका देशबाट भारतीय श्रमिकले वर्षेनि ५० अर्ब डलर आफ्नो देश पठाउँछन्।
कोरोनाभाइरससँग सङ्घर्ष गर्न भारतमा झन्डै डेढ महिनाअघि लगाइएको देशव्यापी लकडाउनका कारण फर्किन चाहनेहरू पनि विदेशमै अड्किएका छन्।
मङ्गलवार भारतमा झन्डै ४,००० नयाँ सङ्क्रमित फेला परेका थिए। एक दिनमा सङ्क्रमित पुष्टि भएको त्यो अहिलेसम्मकै सबैभन्दा बढी सङ्ख्या हो।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीले केही राज्यले ढिलो तथ्याङ्क दिएकाले सङ्ख्या बढेको बताए।
यो पनि हेर्नुहोस्