कोरोना भाइरस अफ्रिका: लकडाउनका बेला सडकमा यसकारण सुते यी सिंहहरू

तस्बिर स्रोत, Richard Sowry/Kruger National Park
मानिसहरू हराए भन्ने कुरा ढिलो-चाँडो जनावरहरूले थाहा पाइहाल्थे।
दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जका सिंहहरूले अहिले त्यहाँ जारी लकडाउनको फाइदा लिइरहेका छन्।
बुधवार नियमित अनुगमनका लागि निस्किएका बेला निकुञ्जका रेञ्जर रिचार्ड सोरेले सडकमा सिंहहरू ढुक्कले निदाएको देखे।
त्यो सडक अरू बेला पर्यटकहरूका कारण व्यस्त हुन्थ्यो।
तर अन्य वन्यजन्तुका संरक्षित क्षेत्रझैँ क्रुगर निकुञ्ज समेत कोरोनाभाइरस लकडाउनका कारण २५ मार्चदेखि बन्द छ।
त्यसरी सडकमै सिंह सुतेको दृश्य सामान्य अवस्थामा रेञ्जरहरूले रातको समयमा मात्र देख्ने गर्थे।
यी तस्बिरहरू कसरी खिचिए?
अफ्रिका महादेशकै सबैभन्दा ठूलो शिकार आरक्ष समेत रहेको उक्त संरक्षण क्षेत्रका रेञ्जर रिचार्ड सोरे अत्यावश्यक सेवाका लागि लकडाउनमा समेत काम गरिरहेका छन्।
वन्यजन्तुको अवस्था जाँच गरिरहने र तिनलाई गैरकानुनी सिकारीहरूबाट बचाउने जस्ता काम उनी गर्छन्।

तस्बिर स्रोत, Richard Sowry/Kruger National Park
बुधवार मध्यान्न आराम गर्न बनाइएको एउटा विन्दू नजिक गाडीमा पुग्दा उनले सिंहहरू सुतेको दुर्लभ दृश्य देखे।
जम्मा पाँच मिटरजति पछाडि फर्केर उनले त्यो अस्वभाविक अवस्थालाई अझ राम्ररी नियाले।
आफ्नो मोबाइलबाट फोटो लिँदा समेत मस्त निदाएका ती सिंहहरूले झिँजो मानेका थिएनन्।
"गाडीमा हुने मानिसहरूसँग सिंहहरू अभ्यस्त हुन्छन्," उनले भने।
"मानिसहरूको पाइलाको चाल थाहा पाउने एकखाले विशेष गुण भने सबैजसो जनावरमा हुन्छ। त्यसैले म हिँडेको भए चाहिँ उनीहरूले त्यति नजिक जान दिँदैन थिए।"

तस्बिर स्रोत, Richard Sowry/Kruger National Park
उक्त बथानमा रहेको सबैभन्दा बुढो सिंह १४ वर्षको छ जुन सिंहका लागि धेरै उमेर हो। त्यसैले गाडीहरू तिनका लागि सामान्य दृश्य भइसकेका हुन्छन्।
अरूबेला सोरेले यस्तो दृश्य जाडोका बेला रातमा देख्थे। त्यस्तो बेला सडकको कालोपत्रे पीचको तातोले उनीहरू लोभिएर आउँथे।
सिंहहरूले अहिलेजस्तै सधै शान्त हुने सोचेर कतै सडकलाई नै सुरक्षित ठाउँ नठानुन् भन्ने रेञ्जरहरूको चिन्ता छ।
निकुञ्जमा प्रभाव
सिंह मात्र नभएर जङ्गली कुकुरहरू समेत अहिले गल्फकोर्ससम्म आउन थालेका छन्।
अन्यथा जङ्गली जनावरहरूको स्वभावमा लकडाउनले ठूलो प्रभाव भने पारेको पाइएको छैन।
सोरेले लकडाउनका कारण निकुञ्ज घुम्न आउन नसक्नेहरूलाई थोरै भए पनि खुसी मिलोस् भनेर आफूले खिचेका तस्बिर अरूलाई देखाउन चाहेको बताए।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
दक्षिण अफ्रिकामा शुक्रवारसम्म भाइरसबाट दुई हजार ६ सय भन्दा धेरै सङ्क्रमित हुनुका साथै ४८ जनाले ज्यान गुमाएका छन्।
त्यहाँको लकडाउनको अवधि बुधवारबाट थप दुई हप्ताको लागि बढाइएको छ।
निकुञ्जका सञ्चार अधिकृत आइज्याक फालाका अनुसार घरभित्रै बस्नुको महत्त्व अहिले सबैले बुझेका छन्।
तर अरूबेला घाँसका झाडीमा हुने सिंहहरू भने अहिले मानिसहरू नहुँदाको अवस्थामा रमाइरहेको उनी बताउँछन्।

तस्बिर स्रोत, Richard Sowry/Kruger National Park
त्यसो भए तपाईँलाई जिज्ञासा लाग्न सक्छ- के सिंहलाई कमलो घाँसभन्दा पक्की सडक मन पर्छ?
सम्भवत: एउटा कारण फोटो खिचिएको अघिल्लो दिन अर्थात् मङ्गलवार राति पानी पर्नु थियो।
फाला भन्छन्: "त्यसबेला सडक घाँस भएको ठाउँमा भन्दा बढी सुख्खा थियो। सिंह चिसो ठाउँमा बस्न मन पराउँदैन।"




















