कोरोनाभाइरस: महामारीको त्रासले चैती छठ प्रभावित, छतबाटै सूर्यलाई अर्घ्य दिने तयारी

    • Author, माधुरी महतो
    • Role, बीबीसी न्यूज नेपाली
  • Published

अहिले तराईका जिल्लामा चैती छठ पर्व मनाइँदैछ। अघिल्लो दिनदेखि व्रत बसेका श्रद्धालुहरूले सोमवार अपराह्ण अस्ताउँदो सूर्य र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो धार्मिक र सांस्कृतिक महत्त्वको पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ।

तर शनिवारदेखि आरम्भ भएको भए पनि यसपालिको चैती छठ पहिलाको भन्दा भिन्न छ।

कोरोनाभाइरस प्रकोप रोकथाम तथा नियन्त्रण गर्न सरकारले देशभरि आवागमन र अत्यावश्यकबाहेक अन्य गतिविधि गर्न रोक लगाएकाले त्यसको असर यो पर्वमा पनि परेको छ।

वर्षमा दुईचोटि मनाइने छठ पर्वमा नदी र पोखरीजस्ता जलाशयमा भेला भएर व्रतालु तथा अन्य भक्तजनले छठीमाताको पूजा गर्ने गर्थे। तर यसपालि त्यसो गर्न सम्भव नभएकाले आफूहरूले अलि फरक ढङ्गले पूजा गर्न लागेको उनीहरू बताउँछन्।

घरमै पूजा

कोरोनाभाइरसबाट जोगिन देश नै 'लकडाउन' भएपछि घाटमा नगई आफ्नो घरको छत वा बारीबाट नै सूर्यलाई अर्घ्य दिन महिलाहरू लागेका छन्।

"छठीमातालाई, सूर्यदेवलाई अर्घ्य त जसरी पनि दिनुपर्छ। अब घाटमा जान नपाइने भन्दै हरेक दिन प्रहरीले माइकिङ गरिरहेको छ," वीरगन्जकी सुगान्धी देवीले भनिन्।

उनका अनुसार उनले घरको छतमा छठीमाताको प्रतिमूर्ति स्थापित गरेकी छन्।

"बजार पनि सुनसान भएको कारण पूजाका लागि आवश्यक प्रसाद पाउन कठिन भयो। अभावमै पूजा गर्नुपर्ने बाध्यता छ," उनले भनिन्।

बयसट्ठी वर्षीया किस्मतिया देवी आफूले जीवनमा पहिलो पटक घरमा छठ मनाउन लागेको बताउँछिन्।

आमा-हजुरआमाको पालादेखि घाटमा गएर छठ मनाउने गरेको सम्झिँदै उनले भनिन् "यस्तो त आजसम्म गरिएको थिएन।"

"छठीमाताप्रति आस्था छ, त्यो पूरा गर्नैपर्छ। तर रौनक छैन।"

परिमार्जन

तराईमा छठ पर्व विशेष रूपमा मनाइन्छ। कात्तिक शुक्ल षष्ठीका दिन मनाइने ठूलो छठ हो भने चैत्र शुक्ल षष्ठीका दिन 'चैती छठ' हो।

जलाशय भएकै स्थानबाट सूर्यलाई अर्घ्य दिएपछि मात्रै छठको पूजा विधिवत् रूपमा सम्पन्न हुने परम्परा रहँदै भएपनि अहिले विशेष परिस्थिति भएकाले त्यसमा केही परिमार्जन गर्नुपर्ने बाध्यता देखिएको संस्कृतिविद् उमाशङ्कर द्विवेदीको धारणा छ।

"लकडाउन भएकोले आफ्नै घरमा सानो पोखरी खनेर वा नसक्नेहरूले छतमा कुनै भाँडोमा पानी राखेर त्यसको वरिपरि प्रसाद राखी अर्घ्य दिएर छठीमाताको पूजापाठ गर्नुहुन्छ," उनले भने।

विभिन्न स्थानका पर्व व्यवस्थापन समितिले यसपालि छठको सामूहिक पूजा नहुने भनेर विज्ञप्ति प्रकाशित गरेका छन्।