कोरोना भाइरस: सङ्क्रमणले महामारी लिइरहँदा जुन दम्पती समुद्रमा निष्फिक्री घुमिरह्यो

तस्बिर स्रोत, FAMILY PHOTO
एलेना मानीधेट्टी र रायन आजवोर्नले सन् २०१७ मा धेरै मानिसले कल्पना गर्ने एउटा कुरालाई आफ्नो जीवनमा साकार पार्ने निर्णय गरे।
उनीहरूले जागिर छाडे, एउटा डुङ्गा किने र संसार डुल्ने योजना बनाए।
उनीहरूले परिवार सदस्यहरूलाई सम्पर्कमा रहन आग्रह गरे। तर एउटा सर्त राखे: नराम्रो खबर नभन्ने।
घातक नयाँ कोरोनाभाइरस सङ्क्रमण संसारभर फैलिरहेका बेला त्यसबारे थाहै नपाएको म्यानचेस्टर बस्ने यो जोडी आन्ध्र महासागरमा सैर गरिरहेको थियो।
समुद्रमा २५ दिन बिताएपछि उनीहरूले मार्च महिनाको बीचमा एउटा सानो टापुमा रोकिने निर्णय गरे।
तट नजिक समुद्रमै हुँदा उनीहरूको फोनमा टेलिफोन नेटवर्क जोडियो र त्यसपछि बल्ल उनीहरूले उक्त टापुको सीमा बन्द गरिएको र विश्व एउटा महामारीबाट जुझिरहेको थाहा पाए।
"फेब्रुअरीमा चीनमा एउटा भाइरस देखिएको भन्ने कुरा सुनेका थियौँ। हामीलाई प्राप्त सूचनाका आधारमा २५ दिनपछि यो सबै अन्त भइसक्ने छ भन्ने हामीले सोचेका थियौँ," एलेनाले भनिन्।
"तर त्यहाँ पुगेपछि मात्रै हामीले यसको अन्त नभएको र विश्वभर यसको सङ्क्रमण भएको थाहा पायौँ," रायनले भने।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

'बन्द सिमाना'
कोरोनाभाइरस प्रकोपका बेला उक्त जोडी प्राय: समुद्रमै थियो। इन्टरनेटको सीमित पहुँच र परिवार तथा साथीसङ्गीसँगको सम्पर्कका कारण उनीहरूलाई यो प्रकोप कति गम्भीर भइसकेको थियो भन्ने कुरा थाहा थिएन।
"समुद्र छेउ हाम्रो सम्पर्कमा रहेकाहरूलाई हामीले नराम्रो खबर सुन्न नचाहेको बताएका थियौँ," एलेनाले भनिन्। उनको परिवारको इटलीमा सबैभन्दा बढी प्रभावित लोमबार्डी क्षेत्रमा बस्छ।
शुरूमा उनीहरूले क्यारिबियनस्थित फ्रान्सेली टापुमा रोकिने प्रयासमा थिए। तर त्यहाँ पुगेपछि उनीहरूले टापुको सीमा बन्द गरिएको र टापु पनि बन्द हुँदै गरेको थाहा पाए।
"त्यस बेला पनि हामीले पर्यटनका लागि उपयुक्त समय भएकाले रोकथामको उपाय अपनाइएको होला भन्ने सोचेका थियौँ। केही पर्यटकबाट स्थानीयहरूमा सङ्क्रमण सर्ला भनेर त्यस्तो गरिएको होला भन्ने सोचेका थियौँ," रायनले भने।

तस्बिर स्रोत, FAMILY PHOTO
त्यसपछि उनीहरू ग्रनेडातर्फ लागे र समुद्रमै फोरजी नेटवर्क राम्रो भएको स्थानमा पुगे। त्यसपछि बल्ल के भइरहेको छ भन्ने कुरा उनीहरूले थाहा पाए।
"एकजना साथी सेन्ट भिन्सेन्टमै थिइन जहाँ हामी पुग्ने प्रयासमा थियौँ। त्यहाँ पुग्न १० घण्टाअघि हामी उनको सम्पर्कमा आउन सफल भयौँ।"
"पछिल्ला केही महिनामा म इटली नगएको भए पनि म इटालीयन नागरिक भएकाले त्यहाँ हामीलाई प्रवेश नदिइने उनले बताइन्," एलेना भन्छिन्।
भाग्यवश, उनीहरूले आफ्नो डुङ्गालाई जीपीएस सिग्नलमार्फत ट्रयाक गरिरहेका थिए जसबाट उनीहरूले आफ्नो यात्राबारे प्रमाण जुटाउन सके।
उनीहरू इटली नगएको र २५ दिनसम्म समुद्रमै एकान्तबासमा रहेको त्यो विवरणले प्रमाणित गर्यो। अन्ततः उनीहरू जमिनमा उभिन सफल भए।
'बुवाले हामीलाई नआत्तिन भन्नुभयो'
एलेना र रायन दुवैलाई यो महामारीले आफ्नो परिवारलाई कसरी असर पारेको छ भन्ने कुरा सुन्न अफ्ठेरो भयो।
"मेरो परिवार इटलीको लोमबार्डी क्षेत्रमा छ जुन सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो," उनले भनिन्।
"मैले बुवालाई फोन नगरुन्जेल हाम्रो परिवारमा कस्तो प्रभाव परेको छ भन्ने हेका थिएन।"
"त्यो संवाद सहज थिएन। बुवाले मलाई नआत्तिन भन्नुभयो। तर हाम्रो गृहनगर विश्वको सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक हो। त्यस क्षेत्रबारे न्यूयोर्क टाइम्सले गरेको प्रोफाइल बुवाले मलाई पठाउनु भयो जसले यो सब साँचो हो भन्ने महसुस गरायो। म स्तब्ध भए।"

तस्बिर स्रोत, FAMILY PHOTO
एलेना र रायन यतिबेला सेन्ट भिन्सेन्टमा सुरक्षित छन् तर त्यहाँ कहिलेसम्म बस्न सकिन्छ भन्ने विषयमा चिन्तित छन्।
जुन महिनाको शुरूतिर हरिकेन शुरू हुनुभन्दा अघि त्यहाँबाट उनीहरू निस्कन चाहन्छन्। उनीहरूको आशा उत्तरतिर यात्रा जारी राख्ने छ।
तर यतिबेला यी सब कुरा अनिश्चित देखिन्छ। "हामी हरिकेन र भाइरसको बीचमा फसेका छौँ।"




















