कोरोनाभाइरस: यस्तो छ तिब्बतको ताक्लाकोटमा रहेका नेपालीको अवस्था

ताक्लाकोट

तस्बिर स्रोत, Lamu Lama

तस्बिरको क्याप्शन, ताक्लाकोटमा रहेका वृद्ध उमेरका नेपालीलाई तिब्बती अधिकारीहरूले राहत वितरण गरेका छन्
    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published

व्यापार तथा मजदुरीका लागि चीनको तिब्बतस्थित ताक्लाकोटमा रहेका नेपालीहरूले कोरोनाभाइरसको त्रासका कारण "तत्कालै नेपाल फर्कन चाहेको" र त्यसका लागि "सरकारको निर्णय कुरिरहेको" बताएका छन्।

ताक्लाकोटबाट बीबीसीसँग टेलिफोनमा कुरकानी गर्दै त्यहाँ रहेका नेपालीहरूले कोरोनाभाइरस फैलिएका चीनका मुख्य सहरहरूबाट त्यस क्षेत्रमा चिनियाँहरू भित्रिन थालेकाले आफूहरू त्रसित बनेको बताए।

रोजगारी र व्यवसायका लागि त्यहाँ करिब डेढ सय जति नेपालीहरू रहेका छन्।

त्यसमध्ये केही दिनअघि २३ जना नेपालीहरूले जिल्ला प्रशासन कार्यालय हुम्लालाई पत्र लेख्दै स्वदेश फर्किन चाहेको बताएका थिए।

त्यसपछि अन्य १० जनाले पनि "तत्कालै स्वदेश फर्किन चाहेको" बताएको ताक्लाकोटमा व्यवसाय गर्दै आएकी कैलाश ट्रेड सोसाइटीकी उपाध्यक्ष समेत रहेकी लामु लामाले बताइन्।

बालबालिका भएका महिला त्रासमा

उनले भनिन्, "यहाँ नेपालीहरूलाई केही समस्या छैन। यहाँको प्रहरी प्रशासनले नेपालीहरूलाई प्राथमिकतामा राखेर सबै सुविधा पुर्‍याएको छ। तर यहाँ चीनको मुख्य क्षेत्रबाट मानिसहरू आएका छन् भन्ने कुराहरू आएकाले विशेषगरी बालबालिका भएका महिलाहरू अलि डराएका छन्। उनीहरूले नेपाल फर्कनि पहल गरिदिनु पर्‍यो भनिरहेका छन्।"

चीनमा कोरोनाभाइरस फैलिएपछि दुवै देशका अधिकारीहरूको सहमतिमा ताक्लाकोट र हुम्ला जिल्ला जोड्ने हिल्सा नाका अहिले बन्द गरिएको छ।

ताक्लाकोट

तस्बिर स्रोत, Lamu Lama

तस्बिरको क्याप्शन, कैलाश ट्रेड सोसाइटीले जिल्ला प्रशासन कार्यालय हुम्लालाई लेखेको पत्र

उक्त नाकामा हिउँका कारण पनि आवतजावत गर्न सक्ने अवस्था नरहेको नेपाली अधिकारीहरू र ताक्लाकोटस्थित नेपाली व्यवसायीहरूले बताएका छन्।

तर केही नेपालीहरूले स्वदेश फर्किन चाहेपछि आवश्यक प्रबन्ध गरिदिन आग्रह गर्दै आफूहरूले पत्र लेखेको लामाले जानकारी दिइन्।

उनले भनिन्, "हामीले पत्र लेखेर जिल्ला प्रशासन कार्यालयलाई फेसबुकमार्फत् पठाएका हौँ। प्रदेश र केन्द्र सरकारका मानिसहरूलाई पनि हामीले फोन गरेर जानकारी गराएका छौँ।"

सरकारसँग गुनासो

नेपाल फर्किन चाहेकाहरूले सरकारले आफूहरूलाई स्वदेश फर्किने व्यवस्था मिलाउन सहयोग नगरेको गुनासो गरेका छन्।

त्यस्तैमध्येकी एक हुम्लाको नाम्खा गाउँपालिकाकी प्रमिला लामाले भनिन्, "हामीलाई अरू समस्या भएर हामी नेपाल आउन खोजेको होइन। चीनमा रोग भेटिएको ठाउँबाट मान्छेहरू आउन थाले। मेरो पनि सानो बच्चा छ। त्यसैले धेरै डर लागिरहेकाले हामी आउन चाहेका हौँ। तर सरकारले चासो नै राखिदिएन।"

ताक्लाकोट

तस्बिर स्रोत, Lamu Lama

तस्बिरको क्याप्शन, ताक्लाकोट बजार

उनले सरकारले के निर्णय गर्ने भनेर ताक्लाकोटका नेपालीहरूले कुरीरहेको बताइन्।

लामाले भनिन्, "हामी सरकारको निर्णय कुरेर बसिरहेका छौँ। नाका बन्द छ। त्यहाँ हिउँ पनि भएकाले हामीले बच्चा बोकेर जान सक्ने अवस्था छैन। केटाहरू हिँडेर जाने भन्छन्। तर हामीलाई सरकारले हेरिदेओस् भन्ने छ।"

हुम्लाको नाम्खाकै थुक्तेन लामाले पनि सरकारको निर्णय कुरेर बसेको बताए। उनले सरकारलाई चाँडै ताक्लाकोटका नेपालीको आवाज सुनिदिन आग्रह गरे।

नेपालीको सङ्ख्या

कैलाश ट्रेड सोसाइटीकी उपाध्यक्ष लामुका अनुसार हाल ताक्लाकोटमा १ सय ४८ जना नेपाली रहेका छन्।

त्यसमध्ये अधिकांश हुम्ला जिल्लाका छन्। एकजना दार्चुला र एकजना बझाङका पनि रहेको उनले जानकारी दिइन्।

त्यसमध्ये १०/१२ जना बालबालिका छन् भने केही वृद्धवृद्धा पनि रहेका छन्।

ताक्लाकोट

तस्बिर स्रोत, Lamu Lama

तस्बिरको क्याप्शन, ताक्लाकोटमा रहेका वृद्ध उमेरका नेपालीलाई तिब्बती अधिकारीहरूले राहत वितरण गरेका छन्

एकजना गर्भवती महिला पनि रहेको उनले बताइन्।

उनीहरू गत वर्ष चैतदेखि गत असारसम्म रोजगारी र व्यवसायका लागि त्यहाँ गएका हुन्।

"यहाँ २० जनाको पसल र १० जनाको होटल तथा रेष्टुरेन्ट छ। अरू सबै रोजगारीका लागि आएका हुन्," उनले भनिन्।

नियमित परीक्षण र राहत

लामुका अनुसार हाल त्यहाँ रहेका नेपालीहरूलाई तिब्बती अधिकारीहरूले नियमित स्वास्थ्य परीक्षण गरिरहेका छन्।

उनका अनुसार हरेक दिन अधिकारीहरूले नेपालीहरूको ज्वरो नाप्ने तथा उनीहरूलाई मास्क वितरण गर्ने गर्छन्।

"यहाँको प्रहरी प्रशासनले नेपालीलाई पहिलो प्राथमिकतामा राखेको छ भनेको छ। एक सातादेखि उनीहरूले समूहमा बसेका छन् कि छैनन् भनेर हेरिरहेका छन्। हरेक दिन आएर हाजिर गर्छन्। ज्वरो नाप्छन्। अनुगमन गरिरहेका छन्" उनले भनिन्।

उनका अनुसार वृद्धवृद्धा र काम गर्न नसक्ने भएका नेपालीहरूलाई तिब्बती अधिकारीहरूले राहत वितरण पनि गरेका छन्।

लामुले भनिन्, "यहाँ नेपाली वृद्ध आमाहरू पनि छन्। त्यस्तै अशक्त ९ जनालाई यहाँको प्रशासनले चामल र पिठो पनि दिएर सहयोग गरेको छ। उनीहरू प्रत्येकलाई अहिले २५ केजी मैदा र २५ केजी चामल गरेर दुई/दुई बोरा दिइएको छ।"

दुई पुरुष र सात महिलालाई यस्तो राहत दिइएको उनले बताइन्।

मजदुरलाई मार

विशेषगरी नाका बन्द हुँदा र कोरोनाभाइरसको त्रासका कारण त्यस क्षेत्रका व्यापार व्यवसाय पनि बन्द हुँदा मजदुरलाई मार परेको ताक्लाकोटस्थित नेपालीहरूले बताए।

उनीहरूका अनुसार कतिपय मजदुरहरूले पहिले कमाएको पैसा नेपालतर्फ पठाइसकेको र अहिले काम गर्ने अवस्था नभएकाले समस्या परेको हो।

"कतिपयले पहिले कमाएको घरमा पठाइसक्यौँ अब काम पनि छैन घर जान्छौँ भन्ने मजदुरहरू छन्," लामुले भनिन्।

हुम्ला

तस्बिर स्रोत, http://namkhamun.gov.np/

तस्बिरको क्याप्शन, नेपाल फर्कन चाहनेमा कतिपय हुम्लाको नाम्खा गाउँपालिकाका रहेका छन्

त्यहाँ रहेका अधिकांश नेपालीहरूले डेरा लिएर बसेकाले विशेषगरी मजदुरलाई समस्या पर्नसक्ने देखिएको उनले बताइन्।

हुम्ला क्षेत्र नम्बर-१ का सांसद् छक्कबहादुर लामाले पनि ताक्लाकोटमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन पहल गर्न सरकारलाई आग्रह गरेका छन्।

उनले भने, "मैले गृह र स्वास्थ्य मन्त्रीलाई भेटेरै कुरा गरेको छु। उहाँहरूले नीति बनाउँला र हेरौँला भन्नु भएको छ। म आज (बुधवार) फेरि उहाँहरूलाई भेटेर कुरा राख्छु।"

उनका अनुसार हुम्लाका मानिसहरू वर्षामा तिब्बततर्फ काम गर्न जाने र हिउँद लागेपछि स्वदेश फर्कने गरेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस: पूर्वराजारानीको परीक्षण

तर यसपालि भने चाँडै हिउँ परेकाले धेरै मानिसहरू उतै रोकिएको सांसद लामाले बताए।

त्यस्तै यसपालि हिउँदमा पनि ताक्लाकोटमा काम पाइएकाले कतिपय नेपालीहरू आम्दानीको लोभले उतै बस्दा सङ्ख्या धेरै भएको उनले जानकारी दिए।

अधिकारीहरू के भन्छन्?

हुम्लाकी प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले ताक्लाकोटबाट २३ जना नेपालीले स्वदेश फर्कनका लागि पहल गरिदिन पत्र लेखेको पुष्टि गरिन्।

उनले त्यसबारे गृह मन्त्रालयलाई पनि जानकारी गराइसकेको र ल्हासास्थित नेपाली महावाणिज्य दूतावाससँग पनि सम्पर्क गरिएको बताइन्।

तर सकेसम्म नेपालीहरूलाई ताक्लाकोटमै सुरक्षित राख्न पहल गरिएको उनको भनाइ छ।

हुम्ला

तस्बिर स्रोत, http://daohumla.moha.gov.np/

तस्बिरको क्याप्शन, ताक्लाकोटमा रहेकामध्ये अधिकांश हुम्ला जिल्लाका छन्

"त्यहाँ चीन सरकारले नियमित ज्वरो नाप्ने काम गरिरहेको छ। काम गर्न नसक्नेलाई खाद्यान्न पनि दिएको छ। हामी सकेसम्म उहाँहरूलाई त्यहीँ व्यवस्थित होस् भन्ने कोसिसमा छौँ," उनले भनिन्।

भट्टराईले केन्द्र सरकारको नीति सकेसम्म विदेशमा भएका सबैलाई नेपाल ल्याउने नीति नभएकाले चीन सरकारलाई नेपालीलाई प्राथमिकता दिन पहल गरिएको बताइन्।

ल्हासास्थित महावाणिज्य दूतावासका वाणिज्य दूत जिम्सन रुम्दाली राईले पनि ताक्लाकोटमा रहेका नेपालीको सुरक्षाका लागि कूटनीतिक हिसाबले पहल गरिएको बताए।

उनले भने, "हामीले यहाँको परराष्ट्र कार्यालय र अन्य सम्बन्धित निकायसँगको समन्वयमा हामीले त्यहाँका नेपालीको सुरक्षा कसरी गर्न सकिन्छ भन्ने हिसाबले काम गरिरहेका छौँ। उहाँहरूलाई कुनै समस्या हुँदैन। त्यस्तो केही परिहाले पनि हामी सहयोग गर्ने गरी बसेका छौँ।"

उनले हुम्ला जिल्ला प्रशासन कार्यालय र महावाणिज्य दूतावासले समन्वयमा काम गरिरहेको जानकारी दिए।

coronavirus nepali banner