कोरोना भाइरस : अमेरिकामा कोभिड-१९ बाट एक महिनामा सबैभन्दा कम मृत्यु

तस्बिर स्रोत, EPA
अमेरिकामा सोमवार कोरोनाभाइरस सङ्क्रमणका कारण १,०१५ जनाको मृत्यु भएको छ जुन गत एक महिनामा २४ घण्टामा भएको सबैभन्दा कम हो।
कोभिड-१९ बाट अमेरिकामा अहिलेसम्म कुल ६८,९२० जनाको मृत्यु भइसकेको छ।
अमेरिकामा कुल सङ्क्रमितको सङ्ख्या ११ लाख ८० हजारभन्दा बढी पुगेको छ जुन स्पेनको भन्दा पाँच गुणा र चीनको भन्दा १४ गुणा बढी हो।
सङ्क्रमितमध्ये दुई लाखभन्दा केही थोरै मानिस निको भइसकेका छन्।
अमेरिकाको एउटा आन्तरिक सरकारी दस्तावेजले त्यहाँ जुन १ तारिखसम्ममा सङ्क्रमण र त्यसबाट हुने मृत्युको सङ्ख्या ह्वात्तै बढ्ने अनुमान गरिएको न्यूयोर्क टाइम्स दैनिकले लेखेको छ।
त्यो अनुमान अनुसार यो महिनाको अन्त्यसम्म अमेरिकामा दैनिक दुई लाख सङ्क्रमण र लगभग दैनिक ३,००० को मृत्यु हुनेछ।
तीस खर्ब डलर ऋण
यसैबीच, अमेरिकाले यो वर्षको दोस्रो त्रैमासिकमा ३० खर्ब अमेरिकी डलर ऋण सापटी लिने बताएको छ।
सो सापटी अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको र कोरोनाभाइरस राहतका लागि आवश्यक खर्च यसले धान्ने बताइएको छ।
यो रकम सन् २००८ को आर्थिक मन्दीको बेला लिइएको सापटीभन्दा पाँच गुणा धेरै भएको बताइएको छ।
अमेरिकाको अहिलेको राष्ट्रिय ऋण २५० खर्ब डलर रहेको छ।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ





















