कोरोना भाइरस: क्वारन्टीनमा संयमित कसरी बस्ने, 'घरमै नजरबन्द'मा बसेका मानिसहरूको सुझाव

तस्बिर स्रोत, Getty Images
- Author, निना नजारोभा र अनास्टासिया गोलुबयभा
- Role, बीबीसी न्यूज रुस
- Published
क्वारन्टीनले तपाईँलाई एकदमै हतोत्साही बनाइरहेको छ? रुसमा हालैका वर्षमा राजनीतिक वा अन्य अभियोगहरूमा हिरासतमा लिइएका दशौं हजार मानिसहरूलाई घरमै नजरबन्दमा राखिँदै आएको छ।
आधिकारिक तथ्याङ्कमै सन् २०१३ देखि सन् २०१८ सम्म ६० हजारभन्दा बढी मानिसहरू नजरबन्दमा राखिएको देखिन्छ।
त्यसरी नजरबन्दमा बसेका छजना रुसीहरूले आफ्नो एकान्तवासको अनुभव बीबीसी रसियासँग साट्दै एकान्तवासलाई व्यवस्थित बनाउन विभिन्न सुझाव दिएका छन्।
आफूलाई नियाल्ने समय
रुसका नाट्य निर्देशक किरिल सेरेब्रेन्निकोभ मस्कोस्थित आफ्नै घरमा डेढ वर्ष नजरबन्दमा थिए।
घरभित्रै रहँदा कसरी संयमित भएर बस्ने भन्ने विषयमा उनले एउटा भिडिओ बनाएका छन्।
"फोन, इन्स्टाग्राम र फेसबुकले सामान्य अवस्थामा तपाईँलाई बिथोल्छ तर एकान्तवासले भने तपाईँलाई एउटा खुकुलो समय दिनसक्छ।"
"यी सबै गञ्जागोलबाट छुटकारा पाउन तपाईँका लागि यो ठूलो अवसर हो," किरिलले भने।
"तपाईँ को हो र जीवनबाट के चाहनुहुन्छ भन्नेजस्ता अर्थ राख्ने प्रश्नहरूमा तपाईँले आफूलाई एकाग्र गराउन सक्नुहुन्छ।"

तस्बिर स्रोत, Getty Images
व्यायाम र समयतालिका
गतवर्ष मस्कोमा भएको विरोध प्रदर्शनमा भाग लिएको अभियोगमा सेर्गेइ फोमिनले सुनुवाइ पूर्व एक महिना र पछि तीन महिना गरेर चार महिना घरमै एकान्तवासमा बिताए।
नजरबन्दमा बस्दा आफूले थुप्रै योजनाहरू बनाएको अनुभव उनले सुनाए।
"त्यतिबेला म विभिन्न किसिमका व्यायाम गर्थेँ र पढ्नका लागि समयतालिका बनाएको थिएँ," उनले भने।
तर एक महिनापछि सुनुवाई सुरु भएपछि सेर्गेइको दैनिकी फेरियो।
"मेरो दैनिकी बिग्रियो। म बिहान १० बजेमात्रै उठ्थेँ र दिउँसो तीन बजेसम्म खाटमै पल्टिरहन्थेँ, बाथरुममा तीन घण्टा बिताउँथे र त्यसपछि फेरि खाटमै पल्टिन्थेँ।"
युलियाको पनि सङ्घर्ष त्यस्तै थियो। "म प्यूपा बन्न चाहन्थेँ, सिरकभित्र लुक्न चाहन्थेँ अनि यो संसार र यथार्थबाट टाढा रहन चाहन्थेँ," उनले भनिन्।

तस्बिर स्रोत, Getty Images
पुस्तक, सङ्गीत र टीभी
गणितशास्त्री दिमित्री बोगाटोभले सन् २०१८ मा छ महिनाभन्दा बढी समय नजरबन्दमै बिताए।
उनले भने, "कुनै पनि किसिमको समयतालिकामा बस्न निकै कठिन हुन्छ किनभने हामीलाई केही कुराले दिशानिर्देश गरिरहेको हुन्छ। जस्तै कि पसल बन्द हुन्छ भनेर हामी समयमै अफिसको काम गर्छौं। तर ती सबै अर्थहीन बने।"
युक्रेनी साहित्यको पुस्तकालयकी पूर्वनिर्देशक नताल्या शरिनालाई सन् २०१५ मा पक्राउ गरिएको थियो र उनलाई १८ महिनाभन्दा बढी समय नजरबन्दमा राखिएको थियो।
प्रहरी दङ्गा, सोधपुछ, कालकोठरीको सजाय र सुनुवाईभन्दा घरको नजरबन्द स्वर्गैजस्तो थियो। तर त्यो धेरै लामो भएन।
"तपाईँलाई लाग्छ कि तपाईँ पुस्तक पढ्न सक्नुहुन्छ र सङ्गीत सुन्न सक्नुहुन्छ तर होइन। आफू गलत नभएको थाहा पाउँदापाउँदै आफूमाथि भएको अन्यायले मलाई क्रुद्ध बनाउँछ र सताउँछ: तपाईँ एउटा किताब लिएर बस्नूस् तर एकाग्र हुनसक्नु हुन्न। टीभी खोले पनि त्यसले मद्दत गर्दैन।"
स्वतन्त्रताको अनपेक्षित क्षणहरू
थुप्रै महिना घरमै थुनिएपछि नताल्यालाई चिकित्सक भेट्न जान अनुमती दिइयो। उनी प्रहरी भ्यानमा क्लिनिक जान्थिन्।
यसरी क्लिनिक आउनेजाने गर्दा त्यसले उनको मुड परिवर्तन गर्न मद्दत गर्यो।
"म क्लिनिकमात्रै जान्थेँ तर अन्य मानिसले पनि जीवनमा थुप्रै कुरा भोगिरहनुपरेको देख्दा त्यसले मलाई सान्त्वना दिन्थ्यो," उनले भनिन्।
"जब उनीहरूले मलाई पाँच सय मिटर हिँड्न दिन्थे" युलियाले सम्झिइन्।
"त्यसले एकदमै भावुक बनाउँथ्यो। त्यो एउटा सानोतिनो स्वतन्त्रता नै जस्तो लाग्थ्यो। तर त्यो समयले बाँकी समय म कति व्यस्त थिएँ भन्ने कुरा पनि महसुस गराउँथ्यो।"
सेर्गेइलाई हिँड्न रोक लगाइएको थियो तर उनले दुईपटक नियम तोडे।

तस्बिर स्रोत, Getty Images
"रातको बेला म टाउको छोप्ने टोपी भएको हुड लगाएर तलको पसलमा बियर किन्न दौडिन्थेँ। जब म पाइला बाहिर निकाल्थेँ, मलाई जेलबाट कैदी छुट्दा जस्तो स्वतन्त्रता महसुस हुन्थ्यो।"


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ

प्रियजनसँग कुरा
घरमै नजरबन्दमा रहँदा अदालतले आफ्ना एकदमै नजिकका आफन्तसँगमात्रै सम्पर्कमा रहन अनुमती दिन्छ।
नताल्याका श्रीमान् र छोरीले उनको एकान्तवासको समय नियाले।
त्यसपछि उनलाई फोनमा कुराकानी गर्न र हिँड्न दिइयो।

तस्बिर स्रोत, Getty Images
"घरपालुवा जनावरले पनि नजरबन्दमा रहँदाको समय सहज बनाइदिन्छन्," उनले भनिन्।
प्रविधि विज्ञ तथा विपक्षी नेता एलेक्सान्डर लित्रिएभले हिंसा नगर्ने प्रदर्शनकारीलाई पिट्ने प्रहरीको पहिचान खुलाउने डिएनोनाइमाइस नामक अनलाइन परियोजना बनाए।
उनको नजरबन्द भर्खरै सुरु भएको छ। उनकी साथी दार्या उनलाई भेट्न प्रत्येक दिन आउँथिन्।
"उनी मेरा लागि खानेकुराहरू लिएर आउँथिन् र मलाई खुसी बनाउँथिन्।"
दिमागलाई व्यस्त राख्न मोटा किताब
सबैजसोले किताब पढ्न सुझाएका छन्। किरिल वार एण्ड पिस, डन किहोटी र द काइण्डली वान्स पुस्तकहरू पढ्न सुझाउँछन्।
उनी आफ्ना संस्मरण लेख्न वा भाषा सिक्न पनि सुझाउँछन्।
एलेक्सान्डर लित्रिएभ कविता लेख्छन् र आफ्नो नयाँ प्रोजेक्टका लागि व्यापार योजना बनाउँदै छन्।
"मलाई त्यो अवस्थामा चक्कीले बोर्डमा खेल्ने खेलले समय कटाउन मद्दत गर्यो," सेर्गेइ भन्छन्।

तस्बिर स्रोत, Getty Images
"उक्त खेल कसरी खेल्न र त्यसमा कसरी जित्न सकिन्छ भन्ने पुस्तक मलाई बुवाले ल्याइदिनुभयो। उक्त खेलका लागि म दिनमा पाँच घण्टा समय बिताउथेँ।"
युलिया राजनीतिक कैदीबारे सोच्न भन्छिन्। "अनिश्चित समयका लागि थुनिँदा कस्तो हुन्छ भन्ने मलाई थाहा छ। क्वारन्टीन त त्यस्तो कहालीलाग्दो होइन।"

तस्बिर स्रोत, Getty Images
एलेक्सान्डरका वकिल एलेक्सी बुशमाकोभका अनुसार एकान्तवासमा बसेका बेला सबैभन्दा महत्त्वपूर्ण कुरा के सम्झनु पर्छ भने यो परिस्थितिमा तपाईँमात्रै एक्लै हुनुहुन्न र ढिलाचाँडो यो अवस्था सकिन्छ र तपाईँ स्वतन्त्र हुनुहुनेछ।





















