कोरोना भाइरस: फ्रान्समा डिसेम्बर महिनामा नै पहिलो सङ्क्रमण देखिएको खुलासा

महिला

तस्बिर स्रोत, AFP

Published

फ्रान्समा निमोनियाका एकजना बिरामी वास्तवमा डिसेम्बर २७ तारिखमै कोरोनाभाइरसबाट सङ्क्रमित रहेको भेटिएको उनका डाक्टरले बताएका छन्।

ती पुरुष दुई साताको उपचारपछि पूर्ण रूपमा निको भइसकेका छन्। उनले आफू सङ्क्रमण देखिएको कुनै पनि क्षेत्रमा नगएको उल्लेख गर्दै भाइरसबाट कसरी सङ्क्रमित भए भन्ने केही जानकारी नभएको बताए।

ती बिरामीको उपचारमा संलग्न डा. इभ कोएनले फ्रान्सेली सञ्चार माध्यमलाई जनाए अनुसार त्यसबेला लिइएको उनको 'स्वाब'को हालै फेरि परीक्षण गरिएको र कोभिड-१९ पुष्टि भएको जानकारी दिए।

उक्त समाचारले फ्रान्समा पहिले ठानिएको भन्दा करिब एक महिनाअघि नै भाइरस पुगिसकेको औंल्याएको छ।

अहिलेसम्म आधिकारीक रूपमा बताइए अनुसार फ्रान्समा पहिलो तीनवटा सङ्क्रमण ज्यानुअरी २४ तारिखमा देखिएको थियो।

ती मध्ये दुईजना चीनको वुहान गएका थिए। जहाँबाट पहिलो पटक कोरोनाभाइरसको प्रकोप देखा परेको थियो। अर्का एकजना नजिकका पारिवारिक सदस्य हुन्।

त्रुटि पत्ता लगाउन पुन: परीक्षण

प्यारिस नजिकैको एउटा अस्पतालमा निमोनियाका बिरामीहरूको पुरानो स्वाबको पुन: परीक्षण गरिएको थियो।

उनीहरूलाई वास्तवमा कोभिड-१९ लागेको थियो कि थिएन भन्ने पत्ता लगाउन अघिल्ला परीक्षणमा फ्लु नेगेटिभ देखिएका ती स्वाबको फेरि जाँच गरिएको डा. इभ कोएनले बताए।

डाक्टर

तस्बिर स्रोत, AFP

उनले भने, "हामीले गरेका २४ वटा परीक्षणमा एकजनामा पोजेटिभ देखिएको हो। हामीले कुनै त्रुटि भएको त छैन भनेर सुनिश्चित गर्न फेरि जाँच गरेका हौँ।"

उनले राष्ट्रिय स्वास्थ्य परिषद्लाई त्यसबारे सतर्क गराएको र अन्य विशेषज्ञहरूलाई आफ्नो अस्पतालहरूमा स्वाबहरूको पुन: परीक्षण गर्न भनेको जानकारी दिए।

जाँचको पूर्ण प्रतिवेदन यो साताको अन्त्यमा प्रकाशित गरिने बताए।

मृतकको सङ्ख्या पच्चिस हजार नाघ्यो

फ्रान्समा हालसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २५ हजार नाघेको छ।

अधिकारीहरूका अनुसार एकै दिन तीन सयभन्दा बढीको मृत्य भएको छ। करिब ६० प्रतिशत मानिसको मृत्यु स्याहार केन्द्रमा भएको छ।

फ्रेन्सको सिनेटले राष्ट्रिय सङ्कटको अवस्थालाई जुलाई २४ सम्म लम्ब्याउने र लकडाउन खुकुलो बनाउने सरकारको तालिकाविरूद्ध साङ्केतिक मतदान गरेको छ।

विपक्षी दलले कोरोनाभाइरस सङ्क्रमितसँग सम्पर्कमा आएकाहरूको पहिचान गर्न प्रस्ताव गरिएको स्मार्टफोन एपका कारण गोपनीयता सङ्कटमा पर्ने चिन्ता व्यक्त गरेको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर