तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस: परिवारको दबाव र जोखिमको त्रासबीच बिरामी ओसार्दै एम्बुलेन्स चालक
- Author, कमल परियार
- Role, बीबीसी न्यूज नेपाली
- Published
गतहप्ता बाग्लुङमा कोरोनाभाइरस सङ्क्रमित ६५ वर्षीय महिलालाई धौलागिरी अञ्चल अस्पतालसम्म पुर्याउन नमानेर एम्बुलेन्स चालक नै भागेपछि ती चालकको निकै आलोचना भयो।
कोरोनाभाइरसबाट सङ्क्रमित भइने डरले मोरङ जिल्लामा मात्रै झण्डै ६ जना एम्बुलेन्स चालकहरूले जागिर नै छाडे।
कोरोना भाइरसको महामारी फैलने क्रममा बिरामी ओसार्न नमान्ने केही चालकलाई अस्पतालले समेत बिभिन्न कारबाही गरेको एम्बुलेन्स चालकहरू नै बताउँछन्।
खासगरि ज्वरो आएका, रुघाखोकी लागेका तथा क्वारन्टीनमा भित्रिने र बाहिरिने मानिसहरूलाई बोक्न एम्बुलेन्स चालकले आनाकानी गरेका यस्ता कैयन् घटना बाहिर आएका छन्।
जोखिम
संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालका केन्द्रीय महासचिव मुक्ति काफ्लेका अनुसार यस्ता परिस्थिति उत्पन्न हुनुमा एम्बुलेन्स चालकहरूलाई आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध नहुनु मुख्य कारण हो।
प्रदेश ५, रूपन्देही आसपास एम्बुलेन्स चलाउने उनले भने, ''एकातिर सामाजिक सञ्जालमा सङ्क्रमण जोखिमबारे डरलाग्दा समाचार फैलिदैँ छन्, अर्कोतिर हामीले सर्जिकल मास्क र पञ्जाको भरमा बिरामी ओसार्नुपरेको छ।''
सङ्घका अनुसार निजी तथा संस्थागत गरेर मुलुकभर झण्डै चारहजार भन्दा बढी एम्बुलेन्स र त्यति जति नै एम्बुलेन्स चालकहरू रहेका छन्।
ती मध्ये झण्डै ९५ प्रतिशत एम्बुलेन्स 'ग' श्रेणीका अर्थात् न्यूनतम पूर्वाधार भएका एवम् कम सुरक्षित छन्।
एम्बुलेन्समा बिरामी ओसार्दा हुने सम्भावित जोखिमलाई न्यून गर्न अहिले एम्बुलेन्स चालक बस्ने अगाडिको भाग एवम् बिरामी तथा आफन्त बस्ने पछाडिको भागलाई विभाजन (पार्टिसन) गरेर चलाउन थालिएको एम्बुलेन्स चालकहरूको भनाइ छ।
अहिले बिरामीका आफन्तलाई समेत एम्बुलेन्स चालकछेउको सिटमा समेत बस्न प्रतिबन्ध लगाइएको छ।
तर त्यसले गर्दा बिरामी वा बिरामीको आफन्तबारे कुराकानी वा समन्वय गर्न कठिन हुने गरेको उनीहरूले सुनाए।
भाइरसको ‘बाहक’
एम्बुलेन्स चालक काफ्लेले भने, ''हामी सचेत र गम्भीर बनेनौ भने हामी नै सङ्क्रमणको कारक वा भाइरसको बाहक बन्न सक्छौँ भन्ने हाम्रो चिन्ता हो।''
पछिल्ला केही दिनयता स्थानीय सरकार, चिकित्सक तथा स्वास्थ्यसम्बद्ध सङ्घसंस्थाबाट केही पीपीईका साथै सेनिटाइजर,स्प्रे लगायतका सामग्री प्राप्त भएपनि त्यो पर्याप्त नभएको उनीहरूको गुनासो छ।
अत्यावश्यक सुरक्षा सामग्री अभावमा छरछिमेकबाट समेत सङ्क्रमणको आशङ्का व्यक्त हुने तथा कैयन् चालकका घरपरिवारबाट समेत जोखिम नलिन दबाब आउने गरेको उनीहरूको भनाइ छ।
परिवारको दबाव
परिवारकै दबावका कारण कैयौँ एम्बुलेन्स चालकहरूले जागिर समेत छाडेको बताइन्छ।
प्रदेश १को मोरङ आसपास एम्बुलेन्स चलाउने चन्द्र पराजुलीले भने, ''ज्वरो आएका, रूघाखोकी लागेका तथा क्वारन्टीन तथा आइसोलेसनमा रहेका बिरामी नबोकिदिए हुन्थ्यो भन्ने परिवारको दबाव वा आग्रह हुन्छ।''
तर परिवारको आग्रह वा दबाबलाई समेत वेवास्ता गर्दै आफ्नै स्वास्थ्यलाई समेत जोखिममा राखेर सेवा दिन आफूहरू रातदिन खटिएको उनी बताउँछन्।
केही अस्पतालले कोरोनाभाइरसको सङ्क्रमणका डरले बिरामी नै भर्ना नलिँदा रातभरी बिरामी बोकेर एउटा अस्पतालदेखि अर्को अस्पतालसम्म चालकहरू भौँतारिनु परेको पराजुलीले बताए।
कैलालीका एम्बुलेन्स चालक लक्ष्मणबहादुर सिंहले कोरोनाभाइरसको बढ्दो सङ्क्रमण र दिनरात बिरामीसँग उठबस गर्नुपर्ने भएकाले ढुक्क भएर परिवारमाझ जान समेत डर लाग्ने अनुभव सुनाउँछन्।
लकडाउनले झन् कठिन
त्यसका अतिरिक्त लकडाउनका बेला लामो दूरीमा एम्बुलेन्स चलाउन निकै कठिन हुने चालक सिंहको भनाइ छ।
उनले भने, ''बन्दाबन्दीका कारण काठमाण्डू आउँदाजाँदा बाटोमा गाडी बिग्रिएमा न बनाउने ठाउँ भेटिन्छन्, न त टायर फेर्नुपरेमा किन्न नै पाइन्छ।''
बिरामीलाई एम्बुलेन्समा चढाउने, बोक्ने तथा ओह्राल्नेसम्मका काममा समेत एम्बुलेन्स चालकहरु प्रत्यक्ष संलग्न हुनुपर्ने भएकाले स्वास्थ्यकर्मीहरूलाई मात्र प्रत्यक्ष प्रभावित नभन्न उनीहरूको सुझाब छ।
'पीपीई अभाव छैन'
केही चालकहरूबाट हेलचेक्र्याँइ भएको भएपनि एम्बुलेन्स चालकहरूलाई थप भरपर्दो र व्यवसायिक बनाउन राज्यका तर्फबाटसमेत कोरोनाभाइरस अभिमुखिकरण वा तालिमको आयोजना गरिनुपर्ने भन्दै सङ्घले सरकारको ध्यानाकर्षण गराएको छ।
स्वास्थ्य मन्त्रालयले पनि पछिल्ला घट्नाहरूलाई विश्लेषण गर्दै एम्बुलेन्स चालकहरूलाई कोरोनाभाइरस सङ्क्रमण जोखिमका बारेमा अभिमुखिकरण अभाव भएको जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले एम्बुलेन्स चालकहरूले भनेजस्तो पीपीई लगायतका स्वास्थ्य सुरक्षाका सामग्रीहरूको अभाव नभएको बताए।
उनले भने, ''सबै एम्बुलेन्स चालकलाई पीपीई चाहिने होइन, कोरोनाभाइरस सङ्क्रमित बिरामी बोक्ने एम्बुलेन्स चालकहरूलाई मात्र पीपीई चाहिने हो। उनीहरूलाई हामीले माग बमोजिम उपलब्ध गराएकै छौँ।''
उपत्यकामा 'नि:शुल्क एम्बुलेन्स सेवा'
पीपीई लगायतका सुरक्षा बन्दोबस्तीका सामग्री आवश्यक भएमा मन्त्रालय वा सम्बन्धित प्रदेश निर्देशनालयमा सम्पर्क राख्नुपर्ने सहप्रवक्ता अधिकारीले बताए।
काठमाण्डू उपत्यकामा १० वटा एम्बुलेन्सहरू कोरोनाभाइरसका बिरामीहरूका लागि मात्रै भनेर चौबिसै घण्टा खटिएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी काठमाण्डू महानगरपालिकाले लकडाउनको अवधिभर हृदयघात, मृगौला लगायतका बिरामीलाई आकस्मिक सेवाका लागि नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको बताएको छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा